Prakash Adhikari November 7, 2017

ढाका, बंगालादेश १९ कार्तिक । एसीसी यु–१९ एसिया कप क्रिकेटको तयारीका क्रममा बंगलादेश भ्रमणमा रहेको नेपाली यु–१९ क्रिकेट टोलीले अन्तिम अभ्यास खेलमा ६ विकेटको शानदार जित हात पारेको छ ।

आइतबार टस टस जित्दै पहिले ब्याटिङ्ग रोजेको घरेलु टोली बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २२५ रनको योगफल तयार पारेको थियो । बंगलादेशका लागि अमिनुल इस्लामले नटआउट ८० रनको पारी खेले । त्यस्तै मोहम्मद रकिबले ३९ रनको योगदान दिए ।

बलिङ्गतर्फ नेपालका लागि शाहब आलमले ३ विकेट लिए । त्यस्तै अनिल साहले २ विकेट लिए भने दिपेन्द्र ऐरीले १ विकेट हात पारे ।

उता २२६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ४६।३ ओभर खेल्दै ४ विकेटको क्षतिमा २२९ रन बनाएर लक्ष्य भेट्टाएको थियो । यसअघिका दुई अभ्यास खेलमा कमजोर ब्याटिङ्ग प्रदर्शन गरेको नेपालले आइतबार ब्याटिङ्गतर्फ पनि सुधारिएको प्रदर्शन गर्यो ।

नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ९० रनको पारी खेले । त्यस्तै अर्का ओपनरले जितेन्द्र सिंहले ४५ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले नटआउट २७ रनको योगदान दिए । त्यस्तै रोहित पौडेलले २५ रन बनाए ।

खेलमा शानदार इनिङ्ग खेलेका नेपालका आशिफ शेख म्यान अफ दि म्याच समेत घोषित भए ।

एसीसी यु–१९ एसिया कपमा नेपाल बलियो भारत, बंगलादेश र मलेसियासँगै समूह ए मा रहेको छ ।

प्रतियोगिता अन्तरगत नेपालले आफ्नो पहिलो खेल ११ नोभेम्बरमा बंगलादेशसँग खेल्नेछ । त्यस्तै १२ नोभेम्बरमा भारतसँग भिड्नेछ भने १४ नोभेम्बरमा मलेसियाको सामना गर्नेछ ।

Share Now

Leave a comment.