Prakash Adhikari November 7, 2018

वाशिंटन(संयुक्त राज्यअमेरिका),२१कार्तिक(बीबीसी) ।   अमेरिकामा संसदीय चुनाव अन्तर्गतका मतदानपछि मतदान केन्द्रहरू बन्द हुन शुरू भएको छ।

चुनावी नतिजाले कंग्रेसमाथि कुन पार्टीको नियन्त्रण हुने र राष्ट्रपति डोनल्ड ट्रम्पका मुद्दा कसरी अगाडि बढ्ने भन्ने कुराको निर्क्योल गर्ने अपेक्षा गरिएको छ।

हाल दुईवटै सदनमाथि ट्रम्पको रिपब्लिकन पार्टी हावी रहेको पृष्ठभूमिमा तल्लो सदनलाई आफ्नो नियन्त्रणमा ल्याउन डेमोक्र्याटिक पार्टी सङ्घर्षत छ।

तल्लो सदन प्रतिनिधिसभाका सबै ४३५ स्थान र माथिल्लो सदन सिनेटका १०० मध्ये ३५ स्थानका लागि चुनावी प्रतिस्पर्धा हुँदैछ।

परीक्षण
त्यस्तै ३६ वटा राज्यमा गभर्नर पदका लागि पनि प्रतिस्पर्धा भइरहेको छ।

हुन त सन् २०२० सम्म राष्ट्रपति ट्रम्प पुनर्निर्वाचित हुनुपर्ने आवश्यकता छैन, तर पछिल्लो चुनावलाई उनको परीक्षणका रूपमा हेरिँदैछ।

ट्रम्प स्वयंले ती निर्वाचन वाक् एवम् धार्मिक स्वतन्त्रताका निम्ति जनमत सङ्ग्रह सरह हुने बताउँदै आएका छन्।

मतदान
इण्डियाना र केन्टकीले सबैभन्दा पहिला चुनावी नतिजा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

विज्ञहरूका अनुसार ५० वर्षयताकै अमेरिकी संसदीय चुनावमा सबैभन्दा बढी मत खस्न सक्ने देखिएको छ।

मुद्दा

रिपब्लिकनहरूले तल्लो र माथिल्लो दुवै सदनमाथिको आफ्नो नियन्त्रण कायम राख्न सके त्यसले राष्ट्रपति ट्रम्पका मुद्दाहरूलाई अगाडि बढाउन सहज हुनेछ।

तर डेमोक्र्याटहरूले एउटा वा दुईवटै सदनमाथि नियन्त्रण गर्न सके त्यसले ट्रम्पका नीतिलाई अवरुद्ध गर्ने वा उल्ट्याउन सक्ने अवस्था आउनेछ।

तल्लो सदन विपक्षीहरूको नियन्त्रणमा गए त्यस्तो अवस्थामा तपाईँ कसरी अगाडि बढ्नुहुन्छ भन्ने जिज्ञासामा राष्ट्रपति ट्रम्पले त्यो जोखिमपूर्ण हुने बताए।

मतदान
सोमवार पत्रकारहरूलाई उनले भने, “त्यस्तो अवस्थामा हामीहरूले अलि फरक ढङ्गले काम गर्नुपर्ने हुन सक्छ।”

महिनौँदेखिको चुनावी अभियान र प्रचार सामग्रीमा अर्बौँ डलर खर्चसँगै मतदाताहरू मतदान केन्द्रसम्म पुगेका हुन्।

फ्लोरिडा विश्वविद्यालयस्थित एउटा सूचना स्रोत युएस इलेक्शन्स प्रोजेक्टका अनुसार शुरूवाती चरणमा झण्डै चार करोड मतदाताले मत खसालेका छन्।

Share Now

Leave a comment.