Prakash Adhikari April 21, 2025

मुम्बई(महाराष्ट्र,भारत), ८ बैशाख(एजेन्सी) ।इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तरगत आइतवार राति भएको खेलमा मुम्बई इण्डियन्सले शानदार जित निकालेको छ । आफ्नो गृह मैदान बानखेडे क्रिकेट मैदानमा भएको खेलमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किङ्सलाई ९ विकेटको फराकिलो अन्तरमा हराएको हो।‌

जितको लागि १ सय ७७ रनको लक्ष्य पाएको मुम्बईले १५.४ ओभरमा १ विकेटको क्षतिमा सो लक्ष्य हासिल गरेको थियो।

मुम्बईका ओपनर रायन रिकेल्टन २४ रनमा रविन्द्र जडेजाको बलमा आउट भए। त्यसपछि रोहित र सूर्यकुमारले दोस्रो विकेटको लागि अविजित १ सय १४ रनको साझेदारी गरे।

रोहितले विष्फोटक ब्याटिङ गरे। रोहितले ३३ बलमा अर्धशतक बनाए। उनले ४५ बलमा ४ चौका र ६ छक्काका मद्दतले अबिजित ७६ रन बनाए । सूर्यकुमार ३० बलमा ६ चौका र ५ छक्का सहित अविजित ६८ रन बनाए।‌

मुम्बईलाई रोक्ने क्रममा चेन्नईका रबिन्द्र जडेजाले एक विकेट लिए। अन्य बलरको प्रदर्शन अत्यन्त फितलो रह्यो ।

त्यसअघि मुम्बईको वाङखेडे स्टेडियममा मुम्बईले टस जित्यो र फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७६ रन बनायो। पहिलो क्रमका तीन ब्याटर क्रिजमा जम्न नसक्दा चेन्नई ठूलो योगफल जुटाउन असमर्थ रह्यो ।

यसअघि ओपनर राचिन रविन्द्र ५ रनमा, आयुष माहात्रे २२ रनमा र शेख रसिद १९ रनना आउट भए। ३ विकेट गुमाउँदा चेन्नईले ६३ रन मात्र जोडेको थियो।

यसपछि रविन्द्र जडेजा र शिवम दुबेले अर्धशतक बनाउँदै इनिङ्स सम्हाले। शिवमले ३२ बलमा २ चौका र ४ छक्का सहित ५० रन जोडे।

जडेजा अविजित ५३ रनमा क्रिजमा रहे। उनले ३५ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे। बलिङमा जसप्रित बुम्राहले २ विकेट लिए।

यो सिजनको आईपीएलमा मुम्बईको यो चौथो जित हो। मुम्बई ८ अंक सहित सातौं स्थानमा उक्लिएको छ। चार अंक सहित अंक तालिकाको पुछारमा रहेको चेन्नईको यो छैटौं हार हो।‌

 

Share Now