Prakash Adhikari April 11, 2025

काठमाडौँ, २९ चैत: तीनकुने घटनापछि फरार भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरी नियन्त्रणमा लिएको छ । उहाँलाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि काठमाडौँ ल्याइँदै गरिएको प्रहरीले जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले आज एक विज्ञप्ति जारी गरी प्रसाई र उहाँका सहयोगी दिपक खड्कालाई पनि पक्राउ गरिएको जानकारी दिनुभयो ।

पूर्वराजावादीहरूले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा सङ्लग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसूर गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रसाईंका सहयोगीहरूले भने उहाँले भारतको आसाम प्रहरीमा आत्मसमर्पण गरेको दाबी गरेका छन् ।

प्रसाईंलाई खोज्न नेपाल प्रहरीका तीन टोली भारतसम्म पुगेका थिए । प्रसाईं  उत्तरप्रदेशको प्रयागराजमा रहेको सूचनाका आधारमा प्रहरीको विशेष टोली त्यहाँ पुगेको थियो । तर उनलाई नियन्त्रण लिन सहज नभएपछि त्यो टोली भैरहवा ल्याएर राखिएको थियो । अर्को टोली भने दिल्ली पुगेर वातावरणको प्रतीक्षामा थियो । अर्को टोली भारतको उत्तरपूर्वमा पुगेको थियो ।

उत्तरपूर्व पुगेको टोलीले आसाम प्रहरीको सहयोग र समन्वयमा प्रसाईलाई नियन्त्रणमा लिने व्यवस्था मिलाएको बुझिएको छ ।

नेपाल र भारतबीचमा सुपुर्दगी सन्धि नभएकाले एकअर्काको देशमा पक्राउ परेका आरोपितहरुलाई अनौपचारिक रूपमा लेनदेन गर्ने अभ्यास छ । अर्को देशमा पक्राउ परेमा त्यहाँको प्रहरीले सीमाक्षेत्रमा ल्याएर छोड्ने र लगत्तै सम्बन्धित देशको प्रहरीले जिम्मा लिएर गन्तव्यमा पुर्‍याउने अभ्यास छ ।

प्रसाईंका समर्थकहरुले सामाजिक सञ्जालमार्फत प्रसाईंले भारतको आसाम प्रहरीमा आत्मसमर्पण गरेको दाबी गरेका छन् ।

राजावादीको प्रदर्शनमा प्रसाईंका समर्थहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्र गरी कुल ४० संरचनामा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट गरेका थिए । त्यस्तै सार्वजनिक तथा निजी गरी ६९ वटा गाडीमा क्षति पुर्‍याएका थिए । घटनामा पत्रकार सुरेश रजक र प्रदशर्नकारी सविन महर्जनको ज्यान गएको थियो भने १२९ जना घाइते भएका थिए, पाँच जना अझै अस्पतालमा छन् ।

प्रसाईं भागे पनि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महमन्त्री धवलशमशेर राणासहित ७९ जनालाई पक्राउ गरेको छ । प्रहरीले मिश्र र राणालाई राजद्रोह, संगठित अपराध र सार्वजनिक उपद्रवसहितका मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

Share Now