-सञ्जय उपाध्याय
संयुक्त राज्य अमेरिका, १९ कार्तिक । यसपालिको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा पनि नेपालीहरूको चासो र चिन्ताको विषयका रूपमा रहने आप्रवासन एक प्रमुख मुद्दा बनेको छ।
डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प मुख्य प्रतिस्पर्धी देखिएको निर्वाचनमा दुवै पक्षले आप्रवासनबारे फरक(फरक प्रस्तावहरू अघि सारेका छन्।
मत सर्वेक्षणहरूमा अमेरिकी मतदाताहरूको चिन्ताका प्रमुख तीन विषयहरूमा अर्थतन्त्र र स्वास्थ्य सेवासँगै अध्यागमन पनि एक देखिएको छ।
रिपब्लिकनहरूले अमेरिकी सीमा नियन्त्रणमा डेमोक्र्याटहरूलाई अयोग्य भनी चित्रण गर्न खोजिरहेका छन्। वर्तमान राष्ट्रपछि जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिस प्रशासनका उदारवादी नीतिहरूले ूसङ्कटू नै उत्पन्न गरेको दोष रिपब्लिकनहरूले लगाउने गरेका छन्।
आप्रवासीबारे चुनावी नारा के छन् ?
रिपब्लिकनहरू सत्तामा आउँदा अत्यधिक कठोर नियमहरू लागू गर्ने तर्क डेमोक्र्याटहरूको छ। यस्तो कार्य अमेरिकी मूल्यमान्यताहरू विरुद्ध हुने तर्क एकातिर डेम्रोक्रयाटहरूको छ।
रिपब्लिकन उम्मेदवार पूर्व राष्ट्रपति ट्रम्पले चुनावमा अघि सारेका मुद्दाहरूमा संयुक्त राज्य अमेरिकामा बस्ने झन्डै १ करोड ५० लाख गैर कानुनी आप्रवासीहरूको सामूहिक निर्वासन पनि एक हो।
उहाँ जन्मसिद्ध नागरिकताको अन्त्य गर्न पनि चाहनुहुन्छ। तर यो प्रस्तावित परिवर्तनले कानुनी चुनौतीहरूको सामना गर्न सक्छ, किनकि यो अमेरिकी संविधानको १४ औँ संशोधनसँग बाझिन सक्छ।
डेमोक्र्याटिक उम्मेदवार उपराष्ट्रपति ह्यारिसले अध्यागमन प्रतिबन्ध बढाउने र कानुनी अध्यागमन मार्गका लागि स्रोतहरू निर्माण गर्ने अमेरिकी संसद्मा द्विपक्षीय सीमा विधेयकका लागि दबाब जारी राख्ने बताउँदै आउनुभएको छ।
केही पर्यवेक्षकहरू विश्वास गर्छन् कि एक पटक चुनावी नारा सेलाइसकेपछि, दुवै पक्षहरू सामान्य स्वरूपमा फर्किन खोज्नेछन्। त्यसपछि सदाझैँ आप्रवासन मुद्दा टुक्रा-टुक्रामा सम्बोधन गर्न उनीहरूलाई सजिलो पर्नेछ।
तर अन्य विश्लेषकहरूले कानुनी अध्यागमनलाई लिएर आम जनताको विरोधको कुराप्रति ध्यान दिन सुझाएका छन्, जुन केही मत सर्वेक्षणहरूमा झल्किएको पनि छ।
यति धेरै राजनीतिक नारा सुनेपछि, धेरै अमेरिकीहरू अवैध आप्रवासन, शरणार्थी समस्या र आप्रवासी समस्यालाई सामान्य रूपमा सार्वजनिक समस्याको रूपमा लिन्छन्। तिनीहरूमा सामान्यतया आप्रवासीहरूप्रति सहानुभूति हुन सक्छ तर सार्वजनिक सुरक्षा, व्यवस्था र कानुनको शासनको बारेमा पनि उत्तिकै चिन्ता हुन्छ।
यस्तो वातावरणमा केही विश्लेषकहरू जसले जिते पनि ह्वाइट हाउस र क्यापिटल हिलबाट थप कडा आप्रवासी अडान आउन सक्ने विश्वास गर्छन्।
आप्रवासीले अर्थतन्त्रमा दिएको टेवा
चुनावी नाराको रूपमा अघि सारिएको आप्रवासन सम्बन्धी नीतिबारे बहस गहिरिँदै गएको छ। रिपब्लिकनहरू सामूहिक अवैध आप्रवासले औसत अमेरिकीको आर्थिक कल्याणलाई हानि पुर्याउने ठान्छन्। तर गैर कानुनी आप्रवासीहरूको सामूहिक निर्वासनले अमेरिकी अर्थतन्त्रमा ठूलो धक्का पुर्याउने धेरै विश्लेषकहरूको कथन छ।
उदाहरणका लागि नेपालीहरूको बाक्लो बसोबास रहेको टेक्सस राज्यमा अनधिकृत कामदारहरू महत्त्वपूर्ण क्षेत्रहरूका मेरुदण्ड हुन्। एक सर्वेक्षणका अनुसार त्यहाँ निर्माण उद्योगमा ५० प्रतिशतसम्म कामदार कागजातविहीन वा बसोबास वा कामका लागि कानुनी अधिकार नपाएकाहरू छन्।
ती विश्लेषकका विचारमा कम लागतमा काम गर्ने जनशक्तिमा भर परेको देशमा प्रवासी कामदारहरू अभाव हुँदा उत्पादकत्वमा कमी आउनसक्छ र मुद्रास्फीतिको दबावको नयाँ चरण निम्त्याउँछ।
एक अर्को अध्ययनले अनुमान गरेको छ कि कागजात नभएका कामदारहरूले सङ्घीय, राज्य र स्थानीय करहरूमा ९७ अर्ब अमेरिकी डलर योगदान गर्छन्। उनीहरूलाई हटाउँदा स्थानीय अर्थतन्त्रहरूमा ठूलो प्रभाव पार्छ र लगभग एक करोड अमेरिकी नागरिकहरूलाई आर्थिक कठिनाइमा धकेल्छ।
कुन पार्टीको नीति के छ ?
ट्रम्पको नेतृत्वमा कानुनी आप्रवासनमा पनि असर पर्ने आशङ्का गरिएको छ। उनले वार्षिक अध्यागमन कोटा घटाउन सक्छन् र कानुनी अधिकार पाएर बसोबास गर्ने वा संयुक्त राज्य अमेरिकाको नागरिक बन्न अझै गाह्रो बनाउने नीतिहरू लागू गर्न सक्छन्।
कानुनी आप्रवासीहरूमा रहेको चिन्ता चाहिँ सामान्यतया आप्रवासीविरुद्ध नारा एवं नीतिगत परिवर्तनले उनीहरूलाई विभिन्न प्रकारका राज्य सुविधाहरू प्राप्त गर्न अझ गाह्रो बनाउने हो कि भन्ने देखिन्छ। आप्रवासीविरुद्धका नाराले सामाजिक सद्भावमा खलल पुर्याउँदै हिंसात्मक रूप धारण गर्न सक्ने सम्भावना पनि रहेको भनाइ उनीहरूबीच यदाकदा सुनिन्छ।
ह्यारिस कानुनी बाटोबाट नागरिकता प्राप्त गर्ने मार्गलाई समर्थन गर्छिन् र कडा सीमा नीति चाहन्छिन् जसले शरण लिने प्रक्रियामा परिवर्तन आउँछ र राष्ट्रपतिलाई सीमा बन्द गर्न थप अधिकार दिन्छ। ह्यारिसलाई राष्ट्रपति जो बाइडनले दक्षिणी सीमा सङ्कटको मूल कारणहरू सम्बोधन गर्ने जिम्मेवारी दिएका थिए। उत्तरतर्फको प्रवाहलाई रोक्ने उद्देश्यले क्षेत्रीय लगानी गर्न अरबौँ डलर निजी पैसा जुटाउन ह्यारिसले मद्दत गरेकी थिइन्।
सन् २०२३ को अन्त्यमा मेक्सिकोबाट गैर कानुनी रूपमा प्रवेश गर्ने व्यक्तिहरूको सङ्ख्याले नयाँ रेकर्ड कायम गरेको थियो तर त्यो सङ्ख्या अहिले आएर चार वर्षको न्यूनमा झरेको छ।
यस चुनावी अभियानमा ह्यारिसले आफ्नो अडानलाई कडा पारिन् र क्यालिफोर्निआमा मानव तस्करहरूविरूद्ध अभियोजकको रूपमा आफ्नो अनुभवलाई जोड दिएकी छन्। समग्रमा उनको अध्यागमन नीतिले स्थितिलाई थप मानवीय र न्यायोचित बनाउनेछ भन्ने दाबी ह्यारिसको छ।
विश्वव्यापी प्रवृत्ति
राष्ट्रपतिको दौड अन्तिम चरणमा पुग्दा, उदार र परम्परावादी दुवै दलहरू आप्रवासनमा विश्वव्यापी प्रवृत्तिलाई प्रतिबिम्बित गर्दै दायाँतिर सर्दै छन् भन्ने टिप्पणी केही विज्ञहरूले गरेका छन्।
चुनावको नतिजाले अध्यागमन नीतिको तत्काल भविष्य मात्र निर्धारण गर्दैन बरु समावेशीकरण र सुरक्षाको सन्दर्भमा व्यापक सामाजिक मूल्यहरू पनि प्रतिबिम्बित गर्दछ।
चाहे ट्रम्पको कट्टरपन्थी उपायहरूबाट होस् वा ह्यारिसको सुधारात्मक दृष्टिकोणबाट, अबको प्रशासनले बढ्दो ध्रुवीकृत राजनीतिक परिदृश्यमा यी जटिल गतिशीलताहरूलाई सन्तुलन गर्ने चुनौतीको सामना गर्नेछ।
(परराष्ट्र मामिलामा दक्खल राख्ने उपाध्याय अमेरिकामा बस्नुहुन्छ। ‘द राज लिभ्सः इन्डिया इन नेपाल’ र ‘नेपाल एन्ड द जिओस्ट्राटिजिक राइभलरी बिट्विन चाइना एन्ड इन्डिया’ सहित उनका कैयौँ पुस्तकहरू प्रकाशित छन्।)