काठमाडौ, २५ जेठ । काठमाडौंमा सम्पन्न ‘ओपन जुडो च्याम्पियनसिप – २०२५ ‘मा सञ्जित डंगोल, प्रमोद मण्डल, मनिता श्रेष्ठ प्रधान र दिलकुमारी छन्त्यालले ‘बेस्ट अफ दि बेस्ट’मा उपाधि जितेका छन् ।
काठमाडौं खुसिँबुस्थित मल्टिपर्पोज मार्शल सेन्टरमा भएको प्रतियोगिताको महिला ५७ केजी मुनि तौल समूहमा नेपाल पुलिस क्लबकी मनिताले प्राइम जुडोकी पेमा याङजी शेर्पालाई पराजित गर्दै स्वर्ण पदक जितिन् । पुलिसकी प्रतिभा पुलामी मगर र एपिएफकी रत्ना तामाङ संयुक्तरुपमा कास्य पदक प्राप्त गरिन् ।
महिला ७८ केजी मुनि तौल समूहमा दिलकुमारले फाइनलमा त्रिभुवन आर्मी क्लबकी निर्मला घर्ती मगरलाई हराइन् । पुलिसकी निशा चौधरी र आर्मीकी सविना श्रेष्ठले कास्य पदक प्राप्त गरे ।
पुरुष ७३ केजी मुनि तौल समूहमा एपीएफका प्रमोदले फाइनलमा रसुवाका सुनिल नगरकोटीलाई हराए । त्यसमा धीरेन्द्र थारु र भुटानका तान्दिन वाङचुकले कास्य पदक जिते ।
एक सय केजी मुनि तौल समूहमा पुलिसकै सञ्जितले स्वर्ण , मधु रोका मगरले रजत तथा पुलिसका धनबहादुर आले र आर्मीका राजेश चौधरीले कास्य पदक जिते ।
प्रतियोगितामा एपीएफ, क्लोज प्रोटेक्सन जुडो डोजो (सीपीजे), मल्टिपर्पोज मार्शल आर्ट सेन्टर (एमएमएसी), पुलिस, प्रिजनर्स असिस्टेन्स मिसन (प्याम), प्राइम जुडो डोजो (पीजेडी), पारा जुडो डोजो (नेपाल सेना), रसुवा, आर्मी,सहित दुई विदेशी त्रि फोर्स जुडो क्लब (भुटान) र जुडो क्लब रिज्मोन्ड जुडो (नेदरल्यान्ड्स) का खेलाडीको सहभागिता थियो ।
विजेता खेलाडीलाई नेपालका लागि फ्रान्सेली राजदूत भर्जिनी कोर्टेवाल र नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले पुरस्कृत गरेका थिए ।


















