काठमाडौं, २५ वैशाख । नेपालसंग खुला सीमाना जोडिएको निकटको मित्र राष्ट्र भारतले उसैग सिमाना जोडिएको छिमेकी पाकिस्तानमा लुकेर बसेका आर्तकवादीहरुको विरुद्ध चलाएको लडाईमा नेपाल सरकार भारतको साथ उभिएको छ ।
भारतले पाकिस्तानमा लुकेका आतंककारी बस्ने इलाकामा क्षेप्यास्त्र प्रहार गरेको करिब ४२ घण्टापछि नेपालको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गर्दै नेपाल आतंकवादविरुद्धको लडाईमा भारतसंग उभिएको जानकारी दिएको हो ।
परराष्ट्र मन्त्रालयले गत अप्रिल २२ मा भारतको कश्मिरको पहलगाममा आतंककारीहरुद्धारा पर्यटकीय बसमा आक्रमण गरी ३२ जना निहत्था पर्यटकको हत्या गरेको घटनामा एक जना नेपालीले पनि जीवन गुमाएको उल्लेख गरेको छ । उसले भनेको छ , यस दुःखद अवधिमा नेपाल र भारत ऐक्यबद्ध भएर उभिदै दुःख र पीडामा एकसाथ रहेका थिए ।
सो घटनामा नेपालले तत्कालै एकै स्वरमा बर्बरतापूर्ण कार्यको भत्सर्ना गर्दै नेपालले सबै खालका आतंककारी गतिविधिको विरोध गर्ने आफनो अडान सार्वजनिक गरेको स्मरण गराउदै परराष्ट्रले भनेको छ , आतंकवाद विरुद्धको लडाइँमा नेपाल सबैको साथमा रहन्छ । नेपालले आफ्नो भूमिबाट कुनै खालको आतंकवादी गतिविधि हुन पनि नदिने कुनै पनि मित्रराष्ट्रका विरुद्ध नेपाली भूमि प्रयोग हुन पनि नदिने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
नेपालले दुई छिमेकीबीचको तनाव कम हुने आशा गर्दै यस क्षेत्रमा दिगो शान्ति र स्थायीत्व कायम हुने विश्वास पनि लिएको छ ।


















