Prakash Adhikari April 8, 2025

 

बल्खु(काठमाडौँ), २६ चैत्र । २०४६ सालमा निर्दलीय व्यवस्थाको अन्त भएर बहुदलीय व्यवस्था पुनस्थापना भएको दिन पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीले आजका लागि तय गरेको प्रदर्शनी र सभा काठमाडौंको बल्खुमा सुरु भएको छ ।

संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित सुरु भएको प्रदर्शन र सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

राजधानीका कलंकी, कालिमाटी, सातदोबाटो, कीर्तिपुर लगायतका स्थानबाट निकालिएको जुलुस बल्खु पुग्नेक्रम जारी छ । जुलुसमा सहभागीहरुले पृथ्वीनारायण शाहको फोटोसहित नेपालको राष्ट्रिय झण्डा र पार्टीको झण्डा पनि बोेकेका छन् ।

राप्रपाले आजको सभा भव्य, सभ्य र अनुशासित हुने जनाएको छ । राप्रपाले जुलुस र सभालाई व्यवस्थित गर्न दर्जनौंको संख्यामा स्वयंसेवकहरु परिचालन गरेको छ ।

उनीहरुले सभालाई व्यवस्थित बनाउन र घुसपैठ रोक्न भूमिका खेल्ने छन् । घुसपैठको शंका लागेमा तुरुन्तै नियन्त्रणमा लिएर सुरक्षाकर्मीको जिम्मा लगाउन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले निर्देशन दिएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताउनुभएको छ ।

तर चैत १५ गते तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शन हिंसात्मक भएकाले बाक्लो संख्यामा सुरक्षाकर्मीहरुको परिचालन गरिएको छ । त्रिभुवन विश्वविद्यायको परीक्षा नियन्त्रण कार्यालय, सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय र कलंकीको भाटभटेनी सुपरमार्केटमा समेत सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

यसअघि चैत १५ को प्रदर्शनमा भाटभटेनी सुपरमार्केटमा लुटपाट भएको थियो भने नेकपा एकीकृत समाजवादीको केन्द्री कार्यालयमा आगजनी भएको थियो ।

एम्बुलेन्स र दमकल समेत तयारी अवस्थामा नराखिएको भनेर प्रहरी प्रशासनको आलोचना भएको थियो ।

बल्खुको सभास्थलमा एम्बुलेन्स, नेपाल रेडक्रस सोसाइटी, मानव अधिकारकर्मी लगायतको टोली पनि परिचालन गरिएको छ ।

राप्रपाले भृकुटीमण्डपमा सभा गर्न खोजेको थियो । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा संवेदनशीलतालाई कारण देखाउँदै बल्खु वा सिफल चौरमा सभा गर्न भनेको थियो ।राप्रपाले सभास्थलको रुपमा बल्खु रोजेको हो ।

सभास्थल वरपरको सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिएका छन् । सीसीटीभी र ड्रोनबाट समेत निगरानी गरिएको प्रहरीले जनाएको छ ।

राष्ट्रिय अनुसन्धान विभागका टोलीहरूले सूचना संकलनको काम गर्नेछन् भने बाँकी नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन भूमिका खेल्नेछन् ।

नेताहरुद्धारा बंगलादेश र श्रीलंकाको जस्तो अवस्था ल्याउने चेतावनी

राप्रपाले बल्खुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै नेता दीपकबहादुर सिंहले वर्तमान सरकार नालायक र भ्रष्टाचारीको संरक्षणमा लागेको भन्दै राजासहितको प्रजातन्त्रका लागि तयार रहन आग्रह गर्नुभयो ।

‘देश समाप्त हुने तरखरमा पुगेको छ । भ्रष्टाचारले चुर्लुम्म डुबेको छ’, सिंहले भन्नुभयो, ‘एक महिनाअघि राष्ट्र बैंकको गभर्नर नियुक्त गर्नुपर्नेमा गर्न सकेका छैनन्, यो नालायक सरकार हो भन्ने यसैबाट प्रमाणित भएको छ ।’

उहाँले सरकारलाई चेतावनी दिँदै भन्नुभयो, ‘सरकार सुध्रेन भने अब बंगलादेश र श्रीलंकाको अवस्था नेपाली जनताले ल्याउनेछन् ।’

बैशाख ७ देखि सडकमै सुत्ने,सडकमै खाने

सभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य कुन्ति पोखरेलले राजसंस्था नफर्किएसम्म आफूहरूले सडक नछाड्ने बताउनुभयो ।

उहाँले वैशाख ७ गतेबाट पार्टीले गर्ने आन्दोलनका क्रममा आफूहरू राजसंस्था नफर्किएसम्म सडकमै बस्ने, खाने र सुत्ने बताउनुभयो ।

 

‘यो आज सुरुवात हो । अब ७ गतेदेखि हामी यहीँ ठाउँमा बस्छौं । यहीँ सुत्छौं,’ पोखरेलले भन्नुभयो, ‘खाना पनि यहीँ पकाउँछौं । जबसम्म यो देशमा हाम्रो अभिभावकीय संस्था राजसंस्था नभएसम्म यहीँ बस्छौं ।’

पोखरेलले गणतन्त्रवादी नेताहरूलाई आजै देश छाडेर भाग्न सल्लाह दिनुभयो ।

‘आजै तिमिहरू भागिहाल नत्र घरबाट थुतेर राष्ट्रवादी साथीहरूले कुट्नछन्,’ पोखरेलले भन्नुभयो, ‘कि देश छाडेर भाग, कि आत्मसमर्पण गर । नत्र खैरियत छैन ।’

Share Now