Prakash Adhikari January 21, 2026
  • गनी अन्सारी/ बीबीसी न्यूज नेपाली

काठमाडौं, ८ माघ । आसन्न प्रतिनिधिसभा चुनावका लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवारी दिएकामध्ये स्वतन्त्र उम्मेदवारको सङ्ख्या एकतिहाइ रहेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार देशभरि कुल ३ हजार ४ सय ८७ जनाले उम्मेदवारी दिँदा झन्डै १ हजार २ सय जनाभन्दा बढी व्यक्ति स्वतन्त्र उम्मेदवार बनेका छन्।

स्वतन्त्र उम्मेदवारी दिनेहरूमा आफैँलाई भोट नहाल्न अपील गर्नेदेखि दलबाट टिकट नपाएपछि बागी बनेका व्यक्तिसम्म छन्। निर्वाचन गराउन गठित अन्तरिम सरकारका शिक्षामन्त्री महावीर पुन पनि राजीनामा दिएर गृहजिल्लामा उम्मेदवार बन्नुभएको छ। अन्तरिम चुनावी सरकारबाट राजिनामा दिएर चुनावी दौडमा निस्कनेमा ऊर्जा,सिंचाई र जलस्रोत, शहरी विकास, भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी छोडेर उज्यालो नेपाल पार्टीको अध्यक्ष बन्नुभएका कुलमान घिसिड., युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुभएका बब्लुप्रसाद गुप्ता र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्हाल्नुभएका जगदिश खरेल पनि हुनुहुन्छ ।

फागुन २१ गतेका लागि तय भएको संसदीय निर्वाचनका लागि उम्मेदवार उठाएका राजनीतिक दलहरूको सङ्ख्या ६८ वटा रहेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनमा उम्मेदवार बन्न १०,००० रुपैयाँ जमानत राख्नुपर्छ। तर विगतका निर्वाचनहरूमा निकै न्यून सङ्ख्यामा मात्र स्वतन्त्र उम्मेदवारहरू विजयी भएका छन् भने अधिकांशको जमानत नै जफत भएको देखिन्छ।

अधिकांश उम्मेवारहरू जित्नका लागि भन्दा पनि भिन्न कारण वा उद्देश्यले चुनावमा सहभागी हुने गरेको बताइन्छ। बीबीसी न्यूज नेपालीले कुरा गरेका केही विज्ञहरूले त्यस्ता कारणमा पार्टी वा पार्टीले उठाएका आधिकारिक उम्मेदवारसँगको असन्तुष्टिदेखि च्याँखे थाप्ने प्रवृत्तिसम्म पर्ने औँल्याएका छन्।

थरीथरीका उम्मेदवार

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका भूतपूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन बेनीमा आफ्नो आत्मकथाको पुस्तक बिक्री र चुनाव प्रचारप्रसार गर्दै हुनुहुन्छ ।

ललितपुर ३ बाट उम्मेदवारी दिएका राधेश्याम खड्काले उहाँ स्वयंलाई मत नहाल्न मतदातालाई अपील गर्नुभएको छ।

“स्वतन्त्रबाट जित्न गाह्रै छ। राम्रा उम्मेदवार मतदाता आफैँले छानून् भनेर मैले मलाई नै भोट नहाल्नूस् भनेको हुँ”,ू बीबीसी न्यूज नेपालीसँग उहाँले भन्नुभयो ,”राजनीतिक दलका नेताहरू पार्टीभन्दा माथि उठ्न सक्दैनन्। स्वतन्त्र विचारले मात्र देश बन्न सक्छ। यो सन्देश पुर्‍याउनका लागि मैले उम्मेदवारी दिएको हुँ।”

काठमाडौं उपत्यकाकै कुरा गर्ने हो भने काठमाडौं ४ बाट ८७ वर्षीय पूर्वप्रशासक मदनदेव आचार्यले उम्मेदवारी दिनुभएको छ ।

मनोनयन दर्ता गराएपछि पत्रकारहरूसँग मङ्गलवार कुरा गर्दै उहाँले भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

अघिल्ला चुनावमा जस्तै स्वतन्त्र उम्मेदवारी दिनेहरूमा पार्टीबाट विद्रोह गर्नेहरू पनि रहेका छन्।

मधेश प्रदेशको पर्सा २ मा नेपाली कांग्रेसको तर्फबाट टिकटका आकाङ्क्षी रहेका राजेश्वरप्रसाद साहले त्यसो नभएपछि अन्ततः स्वतन्त्र उम्मेदवारी दिनुभयो ।

पुस्तान्तरण र हस्तान्तरणमा जोड दिँदै आएका कांग्रेसका पूर्वमहामन्त्री गगन थापा विशेष महाधिवेशनबाट सभापति चुनिएपश्चात्‌ पनि पुरानै व्यक्तिलाई टिकट दिइएपछि साहले विद्रोह गरेको सुनाउनुभयो ।

“परिवर्तनको कुरा गर्ने तर समय आएपछि तिनै व्यक्तिलाई टिकट दिएपछि युवाले कहिले अवसर पाउने!” बीबीसी न्यूज नेपालीसँग उहाँले भन्नुभयो , “मैले आफ्नो लागि उम्मेदवारी दिएको होइन, युवाहरूका लागि दिएको हुँ। परिर्वतनका लागि मैले उम्मेदवारी दिएको हुँ।”

कसैको दबावमा आएर अथवा कुनै खालको पूर्वाग्रह राखी कसैविरुद्ध उम्मेदवारी नदिएको उहाँको तर्क छ।

कांग्रेसले पर्सा २ बाट फेरि पनि भूतपूर्व कानूनमन्त्री अजयकुमार चौरसियालाई उम्मेदवार बनाएको छ।

छद्म उम्मेदवार

एक भूतपूर्व प्रमुख निर्वाचन आयुक्त र राजनीतिक विश्लेषकले उल्लेख्य सङ्ख्यामा स्वतन्त्र उम्मेदवारी देखिनुका तीन-चारवटा कारण रहेको बताउनुभएको छ ।

छद्म उम्मेदवारहरूले पनि स्वतन्त्र उम्मेदवारीको सङ्ख्या बढाउनमा भूमिका खेलेको पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल बताउनुहुन्छ ।

“प्रोक्सी उम्मेदवार उठाउने अनि चुनावी प्रचारप्रसारका लागि त्यस्ता स्वतन्त्र उम्मेदवारले पाउने सुविधा दलका उम्मेदवारले प्रयोग गर्ने प्रवृत्ति पनि देखिन्छ”, बीबीसी न्यूज नेपालीसँग उहाँले भन्नुभयो ।

पोखरेलका अनुसार आफूलाई फाइदा पुग्ने गरी दलकै कतिपय उम्मेदवारले नै स्वतन्त्रका नाममा त्यसरी छद्म उम्मेदवार उठाउने गरेका पाइन्छ।

त्यसबाहेक केही उम्मेदवारहरूले आफ्ना बलिया प्रतिस्पर्धीको भोट काट्न सक्ने व्यक्तिलाई चुनाव उठ्न लगाउने र अन्ततः मतपरिणाममा त्यसको लाभ आफूले पाउने स्थिति सिर्जना गर्ने गरेको पनि बताइन्छ।

टिकट नपाएपछि विद्रोह

पछिल्ला वर्षहरूमा आफ्नै राजनीतिक पार्टीबाट टिकट पाउनु ठूलो कुरा हुन थालेको स्वयं नेताहरू नै स्वीकार गर्छन्।

पहुँच, प्रभावलगायतका आधारमा दलका नेतृत्वहरूले टिकट बाँड्ने थालेको आरोप सार्वजनिक रूपमा नेताहरूले लगाउने गरेका छन्।

पार्टी, सङ्गठनमा योगदान हुँदाहुँदै पनि टिकट नपाउने भएपछि असन्तुष्ट भएर पनि स्वत्नत्र उम्मेदवारी दिने गरिएको पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको ठम्याइ छ।

“एउटा सिस्टमबाटै उम्मेदवार हुन पाउने आसमा बसेका व्यक्तिले त्यस्तो नपाएपछि बागी भएर स्वतन्त्र उम्मेदवारी दिने गर्छन्”,उहाँले भन्नुभयो ।

राजनीतिक विश्लेषक राजेन्द्र महर्जन पनि पार्टीले टिकट नदिँदा विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिने प्रवृत्ति देखिएको बताउँछन्।

त्यसो त केही पार्टीका नेताहरूले टिकट लिनै अर्को पार्टी प्रवेश गर्ने र उम्मेदवार बन्ने प्रवृत्तिले यसपालि पनि निरन्तरता पाएको देखिन्छ।

मोलमोलाइका लागि

दल तथा उम्मेदवारसँग मोलमोलाइ पनि स्वतन्त्र उम्मेदवारीको एउटा कारण रहेको जानकारहरू बताउँछन्।

“बार्गेनिङका लागि पनि यसले स्थान दिने रहेछ”, विश्लेषक महर्जनले बीबीसी न्यूज नेपालीसँग भन्नुभयो ।

त्यसमा पूर्वप्रमुख आयुक्त पोखरेल पनि सहमति जनाउनुहुन्छ ।

“धेरै उम्मेदवारहरू भएपछि विभिन्न मान्छेले छोडिदेऊ छोडिदेऊ, मेरो पक्षमा उभिऊ भन्छन् अनि उस स्वतन्त्र उम्मेदवारेले बार्गेनिङ गर्न पाउने भयो”, उहाँले भन्नुभयो ।

त्यस्ता प्रवृत्तिका मानिसहरू पनि स्वतन्त्र उम्मेदवारी दिनेमा देखिने गरेको पोखरेल बताउनुहुन्छ ।

प्रतिष्ठाको लोभ र पछिल्लो लहर

अघिल्लो प्रतिनिधिसभा र स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका कतिपयले जितेका कारण पनि त्यसको लहर चलेको हुन सक्ने विश्लेषक महर्जनको ठम्याइ छ।

“पार्टीहरूका विरक्तिएका मानिसहरूको मत पाउन सकिन्छ भन्ने आकलन बढेको पनि देखिन्छ। गैरराजनीतिक व्यक्तिका लागि यो एक खालको ठाउँ हो भन्ने बुझाइ रहेको देखिन्छ”, उहाँले भन्नुभयो ।

पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलका अनुसार सामाजिक रूपमा प्रतिष्ठा कमाउनका लागि पनि कतिपय मान्छेले स्वतन्त्र उम्मेदवारी दिने गरेको देखिन्छ।

“म त यो बेलाको प्रतिनिधिसभाको स्वतन्त्र उम्मेदवार हुँ भनेर चिनाउनलाई पनि दिने गरेको प्रवृत्ति छ”, उहाँले भन्नुभयो ।

चुनौती थप्छ

चुनावमा स्वतन्त्र उम्मेदवारहरू धेरै हुन थालेपछि निर्वाचनलाई पनि त्यसले समस्या थप्ने पोखरेल तर्क गर्नुहुन्छ ।

“धेरै स्वतन्त्र उम्मेदवारहरू भएपछि मतपत्र पनि ठूलो बनाउनुपर्‍यो। हरेक उम्मेदवारका प्रतिनिधिलाई मतदानस्थलमा, मतगणनास्थलमा राख्नुपर्‍यो। हरेक उम्मेदवारका लागि प्रशासकीय काम थपिने भयो नि त !”,  उहाँले भन्नुभयो , “कुल मतको एक-दुई प्रतिशत पनि नपाउने उम्मेदवारहरूको सङ्ख्या बढ्दै जान्छ। यो धेरै प्रोत्साहित गर्ने विषय होइन।”

स्वतन्त्र व्यक्तिहरू जितेर आएपछि जे पनि गर्न सक्ने भन्ने कुरा घातक पनि हुन सक्ने विश्लेषक महर्जनको बुझाइ छ।

“यो एक खालको जुन लोकप्रियतावादी प्रवृत्ति बढेको छ त्यसले हामीलाई एकल तानाशाहको खोजीतिर लैजाने हो कि भन्ने डर हुन्छ”, उहाँले भन्नुभयो ।

स्वतन्त्र भएर एक्लैले गर्न सक्ने राजनीतिक अझै नेपालमा चल्ने सम्भावना नदेखेको महर्जन बताउनुहुन्छ ।

Share Now