Prakash Adhikari November 14, 2018

बेनी(म्याग्दी),२७ कार्तिक। जीवन संगिनी सिता दाहालको उपचारको सिलसिलामा सोमबार म्याग्दी आईपुग्नुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले मंगलबारं बिहान म्याग्दी र पर्वतका विभिन्न स्थलहरुको अवलोकन भ्रमण गर्नुभएको छ । मंगलबार बिहान अध्यक्ष प्रचण्डले पर्वत जिल्लाको मल्लाद डाँडामा गएर म्याग्दीको सदरमुकाम बेनीको अवलोकन गर्नुभयो ।

त्यसैगरी उहाँले कालीगण्डकीले कटान गरेको बेनी बजारको तटबन्धको निरीक्षण पनि गर्नुभयो । त्यसैगरी ४० मेगावाट क्षमताको निर्माणाधीन रहुघाट जलविद्युत आयोजनाको निरिक्षण गर्नुभयो । अध्यक्षले मंगलबार बिहान कालिगण्डकी करिडोरेको अवलोकन गर्नुभयो भने म्याग्दीको सबैभन्दा ठूलो धार्मिक पर्यटकीय स्थल गलेश्वरधामको पनि अवलोकन गर्नुभएको थियो ।

अध्यक्ष प्रचण्ड मंगलबार बिहान पनि तातोपानी कुण्डमा स्नानका लागि जानुभयो । अध्यक्ष प्रचण्ड जीवन संगिनी सीता दाहालको उपचारको सिलसिलामा तातोपानी स्नानका लागि म्याग्दी आईपुग्नुभएको हो । प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथ लगायत रोगका बिरामीलाई फाइदा पुग्ने बताइन्छ ।

तीन दिन तातोपानीमा स्नान गरेपछि अध्यक्षसहितको टोली बुधबार साँझ राजधानी फर्कनेछ । राजधानी फर्कनु अघि अध्यक्ष प्रचण्डले स्थानीय पार्टी कार्यकर्ता, उद्योग व्यवसायी र अन्त्यमा संचारकर्मीहरुसँग भेटघाट र छलफल गर्नुहुने कार्यक्रम छ ।

बेनीनगरपालिका(४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, वाथ लगायत रोगका विरामीलाई फाइदा पुग्ने भएकाले मानिसहरु तातोपानीमा नुहाउन आउने गरेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

अध्यक्ष प्रचण्डसँग जीवन संगिनी सीता दाहालसहित, छोरी तथा स्वकीय सचिव गंगा दाहाल प्रमुख स्वकीय सचिव जोखबहादुर महरा ‘प्रताप’ रहनुभएको छ । अध्यक्षका साथमा नेपाल सरकार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उहाँकी जीवन संगिनी नैनकला थापा पनि तातोपानी पुग्नुभएको थियो ।

Share Now

Leave a comment.