काठमाडौं, १८ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको दोस्रो चरणको प्रचारप्रसार अवधि सोमबार मध्यरातदेखि सकिएको छ । सोमबार राति १२ बजेदेखि(मंगलबारको शुरुदेखि) मौन अवधि सुरु भएकाले आजदेखि निर्वाचनको मतदानका समयअवधिसम्म उम्मेद्वारहरु, सम्बन्धित राजनीतिक दल,उम्मेद्वार तिनका समर्थक तथा शुभेच्छुकहरुले सार्वजनिक रुपमा समर्थन वा विरोधमा प्रचारप्रसार गर्न पाउने छैनन् ।
निर्वाचन आयोगले प्रकाशित गरेको निर्वाचन आचार संहिता २०७२को २०७४ असोज २३ गते भएको तेस्रो संशोधनको परिच्छेद १ दफा २ (झ)मा “मौन अवधि” भन्नाले मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मको समय सम्झनुपर्छ भनेर परिभाषित गरेको छ ।
बिहिबार मतदान हुनेभएकोले सो दिनको ४८ घण्टा मंगलबारको आरम्भदेखि हुनेभएकोले आजैदेखि आचारसंहिता लागेको हो । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका प्रचारसामग्री हटाउन आयोगले आग्रह गरेको छ ।
आचारसंहिताको कानूनी हैसियत
निर्वाचन आचारसंहिताको दफा ५ को विषयगत आचरणको उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने विषयगत आचरणको (क) माजुलुस, आमसभा, ¥याली, बैठक, भेला गर्दा पालना गर्नुपर्ने आचरणको(११) मा यस्तो प्रावधान रहेको छ । जसम मतदानको दिनभन्दा ४८ घण्टा अघिदेखि मत परिणामको घोषणा नभएसम्म जुलुस,आमसभा, ¥याली, बैठक वा भेला आयोजना गर्न, नारा लगाउन वा राजनीतिक दल वा यस्तो दलसँग आवद्ध संस्थाको झण्डा, निर्वाचन चिन्ह वा प्रचार प्रसार हुने कुनैसामग्री प्रयोग वा प्रदर्शन गर्न वा गराउन नहुने भनेर स्पष्ट किटानी व्यवस्था छ ।
आचार संहिता उल्लंघन गरेमा निर्वाचन आयोग ऐन २०७३ बमोजिम कारवाही र सजाँय हुने उल्लेख छ । ऐनको परिच्छेद ४ को दफा २२ र २३ मा आचारसंहिताको बारेमा उल्लेख गरिएको छ ।दफा २३ मा भनिएको छ,आचारसंहिता कार्यान्वयन तथा अनुगमन ः (१) दफा २२ बमोजिम आयोगले बनाएको आचारसंहिता पालना भए नभएको सम्बन्धमा आयोगले आवश्यकता अनुसार संयन्त्र निर्माण गरी जाँचबुझ तथा अनुगमन गर्नेछ ।
(२) उपदफा (१) बमोजिम जाँचबुझ वा अनुगमन गर्दा कसैबाट आचारसंहिता पालना नभएको वा उल्लङ्घन भएको देखिएमा त्यस्तो काम तुरुन्त रोक्न वा बदर गर्नका लागि आयोगले सम्बन्धित राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आदेश दिनेछ ।
(३) उपदफा (२) बमोजिम आयोगले दिएको आदेश बमोजिम काम कारबाही नरोक्ने वा बदर नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(४) कुनै उम्मेदवारले आयोगले बनाएको आचारसंहिताको उल्लङ्घन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द गर्न सक्नेछ । यसरी उम्मेदवारी रद्द गर्नु अघि सम्बन्धित उम्मेदवारलाई सफाइको उचित मौका दिनु पर्नेछ ।
यस्तै निर्वाचन आयोग नियमावली को दफा १३ को ४ र ५ मा पनि आचारसंहिता उल्लंघन गरेमा कारबाही हुनेकुरा उल्लेख गर्दै भनिएको छ (४) कसैले उपनियम (१) बमोजिमको निर्वाचन आचार संहिता उल्लङ्घन गरेमा कुनै पनि व्यक्तिले अनुसूची–४ बमोजिम आयोग, निर्वाचन अधिकृत, अनुगमनकर्ता वा अनुगमन टोली समक्ष उजुरी दिन सक्नेछ ।
(५) उपनियम (३) बमोजिम अनुगमन गरी पेश भएको प्रतिवेदन, उपनियम (४) बमोजिम परेका उजुरी वा अन्य कुनै माध्यमबाट कसैले निर्वाचन आचार संहिता उल्लङ्घन गरेको पाइएमा आयोगले ऐनको दफा २३ बमोजिम जरिबाना गर्नेछ ।
त्यस्तै एसएमएस, फेसबुक, भाइबरजस्ता सामाजिक सन्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार नगर्न र उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि आयोगले स्पष्ट निर्देशन दिएको छ ।
प्रचारप्रसारको साँझै समापन
राजनीतिक दलहरु र स्वतन्त्र उम्मेद्वारहरुले मंगलबारदेखि मौन अवधि शुरुहुने भएकोले सोमबार साँझबाटै आआफ्ना प्रचार अभियानलाई समापन गरेका छन् ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा प्रदेश ७ को आफ्नै निर्वाचन क्षेत्र डँडेल्घुराको कार्यक्रममा व्यस्त रहनुभयो भने एमाले अध्यक्ष केपी शर्मा ओली काठमाडौंका वाम उम्मेदवारका सभामा सहभागी हुनुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल पनि आफ्नै निर्वाचन क्षेत्र चितवन क्षेत्र ३ का चुनावी सभामा सहभागी बन्नुभयो ।
मंसिर २१ गते दोस्रो चरण अन्तर्गत ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ सिटका लागि निर्वाचन हुँदै छ ।
१५ हजार ३ सय ४४ मतदान केन्द्रबाट हुने मतदानका लागि बिहिबार बिहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकिएको छ ।
बिहिबार निर्वाचन हुने जिल्लाहरुमा काठमाडौं सहित इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, नवलपरासी (बर्दघाट सुस्तापूर्व) तनहुँ, कास्की, स्याङ्जा र पर्वत नवलपरासी (बर्दघाट सुस्तापश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान बाँके, बर्दिया ,सल्यान, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटी रहेका छन् ।
निर्वाचन आयोगले मतदानका लागि सुरक्षा प्रबन्धसहित मतपत्र छपाइ र ढुवानी कर्मचारी व्यवस्थापन तथा सुरक्षालगायत सबै तयारी पूरा भएको जनाएको छ ।
आयोगले आइतबार नै निर्वाचन प्रयोजनका लागि १ लाख ७५ हजार कर्मचारी परिचालन गरेको छ । कर्मचारीले मतदानस्थल निर्माणदेखि मतदातालाई परिचयपत्र वितरण कार्य सुरु गर्दै छन् । मतदाता स्वयं सम्बन्धित मतदान केन्द्रमा गएर मतदाता परिचयपत्र प्राप्त गर्न सक्नेछन् ।