काठमाडौं, २० मंसिर।’बुद्धिजीवी’प्रति प्रधानमन्त्री केपी ओलीले गरेको टिप्पणीले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया निम्त्याएको छ।
‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले कैयौँ बुद्धिजीवीका असभ्य टिप्पणी आउने गरेको र उनीहरूलाई आफूले जवाफ दिए थला पर्ने बताएका थिए।
उनले भनेका थिए, “त्यस्ता बुद्धिजीवीहरूलाई जवाफ दिँदा उहाँहरू थला पर्ने सम्भावना हुन्छ। उहाँहरूका असलियतहरू बाहिर आउँदा के हुन्छ, अलिक विचार गरे हुने हो।”
कतिपयले त्यसलाई बुद्धिजीवीहरूलाई प्रधानमन्त्रीको धम्कीको रूपमा लिएको पाइन्छ।
प्रतिवाद
एशिया प्यासिफिक सम्मेलनमा सरकारको सहभागिताको आलोचना गर्दै लेख लेखेका राजनीतिशास्त्री प्राध्यापक कृष्ण खनालले बीबीसीसँग कुरा गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति टिप्पणी गरेर भने, “उहाँले यो मुलुकका सबैलाई दास भन्ठान्नुभएको छ।”
प्रधानमन्त्रीले सरकारबाट पेन्सन, सुविधा र भत्ता खानेहरूले जथाभावी अनुत्तरदायी ढङ्गले बोल्ने प्रवृत्ति देखिएको बताउँदै गोपनीयताको वास्ता नगरेको आरोप लगाएका छन्।
खनालले अवकाश पाएका कर्मचारीलाई सरकारको कामबारे टिप्पणी गर्ने हक भएको बताउँदै त्यसको प्रतिवाद गरे।
उनले भने, “उहाँले के खाइरहनुभएको छ? उहाँले आफूखुसी गर्दा त्यसबारे टिप्पणी हुँदा अनुकूल नमान्ने?”
एशिया प्यासिफिक सम्मेलन आफूले पाएको सम्मानबारे गरिएका टिप्पणीप्रति असन्तुष्टि दर्शाउँदै प्रधानमन्त्रीले भनेका छन्, “मसँग सत्यहरूको सम्बन्धमा बहस गर्न इच्छा गर्नुभएको हो कि होइन? उहाँहरूलाई म सोध्न चाहन्छु, जवाफ दिऊँ?”
हास्यास्पद
प्राध्यापक खनालले विगतमा यो भन्दा पनि चर्को चेतावनी नेपाली बुद्धिजीवीले सामना गरिसकेको बताउँदै प्रधानमन्त्रीले चेतावनी दिन खोजेको भए त्यो हास्यास्पद हुने बताए।
उनले भने, “स्वस्थ बहसका लागि त प्रधानमन्त्री हुँदैमा बुद्धिजीवी किन पछि पर्छन् र? उहाँसँग मज्जासँग खुलेआम बहस गर्न सक्छन्।”
विवेकशील साझा पार्टीका प्रवक्ता एवम् पूर्वाधारविज्ञ सूर्यराज आचार्यले पनि ट्वीट गर्दै प्रधानमन्त्रीको बहसको निम्तो स्वीकार गरेका छन्।
'असभ्य' टिप्पणी गर्ने वुद्धिजिवीहरुलाई 'थला' पार्नु पहिले प्रम ज्यु ले बहसका लागि आमन्त्रण गर्नु भएछ। समाजिक सञ्जालमा सरकार र प्रम ज्यु को कार्यशैली बारे 'सभ्य' टिप्पणी/आलोचना गर्ने नागरिक पनि थुप्रै छन्। संवादका लागि उनीहरुलाई पनि आमन्त्रण गर्दा प्रमको हित मै होला।😀 https://t.co/GIMu8y60NL
— Surya Raj Acharya (@SuryaRAcharya) December 6, 2018
उनले भनेका छन्, “सामाजिक सञ्जालमा सरकार र प्रमज्यूको कार्यशैलीबारे ‘सभ्य’ टिप्पणी/आलोचना गर्ने नागरिक पनि थुप्रै छन्। संवादका लागि उनीहरूलाई पनि आमन्त्रण गर्दा प्रमको हितमै होला।”
प्रधानमन्त्रीले दिएको चुनौती स्वीकार गर्दै बुद्धिजीवीहरूले खुला बहसको निम्ति तयार भएको बताए।
तर अब प्रधानमन्त्रीले के गर्लान् भन्ने स्पष्ट छैन।
चासो छ, यो बहस थप तीव्र बन्ला वा यहीँ अन्त्य होला?

प्राध्यापक कृष्ण खनालले प्रधानमन्त्रीको अभिव्यक्ति अरूलाई दास ठान्ने मानसिकताबाट ग्रसित भएको टिप्पणी गरेका छन्
प्रधानमन्त्रीले आफू सार्वजनिक पदमा भएको अनुभव गर्ने हो भने आउने टीकाटिप्पणीले प्रधानमन्त्रीलाई सहयोग पुर्याउने प्राध्यापक खनालको भनाइ छ।
उनले भने, “तर दुर्भाग्य, प्रधानमन्त्रीले त्यसरी बुझ्न चाहनुहुन्न।”
व्यङ्ग्य
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कटाक्ष गर्दै धेरैले सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।
https://twitter.com/NirmalaDhakal4/status/1070651202856251398
तपाईं बुद्दिजिबी हो ?
हो भने थला पर्ने तयारी गर्दै गर्नुहोला 😂😂😂— कला श्री 💑 (@MrSkaushik01) December 6, 2018
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको भनाइ ‘अशोभनीय’ मानेका छन्।
बुद्धिजीवी `थला पर्नेछन्´ अर्थात `थला पार्ने´ कर्म हुनेछ l गरिमामय उचाईबाट यस्तो `धम्की´ बोलिनु शोभनीय भएन !
अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध बोल्नुभन्दा आफ्नो कर्ममा बौद्धिकतालाई स्थान दिनु राम्रो होला कि सम्माननिय @pm_nepal ?
— Bishwa Prakash शर्मा (@bishwaprakash77) December 6, 2018
समाजशास्त्री सुरेश ढकालले लेखेका छन्, “आज बिहान एक मिडियाकर्मी मित्रले फोनवार्ता क्रममा, ‘सरहरूजस्ता बुध्दिजीवी…’ भने, मनमा अनेक तर्कना मडारिन थाले, कताकता रिङ्गटा लागेको जस्तो नि भयो, वाकवाक आउला जस्तो गर्यो, मन शून्य भयो। केही बोल्न सकिन, यत्ति भनेँ कि, मित्र कृपया मलाई बुद्धिजीवी नभनिदिनूस्, धम्की जस्तो सुनिन्छ।”
प्रधानमन्त्रीले यसअघि दिएका अभिव्यक्ति पनि बेलाबखत विवादमा आउने गरेका थिए।
प्राध्यापक खनालले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिलाई उनको स्वाभाविक टिप्पणी भन्दै आश्चर्य नमानेको बताए।
प्रधानमन्त्रीबाट यस्ता अभिव्यक्ति नआएमा पछिल्ला दिनमा बनेको उनको व्यक्तित्व अनुकूल नहुने र आश्चर्य मान्नु पर्ने खनालको टिप्पणी थियो।
(बीबीसी)


















