काठमाडौं, १५ कार्तिक । नेपाल पर्वतारोहण संघको ४५ औं बार्षिकोत्सव सम्पन्न भएको छ । सन १९७३ को नोभेम्बर १ मा स्थापना भएको संघले नेपाल पर्यटन बोर्डमा एक शान्त कार्यक्रमको आयोजना गरी बिहिबार आफ्नो स्थापना दिवस मनाएको हो ।
समारोहमा प्रमुख अतिथि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले ४५ बर्षको अवधिमा संघले नेपालको पर्यटनको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै विश्वका पर्वतारोहीको नजरमा पर्न नसकेका हिमालयहरुको प्रबर्धनमा संघले अझै योगदान गर्न सक्ने बताउनुभयो ।
उहाँले नेपालका करिब १३ हजार हिमाल मध्ये हालसम्म १३ सय हिमालको मात्र तथ्यांक आधार बनेको र पर्वतारोहीको ध्यान तिनैमा मात्र केन्द्रीत रहेकोले यो क्षेत्रको विकास र विस्तारमा काम गर्न प्रशस्त ठाँउ रहेको बताउनुभयो ।
उहाँले नेपाल पर्वतारोहण संघलाई पर्यटकहरु पुग्न नसकेका प्रदेश नं ६ र ७ का हिमालहरुमा पर्वतारोहणका गतिविधि बढाउदै पर्यटक पुर्याउन पनि संघको नेतृत्वलाई आग्रह गर्नुभयो ।
कार्यक्रमका संघका संस्थापक शम्भु तामाड.ले पर्वतारोहण तालिम दिन र पर्वतारोहीहरुका समस्या समाधानका लागि पञ्चायत कालमा धेरै जुक्तिबुद्धि लगाएर संघको स्थापना गरिएको बताउनुभएको थियो ।
उहाँले अन्नपूर्ण आरोहणको साथसाथै नजरमान सिंह, छिरिड. तेञ्जिड. लामा र गजानन्द वैद्यले हिमालयन सोसाईटी खोले तापनि त्यो औपचारिक रुपमा दर्ता हुन नसकेको र सन् १९५३ को मे २९ मा सगरमाथाको सफल आरोहणपछि पर्वतारोहणका गतिविधि बढ्न थालेकोले परराष्ट मन्त्रालयसंग यस सम्बन्धी काम गर्ने संस्था खोल्ने अनुमति माग्न जाँदा तात्कालिन सचिव यादवकान्त सिलवालले कुमार खड्गविक्रम शाह तार्केध्याड. जाने कार्यक्रम रहेकोले त्यही गएर उहाँलाई मनायो भने यस्तो संगठन स्थापना हुन सक्ने अन्यथा अरुले नसक्ने सुझाव दिनुभएकोले सोही अनुरुप सिन्धुपाल्चोक भ्रमणमा जानुभएका कुमार खड्गविक्रमलाई यसको आवश्यकताबोध गराएपछि संस्थाको जन्म भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो संस्था हिमालको काखमा जन्मेको हो । यो संस्था ३ बर्ष खेलकूद परिषद्को भर्याड.मुति र २ बर्ष टान्स हिमालयन टुर्सको भरेड.मुनि बस्यो ।’ डा. हर्क गुरुड. पर्यटन राज्यमन्त्री भएपछि यसलाई ५ हजारमिटर माथि ६ हजार ५ सय मिटरमुनिका १५ हिमाल आरोहणको अनुमति दिने र सोही रोयल्टीबाट सञ्चालन हुने व्यवस्था भएको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले पर्वतारोहण जस्तो जोखिमयुक्त पेशामा लाग्न आवश्यक ज्ञान र सीपलेयुक्त दक्ष जनशक्ति निर्माण गरी पर्वतारोहीलाई नेपालमा आकर्षित गर्न संघले महत्वपूर्ण योगदान गरेको पनि बताउनुभयो । यसका लागि सन १९७९ मा मनाड.मा स्थापना भएको आधारभूत तालिम केन्द्रले ठूलो मद्दत पुर्याएको उहाँको अनुभव रहेको छ ।
कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले संघ पर्वतारोहणमा रुचि राख्ने सबैको साझा संस्थाभएकोले यसको विकासमा सबैको सिर्जनात्मक सहयोगको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
उहाँले पर्वतारोहण नेपालको पर्यटनको मौलिक पहिचान भएकोले यसको विकासको लागि सरकारले विशेष ध्यान दिनुपर्ने र पर्वतारोहण संघले आफूलाई त्यसमा नै समर्पित गर्दै आएको बताउनुभयो । उहाँले ४५ बर्षको यात्रामा संघ विश्वका १२९ देशहरु सदस्य रहेको अन्तराष्टिय पर्वतारोह महासंग (आईएफसी)को सदस्य बनेर सक्रियतापूर्वक विभिन्न गतिविधिमा संलग्न भैरहेको पनि बताउनुभयो ।
उहाँले संघलाई अगाडि बढाउन सबैको साथ र सहयोग आवश्यक रहेको पनि बताउनुभयो ।


















