Prakash Adhikari May 28, 2025

काठमाडौं, १४ जेठ । विपक्षीहरूको अवरोधका कारण संसद्‌मा बोल्न नपाएका गृहमन्त्री रमेश लेखकले बुधवार संसद् परिसरमै पत्रकार सम्मेलन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने छानबिनमा आफू र आफ्नो मन्त्रालयले पूर्ण रूपमा सहयोग गर्ने बताउनुभएको छ ।

काठमाडौं विमानस्थलमा भिजिट भिसाका नाममा रकम असुली गर्ने गरेको भनिएको यस प्रकरणमा दुई ठूला प्रतिपक्षी दल नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले औपचारिक रूपमै गृहमन्त्रीको राजीनामा माग गरेका छन्।

बुधवार एक कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले समेत नैतिकताको हिसाबमा राजीनामा दिन सुझाउनु भयो।

त्यसबारे सोधिएको प्रश्नमा उहाँको जबाफ थियो, ूएक जना राष्ट्रसेवक कर्मचारीमाथि अख्तियारले अनुसन्धान गर्दा सम्बन्धित विभागीय मन्त्रीले राजीनामा गर्ने हो भने यहाँ एक वर्षमा देशमा कति मन्त्री चाहिएलारु के यो थिति ठिक होरुू

उहाँले आफूविरुद्ध नियोजित र षड्यन्त्रमूलक रूपमा आक्रमण भइराखेको बताउँदै उक्त प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गर्नुभयो ।

अख्तियारको अनुसन्धानको निष्कर्ष नै समग्र विषयको जबाफ हुने बताउँदै उहाँले त्यसका लागि पर्खन आग्रह गर्नुभयो।

“मेरो मन्त्रालयअन्तर्गतको निकायले अनुसन्धान गरिराखेको विषय होइन। देशको सर्वाधिक विश्वासिलो, संविधानद्वारा स्थापित निकायले गरिराखेको हो”, लेखकले थप्नुभयो।

प्रतिरक्षामा थप के भने

पत्रकार सम्मेलनभर उहाँको जोड कर्मचारीमाथि भइरहेको अनुसन्धानलाई राजनीतिक नेतृत्वमाथि जोड्न नहुने भन्ने थियो।

हाल आयोगको अनुसन्धानमा रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका सहसचिव तीर्थराज भट्टराई गृहमन्त्रीको अग्रसरतामा अध्यागमन विभागमा सरुवा भएर गएका र पछि फेरि त्यहाँबाट तानिएका दाबी मङ्गलवार विपक्षी सांसदहरूले सदनमा गरेका थिए।

त्यसको जबाफ दिने क्रममा लेखकको भनाइ थियो, “सहसचिव तीर्थराज भट्टराईे जी मैले नियुक्त गरेको होइन। मैले गृह मन्त्रालयमा अन्तबाट सरुवा गरेर ल्याएको होइन। मभन्दा पहिला, मैले दिएको भन्दा महत्त्वपूर्ण जिम्मेवारी दिइएका व्यक्ति हुन्। तर मसँग जोडिँदै छ।”

यस प्रकरणमा छानबिनलाई नै प्रभावित पार्न खोज्ने गरी क्रियाकलाप भइरहेको र न्याय पाउने आफ्नो पनि हक भएकोलेखकको भनाइ थियो।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयका कर्मचारी जोडिएको घटनालाई लिएर सत्तारूढ र प्रतिपक्षी दल आआफ्नै अडानमा कायम रहेपछि प्रतिनिधिसभाको बैठक मङ्गलवार र बुधवार स्थगित भएको छ।

तर लेखकको भनाइ छ, “अपुष्ट र नियोजित सामग्रीकै भरमा राजीनामा दिने थिति बसालिए।।।भोलिका दिनमा वहाँहरू ृविपक्षीहरूे यस्ता अवाञ्छित प्रश्नबाट भाग्न पाउनुहुने छैन।”

उहाँले विगतमा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र आफू जोडिएका विवादका बीच केही आधारभूत भिन्नता रहेको दाबी गर्दै “आज मविरुद्ध अनुसन्धान भइराखेको होइन”  भन्नुभयो।

“त्यसबेलाको सहकारी प्रकरण तत्कालीन माननीय मन्त्रीसँग सीधै जोडिएको छ। वहाँ स्वयं अनुसन्धानको दायरामा हुनुहुन्थ्यो।”

यस प्रकरणमा लेखकको संलग्नता भएको आरोपबारे गृह मन्त्रालय र उनको दल नेपाली कांग्रेसले प्रतिरक्षा गर्दै आएको छ।

Share Now