सानेपा(ललितपुर), १६ कार्तिक । नेपाली कांग्रेसले आज अपरान्ह चियापान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम नेपाली कांग्रेसको केन्द्रीय कार्यालय वीपी नगर सानेपा ललितपुरमा हुनेछ । चियापानको लागि अपरान्ह १ देखि ५ बजेसम्मको समय निर्धारण गरिएको छ ।
देशमा रहेका सबै राजनीतिक शक्ति, तह र तप्काका जनताकाबीच आपसी सद्भाव अभिबृद्धि गर्ने उद्देश्यले बीपी कोइरालाले आरम्भ गर्नुभएको यो परम्परालाई उहाँको देहावसानपछि पनि नेपाली कांग्रेसले निरन्तरता दिंदै आएको छ ।
आपसी सद्भाव अभिबृद्धिको माध्यम मानिएको यो परम्परालाई नेपालका अत्य राजनीतिक दलहरुले पनि अनुकरण गर्न थालेका छन् ।
वि.सं. २०३३ सालमा नेपाली कांग्रेसका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बी.पी.कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले जलपान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा कायम राख्दै आएको छ ।
नेपाली कांग्रेसले यस वर्ष पनि सो परम्परालाई निरन्तरता दिंदै विजया दशमी, दिपावली, नेपाल सम्वत्, छठ लगायत पर्वहरुको अवसरमा २०७५ कात्र्तिक १६ गते अपरान्ह १ः००—५ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालय बी पी स्मृति भबन बी. पी. नगर, ललितपुरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभएको छ ।
मुख्य सचिव पौडेलका अनुसार उक्त कार्यक्रममा राजनीतिक दलका नेताहरु, नेपाल सरकारका मन्त्रिपरिषद्का सदस्यहरु, सांसदहरु, संबैधानिक निकायका प्रमुखहरु, नेपाल सरकारका बिशिष्ट श्रेणीका राष्ट्रसेवकहरु, सुरक्षा निकायका प्रमुखहरु, कुटनीतिक नियोगका प्रमुखहरु, उधोगपति एवं व्यबसायीहरु, पेशागत एवं बुद्धिजीवीहरु, नागरिक समाजका अगुवाहरु, मानव अधिकारकर्मीहरु, संञ्चारकर्मी र पत्रकारहरु, गैर–आवासीय नेपालीहरुको संघ–संस्थाका प्रमुखहरु लगायतका बिशिष्ट महानुभावहरु, नेपाली कांग्रेसका सदस्यहरु एवं शुभेच्छुकहरुको सहभागिता रहनेछ ।
नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन यस्तो चियापान कार्यक्रम आयोजना गर्दै आएको भएतापनि यस बर्ष कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको असामयिक निधनका कारण कोजाग्रत पूर्णिमाको लागि निर्धारित चियापान कार्यक्रम आज कार्तिक १६ गतेका लागि सारिएको हो ।


















