फिलिपा रोक्स्बी,स्वास्थ्य संवाददाता
लण्डन(संयुक्त अरिाज्य), १८ जेठ(बीबीसी) । एउटा परीक्षणले इम्युनोथेरापी औषधिले टाउको र घाँटीको गम्भीर क्यान्सर भएका लाखौँ मानिसमा क्यान्सर पुनस् उनीहरूको शरीरमा फर्कन नदिएर उनीहरूको बाँच्ने समय बढाएको देखाएको छ।
यो भनेको उपचार गर्न कठिन भएका क्यान्सरका बिरामीहरूका लागि सफलताको पाइएको २० वर्षयताकै पहिलो सङ्केत भएको उक्त अनुसन्धान गर्ने वैज्ञानिकहरूले बताएका छन्। ।
यूकेको डार्बिशकी ४५ वर्षीया लोरा मास्ट्रोनमा ६ वर्षअघि जिब्रोको अन्तिम अवस्थातिरको क्यान्सर निदान भएको थियो र उहाँलाई बाँच्ने सम्भावना ‘अति कम’ भएको जानकारी दिइएको थियो। तर उहाँ ‘अझै पनि आफू यहाँ नै रहेकोमा छक्क परेको’ बताउनुहुन्छ।
उहाँले शल्यक्रिया अघि र पछि इम्युनोथेरापी पाउनुभएको थियो। उक्त औषधिले यदि क्यान्सर फिर्ता आयो भने शरीरलाई त्यसलाई आक्रमण गर्न सिक्न मद्दत गर्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।
उपचार गर्न कठिन र चाँडै मृत्यु निम्त्याउने क्यान्सर
टाउको र घाँटीको क्यान्सरको उपचार गर्न निकै कठिन छ र विगत दुई दशकमा बिरामीहरूको उपचार गर्ने तरिकामा केही मात्रामा परिवर्तन पनि आएको छ।
ब्रिटेनकी लोराको ६ वर्षअघि जिब्रोको क्यान्सर निदान गरिएको थियो तर इम्युनोथेरापीले उनलाई फाइदा गर्यो
जटिल अवस्थाको टाउको र घाँटीको क्यान्सर निदान भएका आधाभन्दा बढी मानिसको पाँच वर्षभित्र मृत्यु हुन्छ।
लोरालाई क्यान्सर भएको सन् २०१९ मा निदान भएको थियो। उहाँको त्यति लामो समयसम्म बाँच्ने सम्भावना पनि केवल ३० प्रतिशत मात्र दिइएको थियो। उहाँको जिब्रोमा भएको अल्सर नहट्ने अवस्था बनेपछि त्यसो भनिएको थियो।
अर्को चरणमा उहाँको जिब्रो र घाँटीमा ‘लिम्फ नोड’हरू हटाउने ठूलो शल्यक्रिया थियो र त्यसपछि उहाँले फेरि बोल्न र खान सिक्नुपर्यो।
“म ३९ वर्षकी थिएँ र म स्तब्ध भएँ”, उहाँले बीबीसी न्यूजसँग भन्नुभयो।
कसरी गरियो परीक्षण ?
लन्डनस्थित इन्स्टिच्यूट अफ क्यान्सर रिसर्चका विशेषज्ञहरू सम्मिलित क्यान्सरको उपचार गर्ने नयाँ पद्धतिहरू पत्ता लगाउन गरिएको अन्तर्राष्ट्रिय अध्ययनको एउटा हिस्साका रूपमा शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन शल्यक्रिया अघि र पछि इम्युनोथेरापी औषधि पेम्ब्रोलिजम्याब दिइएका ३५० जनाभन्दा बढी बिरामीमध्ये लोरा पनि एक हुनुहुन्थ्यो।
ब्रिटेनमा उक्त परीक्षणको नेतृत्व गर्ने प्रोफेसर केभिन ह्यारिङ्टन भन्नुहुन्छ, “हामी प्रतिरक्षा प्रणालीलाई ट्युमरलाई राम्रोसँग चिन्ने मौका दिन्छौँ र त्यसले गर्दा ट्युमर प्रतिरोधात्मक क्षमता उत्पन्न हुन्छ अनि ट्युमर हटाएपछि एक वर्षसम्म निरन्तर औषधि दिएर त्यो प्रतिरक्षासँग सम्बन्धित प्रतिक्रिया दिने क्षमतालाई बढाउँछौँ।”
समान क्यान्सर भएका धेरै बिरामीहरूले सामान्य हेरचाह पाएका थिए। उनीहरू सबैलाई एउटै क्षेत्रमा जटिल खालको टाउको र घाँटीको क्यान्सर थियो तर शरीरको बाँकी भागमा फैलिएको थिएन।
यो नयाँ खालको उपचारसम्बन्धी परीक्षणले सकारात्मक नतिजा देखायो।
यसले बिरामीहरूलाई क्यान्सरमुक्त हुने समयलाई औसतमा लगभग साढे दुई वर्षबाट बढाएर पाँच वर्ष अर्थात् दोबर बनायो।
तीन वर्षपछि उक्त औषधि दिइएका बिरामीहरूमा शरीरको अन्य भागमा क्यान्सर फर्कने जोखिम १० प्रतिशतमा सीमित भयो।
छ वर्षपछि पनि लोराले पूर्ण रूपमा काम गरिरहनुभएको छ। उहाँ आफू ‘राम्रो ठाउँमा रहेको र साँच्चै राम्रो गरिरहेको’ बताउँनुहुन्छ।
“यो मेरो लागि असाधारण कुरा हो किनकि म यहाँ छु र तपाईँसँग कुरा गर्न सक्षम भएकी छु।”
“मैले यति टाढासम्म आउने अपेक्षा गरेकी थिइनँ। जुन बेला मेरो रोगको निदान भयो त्यो समय निकै भयानक थियो।”
उहाँको देब्रे हातबाट मांसपेशी निकालेर उनको जिब्रो हटाइएको खाली ठाउँ भर्न उनको मुखमा राखिएको थियो। त्यो निकै कठिन यात्रा हो।
“यो अद्भुत इम्युनोथेरापीले मलाई फेरि मेरो जीवन फिर्ता दिएको छ”, उहाँले भन्नुभयो।
अनुसन्धानकर्ताका अनुसार उहाँहरूको नतिजाको मुख्य कुरा भनेको शल्यक्रियाअघि बिरामीहरूलाई औषधि दिनु हो। त्यसले शरीरमा क्यान्सर फिर्ता आए त्यसलाई पत्ता लगाउन र त्यसलाई मार्न प्रशिक्षित गर्छ।
प्राध्यापक ह्यारिङ्टन इम्युनोथेरापीले क्यान्सरका बिरामीहरूको ‘संसार परिवर्तन गर्न सक्ने’ बताउँछन्।
“यसले शरीरभरि क्यान्सर फैलिने सम्भावनालाई व्यापक रूपमा कम गर्छ। अनि त्यस्तो पनि कुन बेला हुन्छ भने जुन बिन्दुमा यस ृक्यान्सरे को उपचार गर्न अविश्वसनीय रूपमा कठिन भएको हुन्छ”, उहाँले भन्नुभयो।
प्रत्येक वर्ष यूकेमा लगभग १२ हजार ८ सय जति टाउको र घाँटीको क्यान्सरका नयाँ घटनाहरू निदान गरिन्छन्।
केही बिरामीका लागि यस्तो उपचारले ूविशेषगरी राम्रोू काम गरेको छ। तर परीक्षणमा रहेका सबै बिरामीहरूलाई फाइदा पुर्याएको उपचार हेर्नु चाहिँ ‘वास्तवमै रोमाञ्चक’ भएको प्रोफेसर ह्यारिङ्टनले बताउनुभएको छ। उहाँले अब यो एनएचएसमा उपलब्ध गराउनु पर्नेमा जोड दिनुभएको छ।
उक्त परीक्षण र अध्ययनको नतिजा अमेरिकन सोसाइटी अफ क्लिनिकल ओन्कोलोजी (एएससीओ)को वार्षिक बैठकमा प्रस्तुत गरिँदै छ।
किनोट भनिएको उक्त परीक्षणमा २४ देशका १९२ अस्पतालहरूलाई संलग्न गराइएको थियो।
त्यसको नेतृत्व चाहिँ सेन्ट लुइसस्थित वाशिङ्टन युनिभर्सिटी मेडिकल स्कूलले गरेको थियो र त्यसको लागत औषधि कम्पनी एमएसडीले बेहोरेको थियो।


















