Prakash Adhikari July 3, 2025

 

काठमाडौं, १९ आषाढ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था(इप्पान)ले आगामी असोज १ र २ गते नेपालमा पावर समिट आयोजना गर्ने भएको छ ।

नवौं संस्करणको पावर समिट २०२५ ले सरकारले दुई बर्ष अगाडि तय गरेको १२ बर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन र बजारीकरणको राष्ट्रिय लक्ष्य हासिल गर्ने नीति र कार्यक्रमलाई टेवा दिने बताइएको छ ।

समिटको नारा “Mission 28,500 MW: Powering Nepal, Energizing Region” तय गरिएको छ । पत्रकार सम्मेलनमा इप्पानले दिएको जानकारी अनुसार हाल नेपालमा ३ हजार ६ सय २ मेगावाट जडित क्षमताको उत्पादन क्षमतामध्ये २ हजार ९०० मेगावाट निजी क्षेत्रबाट उत्पादन भइरहेको छ ।

विगत २५ वर्षको अवधिमा निजी क्षेत्रले १३ खर्ब रुपैयाँ लगानी गरिसकेको छ भने ५० खर्ब रुपैयाँ लगानीको तयारीमा रहेको बताइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संरक्षकत्व, भारतीय दूतावासको साझेदारी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूको सहकार्यमा समिट आयोजना हुँदैछ । प्रधानमन्त्री, विभिन्न देशका विशिष्ट अतिथिहरू, लगानीकर्ता, कूटनीतिज्ञ, विज्ञ र सरोकारवालाहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

समिटमा नेपाल तथा दक्षिण एसियाका ऊर्जा सुरक्षासम्बन्धी विषयहरू, अन्तरदेशीय पूर्वाधार विस्तार, हरित ऊर्जा व्यापार, कार्बन व्यापार, जलवायु अनुकूलन, वित्तीय उपकरण विकास लगायत विषयमा बहस गरिनेछ । साथै, ऊर्जा मार्गचित्र–२०८१ कार्यान्वयन र नेट जिरो इमिसन लक्ष्यप्रति नेपालको प्रतिबद्धता बलियो बनाउने अपेक्षा गरिएको छ ।

इप्पानले सम्मेलनलाई नीतिगत बहस, अनुभव आदान–प्रदान तथा मार्गनिर्देशनको थलो बनाउने लक्ष्य राखेको छ ।

Share Now