काठमाडौं, ७ साउन ।नेपालका अग्रज पर्यटन व्यवसाय टेकचन्द्र पोखरेलको निधन भएको छ ।
हृदयघात भएपछि उपचारार्थ अस्पताल लैजादै गर्दा आइतबार बिहान उहाँको निधन भएको थियो ।
हिमालय उद्धार संघका संस्थापक अध्यक्ष तथा नेपाल पर्वतारोहण संघ, ट्रेकिंग एजेन्सिज एशोसियन अफ नेपाल र नेपाल टाभल एण्ड टुर अपरेसर्ट एशोसिएन र पाटा नेपाल लगायतका पर्यटनसम्बन्धी दर्जनौ संघ संस्थाका अध्यक्ष रहेर नेतृत्व दिइसक्नु भएको थियो ।
२००७ सालको जनक्रान्तिमा समेत सहभागी भएका पोखरेल नेपालको पर्यटन व्यवसायमा स्तरीय र विलासी पर्यटक भित्र्याउने कार्यमा सक्रिय हुनुहुन्थो ।
नेपालका लागि मेक्सिकोको अवैतनिक वाणिज्यदूत रहनुभएका पोखरेल मृदुभाषी, सरल र सबैलाई सहयोग गर्न रुचाउने स्वभावका हुनुहुन्थ्यो ।
पदयात्रा, पर्वतारोहण, टुर, होटल ब्यवसाय र पर्यटक उद्धारको क्षेत्रमा लामो समयदेखि अविस्मरणीय योगदान पुयाउनु भएका पोखरेललाई धेरै पर्यटन व्यवसायीहरुले अभिभावकको रुपपमा पनि लिने गरेका थिए ।
उहाँको निधनमा पर्यटन मन्त्री रविन्द अधिकारी, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपक जोशी सहित उहाँले नेतृत्व दिएका संघसंस्थाहरुले पर्यटन क्षेत्रले एक परिवक्व र दूरदृष्टि भएको उद्यमी गुमाएको उल्लेख गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।