Prakash Adhikari December 7, 2017

काठमाडौं, २१ मंसिर । प्रतिनिधि तथा प्रदेश सभाको दोस्रो चरण अन्तर्गत ४५ जिल्लामा आज(बिहिबार) भएको निर्वाचनमा ६७ प्रतिशत मतदान भएको छ ।

मतदान सम्पन्न भएपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले सो जानकारी दिनुभएको हो । छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ। दुइवटा मतदान केन्द्रमा निर्वाचन स्थगित गरिएको आयोगले जानकारी दिएको छ ।

 

निर्वाचन आयोगको मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा आयोगले सबैभन्दा बढी मत खसेको जानकारी दिएको छ । गुल्मीमा ७१ प्रतिशत मत खसेको रिपोर्ट छ ।

पहिलो चरणको तुलनामा दोस्रो चरणमा केही बढी मत खसेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए।

मतदानको आंकडा बढ्न सक्ने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए। यसअघि पहिलो चरणमा ६५ प्रतिशत मतदान भएको थियो।

निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौडेलले ‘आयोग संवैधानिक दायित्व पूरा गर्न सफल भएको’ बताए। ‘कुनै व्यक्तिको हताहत नभइकन निर्वाचन सम्पन्न भएको छ’, पौडेलले भने, ‘सुरक्षाकर्मी र गृह मन्त्रालयलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु।’

सबै जिल्लामा शान्तिपूर्ण रुपमा निर्वाचन भएको निर्वाचन आयोगले जनाएको छ। बिहान ७ बजेदेखि ५ बजेसम्मका लागि मतदानको समय तोकिएको थियो। ७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदान भएका छन् ।

दोस्रो चरण अन्तर्गत आज भएको निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताले मतदान गरेका छन्। निर्वाचन सम्पन्न गर्नका लागि आयोगले १ लाख ५५ हजार कर्मचारी मतदान केन्द्रमा खटाएका थिए ।

दुई मतदान केन्द्रको स्थगित

अर्घाखाँचीको एक मतदान केन्द्रमा मतदान स्थगित भएको छ। जिल्लाको सन्धिखर्क नगरपालिका वाड नं। ५ मथुरा माविको ‘क’ र ‘ख’ मतदान केन्द्रको मतदान स्थगित भएको हो ।

मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले हस्ताक्षर नै नगरी मतपत्र दिन थालेपछि उक्त मतदान केन्द्रमा स्थानीयले तोडफोड गरेका थिए।

तोडफोडपछि पुनः निर्वाचन सुरु हुन नसकेपछि निर्वाचन आयोगले उक्त मतदान केन्द्रको मतदान पक्रिया नै स्थगित गरिएको हो।

आयोगले केही दिनपछि उक्त क्षेत्रमा मतदान गर्ने भएको छ।

 

Share Now

Leave a comment.