काठमाडौं,७ साउन । साउन महिनाको पहिलो सोमबार राजधानी काठमाडौंमा हिन्दुहरुका आराध्यदेव भगवान पशुपतिनाथको मन्दिर र देशका अन्य भागमा शिव मन्दिरहरुमा भक्तजनहरुको घुइँचो लागेको छ ।
मन्दिरमा बिहानदेखि नै लामो लाम लागको छ ।
मन्दिरको पूर्व,पश्चिम र उत्तर तर्फका गेटबाट प्रवेशको व्यवस्था मिलाइएको छ ।
मन्दिरमा पुरुषको तुलनामा महिलाहरुको संख्या अधिक देखिन्छ ।
रातो,पहेलो र हरियो लुगा, रातो पहेलो र हरियै रंगका पोते र त्यसरी नै रंगीन बाना मिलाएर लगाइएका चुरा सहितका महिलाहरुको प्रवेशले पशुपति क्षेत्रमा साउनको रौनक थपेको छ ।
आज पहिलो सोमबारको अतिरिक्त हरिशयनी एकादशी पनि परेकोले भक्तहरुको भीड अलि बढी नै भएको बताइन्छ ।
हरिशयनी एकादशीका दिनदेखि नै चौमास ब्रतको आरम्भ हुने र हरिबोधनी एकादशी संगै अन्त्य हुने भएकोले यी चार महिना चोखोनितो गरि ब्रत बस्ने चलन पनि छ ।
साउन महिनाको सोमबारमा हिन्दुहरुलाई पशुपतिनाथको दर्शनको विशेष महत्व रहन्छ ।
आफू प्रधानमन्त्रीमा निर्वाचित भएपछि २०७१ सालको साउनको सोमबार पशुपतिनाथको दर्शन गर्ने गरी भारतीय प्रधानमन्त्री नेपालको भ्रमणमा आउनुभएको थियो ।
साउनको पहिलो सोमबारकै दिन आज पूर्व युवाराज्ञी हिमानी राज्यलक्ष्मी शाह पनि पशुपति दर्शनमा पुग्नुभएको थियो ।