काठमाडौं, १ मंसिर । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आइतबार २ बजेसम्मको लागि स्थगित भएको छ ।
शनिबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक दिनभर नेपाल विद्यार्थी संघका पदाधिकारी र सदस्यहरुको नाराजुलुसका कारण साँझ केही मिनेट बसेर स्थगित भएको थियो ।
साँझ केही बेर बसेको बैठकले कुनै पनि निर्णय नगरेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ ।
बैठकमा नेविसंघको १२ औं महाधिवेशन र महाधिवेशनसम्मका लागि बन्ने केन्द्रीय समितिका विषयमा छलफल भएको थियो ।
नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ स्वत विघटनको संघारमा पुगेको छ।
नेविसंघ सभापति नैनसिंह महर नेतृत्वको कार्यसमितिको थप गरिएको समयावधि पनि आज १ मंसिरमा सकिँदैछ। दुई वर्षभित्र महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुपर्ने नेपाल विद्यार्थी संघको म्याद भाद्र १ गते ३ महिनाको लागि थप गरिएको थियो ।
यसबीच नेविसंघले कात्तिक १६ देखि काठमाडौंमा १२ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर पार्टीले संघीय विधान नदिएको भन्दै सो मिति स्थगित भयो। नेविसंघले क्याम्पसका इकाइहरूमा पनि अधिवेशन गर्न सकेको छैन।भए पनि ३२ वर्षे उमेरहदलगायत विवादले नेविसंघले महाधिवेशन गर्न सकेन।
कांग्रेसमा नेविसंघका वर्तमान सभापति नैनसिंह ‘महरको कार्य समितिको म्याद थप गर्ने, समिति भंग गरेर अहिलेकै सभापतिको नेतृत्वमा महाधिवेशनसम्म तदर्थ समिति बनाउने र वर्तमान कार्यसमितिलाई विघटन गरी नयाँ तदर्थ समितिलाई अधिवेशनको जिम्मेवारी दिने तीन विकल्पमा कुरा भैरहेको बताइन्छ ।
फागुनमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएकोले सो भन्दा पहिले नै नेपाल विद्यार्थी संघको महाधिवेशन गर्नुपर्ने दवाव छ । महामन्त्री कुन्दनराज काफ्लेले महाधिवेशन नगरी तदर्थ समिति बनाए आफूहरूलाई स्वीकार्य नहुने बताउँदै आएका छन्।
नेविसंघको महाधिवेशनलाई मध्यनजर राख्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको निर्देशन समिति गठन गर्नुभएको थियो । सो समितिले वर्तमान कार्यसमितिको म्याद तीन महिना थप गरे पनि सो अवधिमा नेविसंघले महाधिवेशन गराउन सकेन् । यद्यपि नेविसंघमा उमेर हद लगाउने सम्बन्धी निर्देशन समितिको प्रस्तावलाई भने नेपाली कांग्रेसले पारित गरिसकेको छ ।
।


















