Prakash Adhikari February 9, 2025

निरञ्जन राजवंशी/बीबीसी

काठमाडौं, २७ माघ । पूजा महतोलाई नियालेर हेर्नुपर्छ, उनको बोली र ‘बडी ल्याङ्ग्विज’मा एउटा बेग्लै आत्मविश्वास झल्केको देख्न सकिन्छ, मैदानभित्र पनि र मैदानबाहिर पनि।

एक वर्षअगाडिसम्म पूजा नेपाली महिला क्रिकेटको कुनै पनि परिदृश्यमा थिइनन्।

एक वर्षको बीचमा उनी महिला राष्ट्रिय टोलीको मुख्य खेलाडी बनिन्, १९ वर्षमुनिको राष्ट्रिय टोलीको नेतृत्व गरिन् र टोलीलाई युवा विश्वकपको ठूलो मञ्चमा उभ्याइन्।

अहिले उनी नेपालको मात्र होइन विश्व महिला क्रिकेटकै एक खेलाडी बनिसकेकी छन्।

उनको प्रतिभाले यति छिटो विश्व महिला क्रिकेटलाई प्रभाव पार्‍यो कि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले भर्खरै सम्पन्न युवा विश्वकपको ‘ड्रीम टीम’ मा पूजालाई समावेश गर्‍यो।

त्यसबाहेक पनि केही गज्जबको कीर्तिमान उनको नाममा लेखिसकिएको छ। शुक्रवार काठमाण्डूमा सकिएको नेपाल, नेदरल्यान्ड्स र थाईल्यान्डका सिनिअर महिला टोलीको त्रिदेशीय टी२०आई लीगमा नेपालले एउटै खेल नजित्दा पनि पूजाले प्रतियोगिताको उत्कृष्ट नेपाली खेलाडीको उपाधि जित्नु त्यसकै प्रमाण हो।

सङ्घर्षले खारिएकी पात्र

वर्षौँ मेहनत गर्दा पनि कुनै खेलाडीको राष्ट्रिय टीमको जर्सी लगाउने चाहना पूरा भइरहेको हुँदैन।

तर सुन्दा कथाजस्तै लाग्ने गरी डेढ वर्षभित्र पूजाले यतिविघ्न सफलता पाइसकेकी छिन्।

पूजाकै शब्दमा ‘यो कल्पना नगरेको एउटा सपना जस्तै हो’।

सपनाजस्तै लाग्ने यो कथापछाडि भने दृढ सङ्कल्प बोकेकी एउटा पात्र भेटिन्छिन्।

यस्तो पात्र जोसँग आफ्नो सपना साकार पार्न सक्ने क्षमता छ र त्यसका निम्ति कठिन सङ्घर्ष गर्ने आँट पनि छ।

पूजाले सानैदेखि नै आफ्नो आमाबुवाले भोगेको दुःख र सङ्घर्ष नजिकबाट देखिन्।

महोत्तरी गौशालाका उनका बुवा रन्जित महतोले भारतको नयाँ दिल्लीमा पुगेर सङ्घर्षपूर्ण जीवन सुरु गरे र अहिले पनि त्यहीँ जीवन गुजारिरहेका छन्।

तीन छोरी र एक छोरालाई हुर्काउन रन्जितले चिया पसलमा काम गरे, रिक्सा चलाए र अहिले प्लास्टिक कम्पनीमा काम गरिरहेका छन्।

घरकी माइली छोरी पूजा भन्छिन्, “मेरो बुबाको जति कपाल छ, त्योभन्दा बढी हजुरबुबाको ऋण थियो रे।”

एक दिन बुबा प्लास्टिक कारखानामा मैलो लुगा लगाएर काम गरेको देख्दा पूजाको मन बेस्सरी कुँडिएछ।

त्यही दिन उनले अठोट गरिन्, “बुबाको खुसीको लागि म पनि केही गर्छु।”

यी सबै परिस्थितिले पूजालाई सानै उमेरदेखि दह्रो बनाएको थियो। पढाइमा होस् वा काममा उनी सानैदेखि तगडा बनिसकेकी थिइन्।

क्रिकेटतर्फ पाइला

कुनै योजना नभए पनि पूजाका पाइला अनायासै क्रिकेटतिर ढल्किए। कोभिडपछि भाइलाई क्रिकेट प्रशिक्षण केन्द्रमा पुर्‍याउन जाँदा उनलाई पनि खेल्न भनिएछ।

दिल्लीको रोहतक रोड जिमखानामा प्रशिक्षक राजेश चौहानले निःशुल्क प्रशिक्षणको व्यवस्था मिलाइदिएपछि पूजाको क्रिकेट यात्रा सुरु भयो।

जुन काममा लागे पनि भित्रैदेखि लाग्ने बानी भएकी पूजाले क्रिकेटलाई साधनाकै रूपमा लिइन्।

बिहान ४ बजे उठेर जिमखाना पुग्ने, त्यहाँ ८ बजेसम्म प्रशिक्षण लिने, दौडेर घरमा आउने र टिफिन बोकेर हतारहतार स्कूल जाने उनकै दैनिकी नै बनेको थियो। स्कूलबाट फर्केर घरमा आइपुग्नेबित्तिक्कै उनी फेरि प्रशिक्षण केन्द्र गएर राति ८ बजे घर फिर्ता हुन्थिन्।

उनको यो दैनिकी तीन वर्षसम्म लगातार चल्यो।

पूजा सम्झिन्छन्, “स्कूलमा पहिलो पिरिअडमा म जहिल्यै निदाइरहेको हुन्थेँ।”

उनी दुईवटा अक्याडमीमा प्रशिक्षण लिन्थिन्। बिहान यूनिक क्रिकेट अक्याडमी र बेलुका रोहतक रोड जिमखानामा। रोहतकका प्रशिक्षक श्रवण कुमार भारतीय खेलाडी ईशान शर्माका पनि प्रशिक्षक थिए।

यूनिक क्रिकेटका प्रशिक्षक राजेश चौहानले भने पूजाको ब्याटिङ कला तिखारिदिएका हुन्।

लगातारको यो मेहनतले उनमा एक अलराउन्डरको कला भरिइसकेको थियो।

यतिन्जेल पूजालाई नेपाली महिला क्रिकेटबारे केही थाहा थिएन।

एउटा संयोगले सँधैका लागि पूजाको पाइला नेपालतिर मोडियो।

भएको के थियो भने भाइ कृष्ण महतो त्यसभन्दा अघिल्लो वर्ष नेपाल घुम्न आउँदा महोत्तरीको एक प्रतियोगिता खेल्न गएका थिए र एउटा खेलमा उनी ‘म्यान अफ द म्याच’ भए।

अनि भाइले ‘मेरी दिदी झन् राम्रो खेल्छिन्’ भनेर नेपाल क्रिकेट सङ्घका उपाध्यक्ष रोशन सिंहलाई भनेपछि उनकै पहलमा पूजा नेपाल आएकी हुन्।

सीधै राष्ट्रिय टोलीमा

भन्नै परेन, पहिलो ट्रायलमै उनी सीधै राष्ट्रिय टोलीमा छानिइन्। पूजाको लागि यो ‘सर्प्राइज’ नै थियो।

उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता डेढ वर्षअगाडि मलेशियामा भएको आईसीसी वीमिन टी–२० विश्वकप एशिया हो।

हङकङविरुद्धको खेलमा उनले राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरिन्, जहाँ ओपनरको रूपमा आएर उनले १६ रन बनाइन् भने बलिङमा तीन ओभर फ्याँक्दा १ मेडन राखेर ५ रनमात्र खर्चिइन्।

‘डेब्यु’ यादगार भयो। त्यसपछि उनले फर्केर हेर्नुपरेको छैन।

त्यसयता उनले २५ वटा टी२०आई खेलेर ३१३ रन बनाउनुका साथै १८ विकेट लिइसकेकी छन्।

महिला राष्ट्रिय टोलीका प्रशिक्षक मनोज कटुवाल पूजाबारे भन्छन्, “पूजाले लाइनमा फ्याल्ने बल विपक्षीलाई सामना गर्न गाह्रै हुन्छ। ब्याटिङ गर्दा खेलको अवस्था बुझ्न सक्ने उनको गज्जबको क्षमता छ।”

उनको नेतृत्व क्षमता भने १९ वर्षमुनिको कप्तानको जिम्मेवारी सम्हालेपछि खुलेको हो।

स्कूलमा उनी कक्षाको ‘मोनिटर’ भएकी थिइन् दिल्लीका दुवै क्रिकेट अक्याडमीमा पनि उनी कप्तान भएकी थिइन्। यो अनुभवले यू-१९ टोली सम्हाल्न पूजालाई कति पनि गाह्रो भएन।

अनि पूजा नेपाली महिला टोलीलाई इतिहासमै पहिलो पटक यू-१९ विश्वकपमा पुर्‍याउने ऐतिहासिक कप्तान बनिन्।

त्यस क्रममा ‘अलराउन्ड’ प्रदर्शन गरेकी पूजाले कुवेतविरुद्ध बनाएको शतक नेपाली महिला टोलीले कुनै पनि स्तरमा बनाएको दोस्रो शतकको कीर्तिमान हो।

एशिया कप खेलेर उनको टोलीले पाकिस्तानलाई हराएर प्रभाव जमायो।

विश्वकपमा कुनै खेल नजिते पनि आईसीसीले प्रतियोगिताभरिकै उत्कृष्ट १२ खेलाडी छान्दा ‘असोसिएट’ राष्ट्रबाट त्यसमा पर्ने पूजा एक्ली खेलाडी थिइन्।

भर्खरै मात्र उनले नेदरल्यान्ड्सविरुद्ध कीर्तिपुरमा अविजित ६२ रन बनाएर टी२०आईको दोस्रो अर्धशतक बनाएकी छन्।

यू-१९ को कप्तान चुनिएको समयलाई पूजा विशेष मान्छिन्। भन्छिन्, “राम्रो भए पनि नराम्रो भए पनि त्यसको जिम्मा लिनुपर्ने चुनौती छुट्टै हुने रहेछ।”

सङ्घर्षको पाटो

राष्ट्रिय टोलीमा घुलमिल हुन सजिलो कहाँ थियो र।

सुरुसुरुमा ‘तिमी त भारतीय हौ’ भन्दा वा ‘एकै पटक राष्ट्रिय टोलीमा कसरी’ जस्ता प्रश्नको सामना गर्दा उनी नेटपछाडि लुकेर आँसु झार्थिन्।

तर विषम परिस्थितिको सामना गर्दै हुर्किएकी पूजाका लागि यस्तो अवरोध केही पनि थिएन।

जति धेरै आलोचना भयो, त्यति नै उनको नेपाली क्रिकेटमा जम्ने अठोट बलियो बन्दै गयो। उनी भन्छिन्, “आलोचनाले मलाई झन् बलियो बनाउँछ र सुधार्छ जस्तो लाग्छ।”

क्रिकेटमा सफल हुन अझै धेरै सङ्घर्ष गर्न बाँकी रहेको उनलाई थाहा छ।

“आफ्नो परिवारको साथमा भए जस्तोसुकै कठिन बाटो सहज हुन्छ,” उनी भन्छिन्।

अबको लक्ष्य

अठार वर्षे पूजाको क्रिकेट करिअर भर्खरै सुरु हुँदै छ। उनले क्रिकेटमा भविष्यको लामो यात्रा तय गर्न बाँकी नै छ।

हुन पनि फरासिलो स्वभावकी पूजाले खेलकुदको कूटनीति त्यति बुझेकी छैनन्।

उनी भन्छिन्, “धेरै कुरा सिक्न बाँकी छ। सिक्दै अगाडि बढ्ने हो।”

यद्यपि पूजाले आफ्नो जीवनको लक्ष्य क्रिकेटलाई बनाइसकेकी छन्।

क्रिकेटबाटै नाम कमाउने र देशको लागि योगदान दिने अनि आर्थिक स्थिति सुधार्ने उनको स्पष्ट योजना छ।

त्यसका लागि आफूलाई कसरी तयार गर्ने खाका पनि पूजाले बनाइसकिन्।

सिनिअर राष्ट्रिय टोलीबाट पनि विश्वकप छनोट हुने पूजाको दीर्घकालीन लक्ष्य छ।

सिनिअर टोलीका खेलाडीहरू क्षमतावान् भएको बताउने पूजा अहिलेबाट नै योजना बुन्दै गए सिनिअर टोलीले पनि चाँडै नै विश्वकप खेल्न सक्ने विश्वास गर्छिन्।

उनको ठूलो लक्ष्य भने परिवारको रेखदेख आफैँ गर्नु हो।

बुबालाई स्कूटर

त्यसका लागि पूजाले काम थालिसकेकी छिन्।

अब लगत्तै उनी दिल्ली जाने छिन्। त्यहाँ साइकल चढ्ने बुबालाई एउटा स्कूटर उपहार दिने योजना उनले बनाइसकेकी छिन्।

क्यानको खेलाडी वर्गीकरणको ‘ग’ वर्गमा परेकी पूजाले मासिक ३० हजार रुपैयाँ पाउँछिन्। उनले राष्ट्रिय टोलीबाट खेल्दा पाउने पारिश्रमिक पनि जम्मा पारेकी छन्।

हुन त उनले शुक्रवार सकिएको त्रिपक्षीय खेल शृङ्खलामा स्कूटरै उपहार पनि पाएकी छन्।

उनी भन्छिन्, “बुबाले हामीलाई धेरै गर्नुभयो। अब मेरो कमाइको पहिलो उपहारस्वरूप स्कूटर दिँदै छु।”

त्यतिबेला बुबाको अनुहारमा देखिने भाव हेर्न उनी आतुर छिन्।

पूजालाई नेपाली टोलीको जरुरत थियो र राष्ट्रिय महिला टोलीलाई पूजा महतोजस्तो खेलाडीको खाँचो थियो।

अबको दशकमा पूजाले नेपाली क्रिकेटमा थप तहल्का मच्चाउँदै जाने धेरैले ठानेका छन्।

Share Now