Prakash Adhikari December 15, 2017

बैंकक(थाइल्याण्ड),२८ मंसिर । थाइृल्याण्डमा जारी एसीसी यु-१६ इस्टर्न रिजन प्रतियोगितामा नेपालले म्यानमारलाई ३ सय ३७ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

टस जितेर ब्याटिंग गरेको नेपालले निर्धारित ३५ ओभरमा बनाएको ३ सय ५० रनको जवाफमा ब्याटिंग गरेको म्यानमारले कम्जोर ब्याटिंग गर्दै ११.३ ओभरमा १३ रन बनाउदा सबै विकेट गुमाएको थियो ।

प्रतियोगितामा नेपाली बलर नारायण जोशी र मेख बहादुर सेनले ४र४ विकेट हात पारेका थिए। नारायणले ३ ओभरमा २ मेडन ओभर सहित मात्र १ रन खर्चिए भने मेखले ३ ओभरमा ४ रन दिए।

म्यानमारको लागि १० औं नम्बरमा ब्याटिंग गरेका हिन टेट अंगले १८ बल खेलेर बनाएको ३ रन सर्बाधिक स्कोर बनेको थियो। खेलमा ७ जना म्यानमार ब्याट्सम्यानले खाता समेत खोल्न सकेनन् भने अन्य ३ जना १ रनमा सीमित रहे ।

सन् २००६ को एसीसी ट्रफीमा पनि नेपालले म्यानमारलाई २ बलमै पराजित गरेको थियो। उक्त खेलमा म्यानमारले पहिले ब्याटिंग गर्दै १२।१ ओभरमा १० रन मात्रै बनाएको थियो जुन लक्ष नेपालले २ बलमै भेटाएको थियो।

यस अघि कप्तान ऋत गौतमले शतक तथा प्रतिस जिसी र तृतराज दासले विस्फोटक इनिंग खेलेपछि नेपालले ३ सय ५१ रनको योगफल तयार पारेको थियो।

प्रतियोगिताकै र व्यक्तिगत पहिलो शतक प्रहार गरेका ऋतले अविजित १ सय ६ रन बनाए जसको लागि उनले मात्र ७८ बलमा १२ चौका प्रहार गरेका थिए। तृत दासले ३ छक्का र ७ चौका प्रहार गर्दै ६४ रनको विस्फोटक इनिंग खेलेका थिए। यस्तै प्रतिस जिसीले पनि मात्र ३१ बलमा १० चौका र १ छक्का मदतल ६३ रन बनाउदै नट आउट रहे।

नेपालले सुरुवातदेखि आक्रामक ब्याटिंग गरेको थियो। ओपनर कुशल मल्लले ३ छक्का र ३ चौका प्रहार गर्दै ३६ रनको इनिंग खेल्दै नेपाललाई उत्कृष्ट शुरुवात दिलाएका थिए। अर्का ओपनर सुवास ऐरले १७ रन योगदान दिंदा पहिलो विकेटको लागि कुशल र सुबासले ५४ रनको साझेदारी गरेका थिए।

ऋत गौतम र बिशाल बिक्रम केसीले तेश्रो विकेटको लागि ७० रनको साझेदारी गरे। बिशाल ४२ रन बनाएर आउट भए। बिशालको विकेट पछि कप्तान ऋत र तृतराज दासले चौथो विकेटको लागि ९९ रनको साझेदारी गरेका थिए। तृत आउट भएपछि नारायण जोशी र अमित कुमार यादबले लगातार विकेट गुमाएका थिए।

छैठौं विकेट गुमेपछि ब्याटिंग गर्न आएका प्रतिस जिसी र ऋत गौतमले सातौ विकेटकको लागि अविजित १ सय १२ रनको साझेदारी गरेका थिए ।

निकै महंगा साबित भएका म्यानमार बलरको तर्फबाट हेन औंगले सर्बाधिक ३ विकेट लिने क्रममा ७ ओभरमा ७० रन खर्चिएका थिए। यस्तै क्याउ मिन, ए मोए र फ्यो ओले एकएक विकेट हात पारे।

नेपाल सेमीफाइनलमा

समुह ‘ए’ अन्तर्गत नेपालले खेलेको ३ वटै खेलमा जित हात पार्दै समुह बिजेताको रुपमा नेपाल सेमीफाइनल प्रवेश गरेको छ। थाईल्याण्डलाई १ सय ३३ रनले र हंगकंगलाई ४ विकेटले पराजित गरेको नेपालले सेमीफाइनलमा डिसेम्बर १६ शनिबार समुह ‘बि’ को उपविजेता मलेसियाको सामना गर्नेछ।

दोश्रो सेमीफाइनल खेल सोही दिन हंगकंगले सिंगापुरको सामना गर्नेछ।

प्रतियोगिताको फाइनल खेल डिसेम्बर १७ आइतबार खेलिनेछ।

Share Now

Leave a comment.