Prakash Adhikari May 29, 2025

पोखरा(कास्की), १५ जेठ । गण्डकीलाई ३-२ ले पराजित गर्दै टिप टप हेल्प नेपालले नवौं पीएम कप एनभीए लिगको पुरुषतर्फ उपाधि जितेको छ। हेल्प नेपालको यो पाँचौं एनभीए लिग उपाधि हो।

आज हेल्प नेपालले सानदार पुनरागमन गर्दै घरेलु टोली गण्डकी प्रदेशलाई ३-२ ले हराउँदै लगातर तेस्रो पटक उपाधि जिन सफल रहयो। यो जितमा हेल्प नेपाल माल्दिभ्समा हुने काभा क्लब च्याम्पियनसिपमा समेत छनोट भएको छ। गत वर्ष नेपालमा आयोजना भएको काभा क्लब च्याम्पियन्समा हेल्प नेपाल र गण्डकीले नै प्रतिस्पर्धा गरेका थिए।

खचाखच दर्शकले भरिएको पोखराको कभर्ड हलमा गण्डकी गत फाइनलको हारको बदला लिने दाउमा थियो। सोही अनुरुप उत्कृष्ट सुरुवात गर्यो। २५-२० र २७-२५ ले लगातार दुई सेट जित्दै जितको नजिक पुगेको थियो।

अब गण्डकीलाई मात्र एक सेट जिते पुग्थ्यो। तर हेल्प नेपालले त्यसो हुन दिएन । सानदार कमब्याकका साथ बाँकी तीन सेट २५-२२, २५-१४ र १५-८ ले आफ्नो पक्षमा पार्दै हेल्प नेपाल च्याम्पियन बन्यो ।

यो हारमा गण्डकी यो पटक पनि पिएम कप एनभिए लिगको उपाधि जित्न असफल भयो‌। लगातार तेस्रो पटक उपाधि जितेको हेल्प नेपालले यसअघि तेस्रो र पाँचौं संस्करणमा पनि उपाधि हात पारेको थियो।

विजेता हेल्प नेपालले ८ लाख, दोस्रो  गण्डकीले ४ लाख तेस्रो हुने र पुलिस क्लबले २ लाख रुपैयाँ प्राप्त गरे ।

नेपाल भलिबल संघको आयोजनामा जेठ ८ गते सुरु भएको लिगमा  पुरुषतर्फ ८ टोलीको सहभागिता थियो।

Share Now