Prakash Adhikari July 24, 2018

काठमाडौं, ८ साउन । नेपाल कम्युनिष्ट पार्टीका संयुक्त अध्यक्ष के पी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारबाट बाहिरिने पहिलो मन्त्री शेरबहादुर तामाङ हुनुभएको छ । कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालय सम्हालनु भएका मन्त्री तामाङले मंगलबार पदबाट राजीनामा दिनुभएको हो ।

उहाँले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि उहाँ राजिनामा दिन बाध्य हुनुभएको हो ।

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्दा तामाङ निकै भावुक हुनुभएको थियो ।

पत्नी उषाकला राईलाई साथमा राखेर पत्रकारहरुसामु उपस्थित हुनभएका तामाङले आफू ‘नेपाली नारीहरुप्रति सम्मान गर्ने र नारीमाथि हिंसा हुनुहुन्न भन्ने मान्यतामा रहनुको साथै महिलाहरुको हक अधिकारका लागि काम गरेको भएपनि त्यही विषयले लखेटेर पदत्याग गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, डा. उपेन्द्र देवकोटा‘ निरन्तर विरामीहरुको रोगको उपचारमा खटिदा खटिदै क्यान्सर रोगले वित्नु भयो । कोही मान्छेलाई गरिरहेकै कामले लखेट्दो रहेछ । म नारी अस्मिताको सम्मान गर्दै निरन्तर महिला अधिकारको पक्षमा लागे र महिला अधिकारको कानुनका लागि योगदान गरे । यसरी तल्लीन मान्छे पनि लखेटिँदो रहेछ ।अरु कसैलाई यस्तो नपरोस् ।

नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उहाँले पदीय मर्यादाको ख्यालै नगरिकन बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मिता बेच्न बाध्य भएको अभिब्यक्ति दिनुभएको थियो ।

उहाँको विज्ञप्तिको सर्बत्र विरोध भएपछि उहाँले आफ्नो आशय नेपाली विद्यार्थी, नेपाली महिला कसैलाई अपमानित गर्ने ढंढंगले नआएको केवल गुनासोहरुको उल्लेख गर्ने सन्दर्भमा सो प्रसंग जोडिएको बताउनुभएको थियो ।

तर उहाँको कथनले देशभित्रमात्र होइन विदेश खासगरि बंगलादेशसंगको कुटनीतिक सम्बन्धमा पनि असर गर्ने अवस्था आयो । मन्त्रीको अभिव्यक्ति सरकारको आधिकारिक धारणा मानिने भएकोले उहाँलाई पदीय मर्यादा अनुकूल आचरण गर्न नसकेकोले पदत्याग गर्न पार्टीले निर्देशन दिएको थियो ।

राजिनामा घोषणा कार्यक्रममा मन्त्री तामाङले मौलिक हक कार्यान्यनका लागि आवश्यक १५ वटा विधेयकको मस्यौदा तयार भइसकेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो , ‘मौलिक हक कार्यान्वयनका लागि आवश्यक १५ वटा कानून अगाडि बढेको छ । यो क्याविनेटको बाटो हुँदै संसदबाट असोज २ गते मध्यरातसम्म पारित हुन्छ ।’

उहाँले गएको शुक्रबार नेपालमा निजी मेडिकल कलेज खोल्न पाउनु पर्छ भन्ने मतलाई पुष्टि गर्न बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट लिन कहीँ न कहीँ आफुलाई बेच्नै पर्ने अवस्था रहेको अभिव्यक्ति दिनुभएको थियो ।

प्रतिपक्षी दल नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघले उहाँको राजिनामा नआएसम्म देशव्यापी विरोध अभियान सञ्चालन गर्ने घोषणा नै गरेको थियो ।

नेपाली कांग्रेसको संसदीय दलका तर्फबाट प्रतिनिधि सभाका सचेतक पुष्पा भूसाल र सरिता प्रसाईले एक विज्ञप्ति प्रकाशित गर्दै उहाँको राजिनामा माग गर्नुभएको थियो । उहाँहरुले सो विषयमा पार्टीले संसद र सडक दुवैतर्फ आन्दोलन गर्ने चेतावनी पनि दिनुभएको थियो ।

Share Now

Leave a comment.