लण्डन(बेलायत), २० कार्तिक । बेलायतकी महारानी एलिजाबेथसहित संसारका केही धनी तथा शक्तिशाली नेताले कर छल्न गोप्य रूपमा लगानी गरेको खुलासा भएको छ।
बिबिसी प्यानोरामा लगायत संसारका करिब एक सय सञ्चारमाध्यम मिलेर आइतबार राति सार्वजनिक गरेको ‘प्याराडाइज पेपर्स’ बाट उक्त खुलासा भएको हो।
यसमा १ करोड ३४ लाख गोप्य वित्तीय विवरण छानबिन गरिएको छ। ती विवरण कर छल्ने प्रयोजनले गरिएको बाह्य लगानीसँग सम्बन्धित छन्।
प्याराडाइज पेपर्सका अनुसार बेलायती महारानीले १ करोड ३० लाख अमेरिकी डलर बराबरको निजी रकम बाह्य कम्पनीमा लगानी गरेकी छन्। उक्त रकम केमन द्विप तथा बर्मुडाको एउटा कोषमा लगानी भएको पाइएको छ। यसको आम्दानीबाट महारानीले ५० करोड पाउन्ड बराबरको निजी सम्पत्ति व्यवस्थापन गर्दै आएकी थिइन्।