हेटौडा(मकवानपुर), १६ कार्तिक । प्रदेश ३ का भौतिक योजना तथा शहरी विकास मन्त्री केशव स्थापित बर्खास्त हुनुभएको छ।
स्थापितलाई संविधानको धारा १ सय ६९ को उपारा २ (ख) बमोजिम मुख्यमन्त्री डोरमणि पौडेलले बर्खास्त गर्नुभएको हो ।
उहाँको मन्त्रालय अब मुख्यमन्त्री पौडेलले नै सम्हाल्नुहुने भएको छ ।
संविधानको धारा १ सय ६९को उपधारा २ (ख)मा मुख्यमन्त्रीले पदमुक्त गरेमा मन्त्रीको पद रिक्त हुने व्यवस्था छ।
बुधबारको मन्त्रिपरिषद बैठकमा स्थापितले मुख्यमन्त्री पौडेललाई पदअनुकूलको आचरण नगरेपछि मुख्यमन्त्री पौडेलले स्थापितकोबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत अन्य नेताहरूसँग परामर्श गर्नुभएको थियो ।
मुख्यमन्त्री पौडेलले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिक्षण अस्पतालको मनमोहन कार्डियो भाष्कुरल थोरासिस तथा टान्स्प्लान्ट सेन्टरमा भेटेर भौतिक योजना तथा शहरी विकास मन्त्रीसंग काम गर्न कठिनाई भएको र उहाँमाथि यौन दूराचारको आरोप पनि लागेको बताउनुभएको थियो ।
मुख्यमन्त्री पौडेलपछि प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुग्नुभएका भौतिक योजना तथा शहरी विकास मन्त्री स्थापितलाई प्रधानमन्त्रीले भने भेट नदिई फर्काउनुभएको थियो ।


















