Prakash Adhikari February 14, 2026

काठमाडौँ, २ फागुन। आज फेब्रुअरी-१४ अर्थात् विश्वभर प्रेम र स्नेह साटासाट गर्ने दिनका रूपमा मनाइने ‘भ्यालेन्टाइन डे’ नेपालमा पनि उत्साहका साथ मनाइँदै छ । पछिल्लो समय यो दिवस केवल एक दिनमा सीमित नरही सामाजिक तथा सांस्कृतिक रूपमा स्थापित पर्वकै रूपमा विकसित हुँदै गएको छ ।

विशेषगरी युवायुवतीबिच लोकप्रिय बनेको यस दिन प्रेमीप्रेमिकाले एकअर्कालाई फूल, कार्ड, चकलेटलगायत उपहार आदानप्रदान गर्ने तथा आफ्ना भावना अभिव्यक्त गर्ने चलन बढ्दो छ । सामाजिक सञ्जालको प्रभावसँगै भ्यालेन्टाइन डे मनाउने शैली पनि आधुनिक र आकर्षक बन्दै गएको देखिन्छ ।

‘भ्यालेन्टाइन डे’ मनाउने परम्परा तेस्रो शताब्दीका सन्त भ्यालेन्टाइनसँग जोडिएको विश्वास गरिन्छ । रोमन शासक क्लोडियसले सैनिकलाई विवाह गर्न रोक लगाएपछि सन्त भ्यालेन्टाइनले त्यसको विरोध गर्दै गुप्त रूपमा विवाह गराइदिएका थिए । यही कारण उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । उनको बलिदान र प्रेमप्रतिको समर्पणको सम्झनामा यो दिवस मनाउने परम्परा सुरु भएको मानिन्छ ।

नेपालमा पनि भ्यालेन्टाइन डे अघि एक सातासम्म विभिन्न ‘डे’ हरू मनाउने चलन बढ्दै गएको छ। फेब्रुअरी ७ देखि सुरु हुने यस सप्ताहमा ‘रोज डे’, ‘प्रपोज डे’, ‘चकलेट डे’, ‘टेडी डे’, ‘प्रमिस डे’, ‘किस डे’ र हग डे हुँदै अन्ततः ‘भ्यालेन्टाइन डे’ मनाइन्छ ।

मृत्युदन्डअघि जेलरकी दिष्टिविहीन छोरीलाई पत्र

भ्यालेन्टाइन डेबारे विभिन्न इतिहास, कथा र किस्सा सुन्नमा पाइन्छन् । त्यसमध्ये रोमनको एउटा घटना चर्चित छ ।

रोमका सन्त भ्यालेन्टाइनलाई यही दिन मृत्युदन्ड दिइएको विश्वास गरिन्छ । तत्कालिन शासकले उनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रत्येक वर्ष १४ फेब्रुवरीलाई विभिन्न देशहरुमा भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको रुपमा मनाउँछन् । भ्यालेन्टाइन डेको पछाडि दुःखद इतिहास लुकेको छ ।

सन् २७० मा रोमका शासक क्लउडिअस द्वितीय थिए । उनको शासन कालमा रोमनमा विभिन्न अलोकप्रिय र नरसंहार अभियान चलाइएका थिए । त्यसका लागि उनले सेनालाई एउटा मजबुत अंग बनाउने निधो गरे । ठूलो संख्यामा सेनामा माग भए पनि मानिसहरु अनिच्छुक देखिए । आफ्ना पत्नी र परिबारप्रतिको आशक्तिका कारण रोमनी पुरुष सेनामा भर्ती हुन अनिच्छा देखाएको उनले निस्कर्ष निकाले ।

बिहे गरेपछि पुरुषको शक्ति नस्ट र बुद्धि भ्रष्ट हुने उनको मान्यता थियो । त्यसैलाई आधार मान्दै सन्की शासकले रोममा सम्पूर्ण विवाह र इन्गेजमेन्टमा रोक लगाए । क्लउडिअस घोषणाले सन्त भ्यालेनटाइनलाई असह्य भयो । उनले क्लोडियसको विरोध मात्र गरेनन् युवा प्रेमी प्रेमिकालाई गोप्य रुपमा विवाह गर्न उक्साए ।

उनको उक्साहटको पछि लागेर सेनालगायत केहीले विवाह गरे । सर्वसाधारण भड्काएको आरोपमा क्लउडिअसले भ्यालेन्टाइनलाई पक्राउ गर्न आदेश दिए । पक्राउको केही दिनमा नै उनलाई फाँसी सजाय सुनाइयो ।

आदेश पाएको केही दिनमै भ्यालेन्टाइनले कारागारका जेलरकी दृष्टिविहिन छोरीलाई एउटा प्रेम पत्र लेखेका थिए । पत्रको अन्तमा उनलाई सम्बोधन गर्दै फ्रम योर भ्यालेन्टाइन लेखेका थिए । मृत्यु हुनु केही घन्टाअघि उनले जेलरलाई भनेका थिए, ‘म मरेपछि मेरा आँखा दृष्टिविहिन छोरीलाई दिनु ।’

अन्ततः१४ फेब्रुबरीमा भ्यालेन्टाइनलाई शिर छेदन गरेर मृत्युदण्ड दिइएको थियो । उनको सम्झनामा सोही समयदेखि विश्वभरका उनका अनुयायीले भ्यालेन्टाइन डे मनाउन थालेका थिए ।

Share Now