नर्या दिल्ली(भारत), १८ मंसिर । इन्डियन प्रिमियर लिगमा नेपाली बलर सन्दीप लामिछाने खेल्ने दिल्ली डेयरडेभिल्सले टिमको नाम परिवर्तन गरेर दिल्ली क्यापिटल्स् राखेको छ ।
सन् २००८ देखि लिगमा सहभागी हुँदै आएको दिल्ली डियरडेभिल्सले ११ सिजन खेल्दा पनि फाइनलमा पुग्न नसकेपछि नामै फेर्ने कदम उठाएको हो । सन २०१८ मा सम्पन्न खेलमा पनि दिल्लीले १४ खेलमा ५ जित र ९ हार ब्यहोरेको थियो ।
मंगलबार एक समारोहका बीच टिमले नयाँ नाम र लोगो सार्वजनिक गरेको छ।
दिल्लीले आफ्नो नाम सहित ट्यागलाइन समेत परिवर्तन गर्दै “दिस इज न्यु दिल्ली” राखेको छ।सन् २००८ मा जीएमआर ग्रुपले दिल्ली टिमलाई ८४ मिलियन अमेरिकी डलरमा किनेको थियो।
२०१९ मार्च अन्तिम साता आइपिएलको १२ औं संस्करण सुरु हुँदैछ जसको आयोजना स्थल चुवावको कारण भारत भन्दा बाहिर हुने बताईएको छ।
सन् २००८ देखि सुरुवातको २ सिजन लगातार प्रतियोगिताको सेमीफाइनलसम्म पुगेको दिल्ली त्यसपछि सन् २०१२ मा एक पटक मात्र प्ले-अफ चरण पुगेको थियो।
यसै बर्ष सम्पन्न खेलमा खराब प्रदर्शन भएकोले दिल्लीले १० जना खेलाडीहरुलाई रिलिज गरेको छ जसमा गौतम गम्भीर, ग्लेन म्याक्सवेल, मोहम्मद शामी जस्ता खेलाडीहरु छन् भने सनराइजर्स हैदराबादबाट शिखर धवनलाई टिममा भित्र्याईसकेको छ।नेपाली खेलाडी सन्दीपलाई भने दिल्लीले रिटेन गरेको छ ।
आइपीएलको पछिल्लो संस्करणमा नेपाली बलर सन्दीप लामिछानेलाई अक्सनमार्फत २० लाख भारतीय रुपैयाँमा भित्र्याएको दिल्लीले यो बर्ष पनि टिममा निरन्तरता दिएको छ।
सन्दिपले पछिल्लो लिगमा टीम चरणबाट बाहिरिने निश्चित भएपछि मात्र खेल्न पाएका थिए । तर उनले ३ खेलमा ५ विकेट लिदै ६.८३ प्रतिओभर रन दिए।
त्यस क्रममा सन्दिपले मुम्बई इन्डियन्ससंग ३ विकेट तथा रोयल च्यालेन्जर्स र चेन्नाई सुपर किंग्ससंग १/१ विकेट लिएका थिए।
नेपाली लेग स्पिनरले आइपिएलमा बैंगलोर ओपनिङ्ग ब्याट्सम्यान पार्थिव पटेललाई एलबिडब्लु आउट गर्दै पहिलो विकेट लिएका थिए। त्यसपछि चेन्नाई स्टार ब्याट्सम्यान सुरेश रैनाको विकेट लिएका गुग्लि ब्वाईले मुम्बईका काइरन पोलार्ड, क्रुनाल पान्ड्या र सुर्य कुमार यादबको विकेट लिएका थिए।
आईपीएलको सोहि प्रदर्शन पछि सन्दिपले ग्लोबल टि-१० क्यानडा, क्यारेबियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग, टि-१० लिग जस्ता प्रतियोगिता खेलीसकेका छन् भने बिग ब्यास, बंगलादेश प्रिमियर लिग र पाकिस्तान सुपर लिग खेल्न छनौट भइसकेका छन्।
भारतीय क्रिकेट टीममा पनि राम्रा बलरहरुको खाँचो रहिरहेको बताईन्छ ।


















