कोलकोता(पश्चिम बंगाल, भारत), २६ चैत्र(एजेन्सी)। इन्डियन प्रिमियर लिग (आइपीएल) मा आज दुई खेल हुनेछन् ।
पहिलो खेल कोलकाता नाइट राइडर्स र लखनउ सुपर जाइन्टसबीच हुनेछ।
खेल कोलकाताको इडन गार्डेन्समा खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।
यसअघिको खेलमा कोलकाताले सनराइजर्स हैदराबाद र लखनउले मुम्बई इन्डियन्सलाई हराएको थिए। दुवै टोली लगातार दोस्रो जितको प्रयासमा हुनेछन्।
कोलकाताको प्रदर्शन अहिलेसम्म स्थिर देखिएको छैन। टोलीको कुनै पनि ब्याट्सम्यानले निरन्तर राम्रो प्रदर्शन गर्न सकेका छैनन् ।
लखनउका मिशेल मार्श र निकोलस पूरन मात्र लयमा देखिएका छन्। पछिल्लो खेलमा एडन मार्करामले उत्कृष्ट अर्धशतक प्रहार गरे ।
४ खेलमा समान २ जित र २ हार बेहोरेको समान ४ अंक जोड्दै कोलकाता तालिकाको पाँचौं र लखनउ छैंटौं स्थानमा छन्।
दोस्रो खेलमा पंजाब र चेन्नई
अर्को खेल पंजाब किंग्स र चेन्नई सुपर किंग्सबीच हुनेछ। पंजाब किंग्सले ३ खेल खेलेकोमा २ जितेको छ। पंजाबले दुबै खेल अवे मैदानमा जितेको हो । आफ्नो पहिलो घरेलु मैदानमा भएको खेलमा उसले राजस्थान रोयल्ससँग हार बेहोरेको थियो ।
सानदार सुरुवात गरे पनि चेन्नईले त्यसपछि लगातार ३ खेलमा हार खेप्नुपरेको छ। ५ पटकको विजेता टोलीले जितको लय समात्न संघर्ष गरिरहेको छ। दुवै टोली पहिलो पटक मुल्लानपुर मैदानमा एकअर्काविरुद्ध खेल्दै छन्।
खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ। ३ खेलमा ४ अंकसहित पंजाब तालिकाको चौथो स्थानमा छ। ४ खेलमा १ खेल जितेको चेन्नई नवौं स्थानमा छ।
सोमबार रातिको खेलमा रोयल च्यालेन्जर्सद्धारा मुम्बई इण्डियन्स पराजित
इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ अन्तरगत सोमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले मुम्बई इण्डियन्सलाई १२ रनले पराजित गर्दै तेस्रो जित निकालेको थियो ।
जितको लागि २ सय २२ रनको चुनौती पाएको मुम्बई २० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९ रनमा समेटियो।
ओपनरद्वय रोहित शर्मा र रायन रिकेल्टन समान १७ रनमा आउट भए। यी दुई खेलाडी आउट हुँदा मुम्बईले मात्र ३८ रन बनाएको थियो।
त्यसपछि विल ज्याक्स २२ र सूर्यकुमार यादव २८ रनमा पेभिलियन फर्किए। चौथो विकेटको नोक्सानीमा मुम्बईले ९९ रन मात्र जोड्यो।
पाँचौं विकेटको लागि तिलक वर्मा र कप्तान हार्दिक पाण्ड्याले ८९ रनको साझेदारी गरे।
तिलकले २९ बलमा ४ चौका र ४ छक्का सहित ५६ रन जोडेर आउट भए। लगतै हार्दिक पनि ४२ रनमा आउट भए। यो सँगै मुम्बई पराजित हुन पुग्यो।
बलिङमा बंगलुरुका क्रुनाल पाण्ड्याले सर्वाधिक ४ तथा यश दयाल र जोश हेजलउडले समान २ । २ विकेट लिए।
त्यसअघि मुम्बईको वानखेडे स्टेडियममा टस हारेर ब्याटिड.मा परेको रोयल च्यालेन्जर्सले २० ओभरमा ५ विकेट खर्चेर २ सय २१ रन बनायो।
खेलमा ओपनर फिल साल्ट ४ रनमा नै आउट भए। त्यसपछि विराट कोहली र देवदत्त पाडिक्कलले दोस्रो विकेटको लागि ९१ रनको साझेदारी गरे। यो क्रममा कोहली २९ बलमा अर्धशतक बनाए। उनले ६ चौका र २ छक्काको मद्दतमा ५० रन जोडे। पाडिक्कल भने २२ बल खेल्दै ३७ रनमा आउट भए।
तेस्रो विकेटको रूपमा कोहली ६७ रनमा आउट भए। उनले ४२ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरे। तेस्रो विकेट गुमाउँदा रोयल च्यालेन्जर्सले १ सय ४३ रन बनाएको थियो। लगत्तै लायम लिभिङ्स्टन रनको खाता नखोली आउट भए।
त्यसपछि कप्तान रजत पाटिदार र जितेश शर्माले पाँचौं विकेटको लागि ६९ रनको साझेदारी गरे। रजतले ४ चौका र ३ छक्का प्रहार गर्दै मात्र २५ बलमा अर्धशतक बनाए। ३२ बल खेल्दै ६४ रनको महत्वपूर्ण पारी खेल्दै ट्रेन्ट बाउल्टको बलमा आउट भए। जितेश अविजित ४० रनमा क्रिजमा रहे।
बंगलुरुलाई रोक्ने क्रममा मुम्बई इण्डियन्सका हार्दिक पाण्ड्याले ४ ओभर बलिङ गर्दै ४५ रन खर्चेर २ विकेट लिए। ट्रेन्ट बाउल्टले पनि ४ ओभर बलिङ गर्दै ५७ रन दिएर २ विकेट लिए।
रोयल च्यालेन्जर्स चौथो खेलमा तेस्रो जितका साथ ६ अंक बनाएको छ। पाँचौं खेलमा मुम्बईको यो चौथो हार हो। उससँग मात्र २ अंक छ।


















