क्वालालम्पुर(मलेसिया), २१ जेठ । एसीसी महिला प्रमियर कपमा नेपाली चेलीहरुले भुटानलाई ५१ रनले पराजित गरेका छन् ।
क्वाललम्पुरस्थित कोलेज टौम्कु जाफर ओभलमा भएको खेलमा टस हारेर ब्याटिड.को निम्तो पाएको नेपालले २० ओभरका निर्धारित खेलमा १ सय १३ रन बनाएको थियो ।
१ सय १४ रनको लक्ष्य पाएको भुटानले निर्धारित २० ओभरको खेलमा ८ विकेटको क्षतिमा ६२ रन मात्र बनाउन सक्यो ।
भुटानको लागि डेछेन वाड.मोले नट आउट ३९, चादो ओमले ११,छिरिड. जाड.मोले ५, सोनामले २, सोनाम चोदेन र छिरिड. चोदेनले १।१ रनको योगदान दिए । भुटानले एक लेगबाई र २ वाइड बलबाट ३ रन अतिरिक्त जोड्यो ।
भुटानलाई रोक्ने क्रममा नेपालका रुविना क्षेत्री बेलबासेले ३, रिया शर्माले २,कविता कुँवर र मनिषा उपाध्यायले १ ।१ विकेट लिए ।
यस पहिले टस हारेर ब्याटिड.को निम्तो पाएको नेपालले २० ओभरमा १ सय १३ रनको योगफल बनाएको थियो।
खेलमा नेपालका टप र मिडल अर्डरका खेलाडीको प्रदर्शन निराशाजनक रह्यो। ९.२ओभरमा ६ विकेटको नोक्सानीमा मात्र ४७ रन बनाएको थियो। नेपालकी ओपनर बिन्दु रावल गोल्डेन डक आउट हुँदा सम्झना खड्का १० रनमा, सोनी पाख्रिन १३ रनमा, कप्तान इन्दु बर्मा ५ रनमा, उपकप्तान पूजा महतो ८ रनमा र रुबि पोद्दार १ रनमा आउट भए।
लगतै कविता कुँवर पनि ३ रनमा आउट भइन्। १२.३ ओभरमा ७ विकेटको नोक्सानी ६७ रन जोड्दै संघर्ष गरेको नेपालको इनिङ्सलाई अनुभवी सीता राना मगर र रुविना क्षेत्रीले भरथेग गरे। उनीहरूले आठौं विकेटको लागि ४० रनको साझेदारी गरे। सीताले २८ बल खेल्दै ६ चौका सहित ३७ रन जोडिन ।लगत्तै रुविना पनि २४ रनमा आउट भइन्।
नेपाललाई भुटान विरूद्ध २० ओभरसम्म क्रिजमा टिक्न समेत संघर्ष गर्नुपर्यो। १८.३ ओभरमा रुबिना आउट भएपछि बाँकी नेपालले थप १ रन पनि जोड्न सकेन । अन्तिम बलमा रिया शर्मा आउट भइन्।
नेपाललाई रोक्ने क्रममा भुटानकी सोनामले ४ ओभरमा मात्र १२ रन दिएर ३ विकेट लिइन् भने छिरिङ जाङमोले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिइन्। अञ्जु गुरुड.ले २ र रिया प्रधानले एक विकेट लिए ।








