Prakash Adhikari June 8, 2025

 

 

एडेनबर्ग(स्कटल्याण्ड), २५ जेठ । आइसीसी विश्वकप लिग टु अन्तरगत स्कटल्याण्डमा भइरहेको त्रिकोणात्मक एक दिवसीय श्रृखला अन्तरगत आज भएको खेलमा घरेलु टोली स्कटल्याण्डले नेपालसामु ३ सय २४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

स्कटल्याण्डको डन्डीमा रहेको फार्थहिल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय २३ रनको विशाल योगफल तयार गरेको थियो ।

स्कटल्याण्डका लागि कप्तान रिचि बेरिङ्टनले शतकीय पारी खेले । कप्तान बेरिङ्टनले १ सय १४ बलमा ६ चौका र ४ छक्काको सहयोगमा १ सय २ रनको जोडे। शतक बनाएका बेरिङ्टन ४८औं ओभरको तेस्रो बलमा गुलशन झाबाट रन आउट भए ।

खेलको सुरुआतमा नेपालले ५.४ ओभरमा २५ रन खर्चिएर २ विकेट लिदै राम्रो लय लिन खोजेको थियो । तर, त्यो लय टिक्न सकेन । तेस्रो विकेटका लागि कप्तान बेरिङ्टन र चार्ली टेयरले ९४ रनको साझेदारी गरे ।

टेयरले ६५ बलमा ९ चौकाको सहयोगमा ६८ रन जोडे । चार्लीलाई नेपालका स्पिन बलर ललित राजवंशीले आउट गराए । चार्ली २२ औं ओभरको पाँचौ बलमा आउट भए । त्यसपछि चौथो र पाँचौ विकेटका लागि खास साझेदारी बन्न सकेन ।

१७ रन जोडेका फिन्ले मक्रिथलाई दीपेन्द्र सिंह ऐरीले आफ्नै बलमा उत्कृष्ट डाइभका साथ क्याच गर्दै पेभेलियन फर्काए । पाँचौ विकेटका रुपमा म्याथ्यु क्रस ३ रनमा आउट भए ।

तर, छैठौं विकेटका लागि कप्तान बेरिङ्टन र माइकल लिस्कले १ सय २५ रनको महत्वपूर्ण साझेदारी गरि टोलीलाई बलियो योगफलमा पुर्याए । लिस्कले ६२ बलमा १२ चौका र ३ छक्काको सहयोगमा अविजित रहँदै ९६ रन बनाए ।

नेपालका लागि पहिलो सफलता करण केसीले दिलाएका थिए । तीव्र गतिका बलर करणले शून्य रनमा स्कटल्याण्डका जर्ज मुन्सीलाई आउट गराए । नेपाललाई दोस्रो सफलता पनि करणले नै दिलाए । करणले छैठौं ओभरको चौथो बलमा ब्रेण्डन म्याकमिलनलाई ५ रनमा आउट गराए ।

नेपालले अरु खेलमा जस्तै डेथ ओभरमा धेरै रन खर्चिन पुगेको थियो । नेपालले पछिल्लो १० ओभरमा १ सय २३ रन खर्चिएर १ विकेट लिएको थियो । नेपालका लागि करण र दीपेन्द्रले समान २ तथा ललितले १ विकेट लिए ।

सोमबार भएको भेटमा करण केसीको उत्कृष्ट प्रदर्शनमा नेपालले स्कटल्याण्डलाई १ विकेटले पराजित थियो । त्यो खेलमा नेपालले निर्धारित ५० ओभरको १ बल बाँकी रहँदा २ सय ९७ रनको लक्ष्य पूरा गरेको थियो ।

स्कटल्याण्डसँग असम्भव जस्तै देखिएको खेलमा नेपाल विजयी भएको थियो।अघिल्लो साता दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको थियो।

सिरिजमा नेपाल र स्कटल्याण्डले दुवैको‌ यो तेस्रो खेल हो । स्कटल्याण्ड लगातार दोस्रो जितको लक्ष्यमा छ । स्कटल्याण्डले शुक्रवार नेदरल्याण्ड्सलाई पराजित गरेको थियो ।

चौथो चरणको त्रिकोणात्मक ओडीआई सिरिजमा नेपाली टोलीले चौथो तथा अन्तिम खेल मंगलवार नेदरल्याण्ड्ससँग खेल्नेछ ।

आठ टोली सहभागी लिग टु मा स्कटल्याण्ड १८ खेलमा २२ अंकका साथ चौथो स्थानमा छ । नेपाल १४ खेलमा १० अंकका साथ सातौं स्थानमा छ ।

सन् २०२७ सम्म चल्ने लिगको अन्तिम खेलसम्म शीर्ष ४ उक्लिने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छन् । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोटका लागि प्लेअफ खेल्नुपर्ने छ ।

लिग टु को खेल पछि असार १(१५ जुन) गते आइतवार नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीचमा त्रिकोणात्मक टी २० आई सिरिज हुनेछ ।

Share Now