Prakash Adhikari November 6, 2018

सानेपा(ललितपुर), २० कार्तिक । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले विजयकुमार गच्छदारलाई पार्टीको उपसभापति पदमा मनोनित गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकले महासमितिको मंसिर २८ देखि पुस ३ गतेसम्म गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी गरिएको विज्ञप्तिमा जनाइए अनुसार दिपावली, नेपाल सम्बत्, छठ लगायत नेपालीहरुको महत्वपूर्ण चाडपर्वहरु प्रारम्भ भइसकेको र सो समयमा केन्द्रीय कार्यसमितिको बैठक बस्न व्यवहारिक नहुने भएकोले पार्टीको महासमिति बैठकको आवश्यक तयारीको लागि लाग्ने समय समेतलाई ध्यानमा राखी महासमितिको बैठक सारिएको हो ।

कांग्रेसको केन्द्रीय समितिले नेपाली कांग्रेसको सांगठनिक संरचनामा तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका पार्टीगत संरचना एवं भ्रातृ एवं शुभेच्छुक संघ संस्थाको समायोजन सम्बन्धि आवश्यक कार्य गरी केन्द्रीय कार्यसमितिको बैठकमा प्रतिवेदन पेश गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समायोजन समिति गठन गर्ने निर्णय गरेको छ ।

सो समितिलाई केन्द्रीय कार्यसमितिको आगामी बैठकमा प्रतिवेदन पेश गर्ने कार्यादेश दिएको छ ।

मंगलबारको केन्द्रीय समितिको बैठकले नेपाली कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ३८ बमोजिम गठन हुने नेपाली कांग्रेस केन्द्रीय लेखा परिक्षण समितिको संयोजकमा केन्द्रीय सदस्य श्यामकुमार घिमिरेलाई नियुक्त गरेको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिले चितवन जिल्ला भरतपुर स्थित वी.प. कोइराला क्यान्सर अस्पतालको नाममा रहेको जग्गामा व्यापारिक मल र सभागृह वनाउने तयारीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउदै अस्पतालको जग्गा कुनै पनि निकाय वा तहले अन्य प्रयोजनको लागि प्रयोग गर्ने गराउने कार्य गलत भएको ठहर गर्दै त्यस्तो कार्य अविलम्व रोक्न नेपाली कांग्रेस सम्बन्धित पक्षलाई सचेत गराएको छ ।

कांग्रेसले सर्लाही निर्वाचन क्षेत्र नं. ४ को रामनगर गाउँपालिका वडा नं. ४ का नेपाली कांग्रेसका कार्यकर्ता ५५ वर्षीय रामविलास महतोलाई २०७५ कार्तिक १३ गते नेकपाका कार्यकर्ताहरुले गोली हानी हत्या गरेको घट्नाको भत्सर्ना गरेको छ । कांग्रेसले गोली लागेर घाइते भएका वडाका नेपाली कांग्रेसका महादेव राय, विवेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारायण महतो, प्रेमनारायण महतो, मुकेशकुमार कुशवाहा र अघिल्लो दिन नेकपाका कार्यकर्ताहरुको सांघातिक आक्रमणमा परी टाउँकोमा गम्भीर चोट लागेका नेपाली कांग्रेसका विजयी वडा अध्यक्ष रामनरेश महतोलाई गम्भीर घाइते बनाएको घटनाको समेत घोर भत्सर्ना गरेको छ ।कांग्रेसले उक्त हिंसात्मक आपराधिक घटनामा संलग्न दोषीहरुलाई तत्काल गिरफ्तार गरी कानूनी कारवाही गर्न र मृतकलाई शहीद घोषणा गरी घाइतेहरुको निःशुल्क उपचारको प्रबन्ध गर्न सरकारसँग माग पनि गरेको छ ।

कांग्रेसको बैठकले पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको दिपावली, नेपाल सम्वत् र छठ लगायत पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरुमा सदा सुख, शान्ति र समृद्धिको हार्दिक शुभ–कामना पनि व्यक्त गरेको छ ।

कांग्रेसको बैठकले मानव अधिकारवादी, शान्ति प्रकृयाका एक सहजकर्ता तथा पूर्व स्वास्थ्य मन्त्री पद्मरत्न तुलाधरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँको आत्माको चीर शान्तिको कामनासहित शोक सन्तप्त आफन्तजनहरु प्रति हार्दिक समवेदना प्रकट गरेको छ। त्यस्तै डोल्पामा कार्तिक १९ गते भएको जीप दुर्घटनामा परी १० जनाको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेसले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

Share Now

Leave a comment.