वाशिङ्गटन डिसी(संयुक्त राज्य अमेरिका), १३ कार्तिक । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना प्रविधिसम्बन्धी काम गर्ने फ्युजमेसिन्स नामक कम्पनीको अमेरिकाको प्रतिष्ठित नास्डाक स्टक एक्सचेञ्जबाट शेयर कारोबार सुरु भएको छ।
नेपाली उद्यमी डा समीर मास्केले स्थापना गर्नुभएको बौद्धिक कृत्रिमता (आर्टिफिसियल इन्टेलिजेन्स) सम्बन्धी काम गर्ने उक्त कम्पनीले दुई वर्षअगाडि गरेको ‘मर्जर’ पश्चात् गत बिहीबारदेखि फ्युज नामबाट धितोपत्र कारोबार गर्न सफल भएको हो।
कम्पनीका संस्थापकसमेत रहेका डा मास्केले भन्नुभएको छ, “नवीनतम सोच र अवधारणाले कम्पनीको सानो समूहबाट यो उपलब्धि हासिल गर्न सफल भएकामा आगामी दिनमा अझै व्यापक बनाउन हामीहरुलाई प्रेरित गर्नेछ।”
विश्वको प्रमुख वित्तीय साधन परिचालन गर्ने कम्पनीमा सूचीकृत भएर कारोबार गर्न पाउनु महत्वपूर्ण उपलब्धि भएको डा मास्केले बताउनुभयो। उक्त कम्पनीको स्टक कारोबारमा फयुज नामले सूचीकृत छ।
कम्पनीमा हाल ३ सय ५० कर्मचारीले काम गरिरहेका डा मास्केले जानकारी दिनुभएको छ। त्यसमध्ये २ सय ६० जना नेपालमा कार्यरत छन्।
यसैबीच नास्डाकले विज्ञप्ति प्रकाशित गर्दै सिएसएलएम एक्विजेसन कम्पनी र फ्युजमेसिन इन्क बीच साझेदारीसम्बन्धी प्रक्रिया पूरा भएको र बिहीबारदेखि नास्डाक पुँजीबजारमा कारोबार हुने उल्लेख गरेको थियो।
यो सँगै नेपालीले स्थापना गरेको कम्पनीले विश्वबजारमा प्रवेश पाएको छ भने लगानीकर्ताका लागि अवसरसमेत सृजना गरेको छ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा डा समीर मास्के र प्रमुख वित्त अधिकृतमा क्रिष्टिन च्याम्बर्स रहनुभएको छ। मर्जरपश्चात् कम्पनीको सञ्चालक समितिमा समीर मास्के, भरत क्रिस, टिम गोचर, सञ्जय श्रेष्ठ र सलमान आलम रहनुभएको छ।
डोल्मा इम्प्याक्ट फन्डले आफूले लगानी गरेर प्रबद्र्धन गरेको फ्युजमेसिन्स अमेरिकी स्टक मार्केट नास्दक मा सूचिकृत भएकोमा खुसी व्यक्त गरेको छ ।
यो कम्पनीको २८० मिलियन डलरको आईपीओ जारी भएको थियो ।
डोल्मा इम्प्याक्ट फण्डले २०१८ मा फ्युज मेसिन्समा पहिलो पटक लगानी गरेको डोल्माले उत्तरी अमेरिका, नेपाल र ल्याटिन अमेरिकामा यसको विस्तारलाई सघाउन महत्वपूर्ण भूमिका खेलेको थियो । जसमा १,००० भन्दा बढी इन्जिनियरहरूलाई एआई तालिम दिने शिक्षा कार्यक्रमहरू समावेश थिए। फ्युजमेसिनको सफलताले विकासशील अर्थतन्त्रहरूबाट नवप्रवर्तन र दिगो प्रभावलाई प्रवर्द्धन गर्ने डोल्माको मिशनलाई प्रतिबिम्बित गरेको उसले जनाएको छ।


















