Prakash Adhikari April 30, 2025

काठमाडौं, १७ वैशाख । सशस्त्र प्रहरी बल (एपीएफ) प्रथम बागमती प्रदेश मुख्य मन्त्री कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

नुवाकोटको बट्टारमा जारी‌ प्रतियोगिताको मंगलवार भएको क्वाटरफाइनलमा पदमा स्पोर्टस क्लबलाई ४-० ले हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो ।

एपीएफको जितमा अनिता केसीले २ तथा रश्मि कुमारी घिसिङ र गीता रानाले समान १ गोल गरे।

खेलको ११ औं मिनेटमा अनिताले बक्सभित्रबाट गोल गर्दै एपीएफलाई अग्रता दिलाइन्। यसपछि अनिताले व्यक्तिगत दोस्रो गोल गरिन्। पहिलो हाफमा एपीएफले २-० को अग्रता बनायो।

खेलको ५७ औं मिनेटमा सरु लिम्बूको पासमा रश्मिले गोल गरिन्। यसपछि प्राप्त पेनाल्टीमा ६१ औं मिनेटमा गीताले गोल गरिन्।

अब एपीएफले रौतहटसँग बिहिवार सेमिफाइनल खेल्नेछ। बुधवार हुने पहिलो सेमिफाइनलमा संकटा क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ।

पुलिसले गण्डकी प्रदेशलाई ४-० र संकटाले त्रिभुवन आर्मी फुटबल आर्मीलाई ३-१ ले हराउँदै सेमिफाइनल खेल्नेछ।

Share Now