ढाका(बंगलादेश),१६ असोज । बंगलादेशमा जारी पाँचौ संस्करणको बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपालले मंगलबार ताजिकिस्तानसंग खेल्दैछ । डिफेन्डिङ च्याम्पियन नेपाल रहेको समूह ‘ए’ मा ताजिकिस्तान र प्यालेस्टाइन पनि छन् ।
दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान स्थान बनाउने छन् । नेपाल र ताजिकिस्तानबीचको खेल साँझ ६ः४५ बजे सिलेट रंगशालामा हुनेछ ।
नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले यसपटक अघिल्लो वर्षको प्रतियोगिताभन्दा केही असहज हुने बताए पनि टिमले उपाधिकै लागि खेल्ने जनाएका छन् ।
ढिला गरी बंगबन्धुमा सहभागिता जनाउने निर्णय गरेको नेपालले यही प्रतियोगिताको लागि भनेर एक सातामात्रै प्रशिक्षण गरेको थियो । यही प्रतियोगिताका लागि भन्दै पाँच वर्षपछि सुरु भएको शहीद स्मारक ए डिभिजन लिग फुटबल पनि स्थगित भएको छ ।
प्रशिक्षक महर्जनले बंगबन्धुका लागि प्रशिक्षण समयावधि छोटो देखिएपनि टिम करिब तीन महिना अघिबाट नियमित प्रशिक्षणमा रहेका कारण खासै फरक नपर्ने बताएका छन् ।
अघिल्लो संस्करणको च्याम्पियन बन्दा नेपालले पाउनुपर्ने ५० हजार अमेरिकी डलरमध्ये २५ हजार डलमात्रै प्राप्त गरेपछि नेपालले पुरै पुरस्कार रकम नपाए प्रतियोगितामा सहभागिता नजाउने बताएको थियो ।
अखिल नेपाल फुटबल संघ एन्फाले अल्टिमेटम दिएपछि बंगलादेश फुटबल फेडेरसनले तत्कालै पुरस्कारको रकम पुरा गरिदिएपछि नेपालको बंगबन्धु सहभागिता निश्चित बनेको थियो ।
कस्तो छ नेपाल ?
नेपाली टिममा राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द छैनन् । दुवै खेलाडी विदेशी लिगमा खेल्ने भएकाले आफ्नो क्लबको खेलमा नै व्यस्त छन् ।
साफपछि किरणले टीसी स्पोर्ट्सको लागि एक खेल खेल्दै म्यान अफ द म्याच पनि पाइसकेका छन् । यता रोहितले पनि इन्डोनेसिया डर्बीमा गोल गरेका थिए ।
नेपाली टोलीका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले यी दुई खेलाडीको स्थानमा राष्ट्रिय टोलीबाट डेब्यु गर्न बाँकी रहेका दुई खेलाडीलाई टोलीमा समेटेका छन् ।
गोलरक्षकमा मनाङ मर्स्याङदी क्लबमा आबद्ध रहेका विशाल श्रेष्ठ टोलीमा आएका छन् । नेपाल पुलिस क्लबका मिडफिल्डर तेज तामाङले रोहितको स्थान लिनेछन् । दुवै खेलाडी यसअघि एन्फाले साफका लागि घोषणा गरेको प्रारम्भिक टोलीमा समावेश थिए ।
साफको तुलनामा नेपाली टोली केहि कमजोर नै देखिन्छ । किरणको अनुपस्थितिमा विकेश कुथु र एलन न्यौपानेमध्ये एकले गोलपोस्ट सम्हाल्नेछन् । त्यस्तै मिडफिल्डमा भने विशाल राईले सुरुआती रोजाइमा स्थान बनाउने प्रबल सम्भावना छ ।