Prakash Adhikari December 6, 2018

 

काठमाडौं, २० मंसिर । कञ्चनपुरकी १३ बर्षिय किशोरी निर्मला पन्तको हत्याको आशंकामा प्रहरीले प्रकाउ गरेका प्रदीप रावलले साविती बयान दिएको दावी प्रहरीले गरेको छ ।

रावल केही दिनअघि राजधानीबाट पक्राउ परेका थिए । उनलाई गएराति नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल,सिआईबी प्रमुख डीआईजी निरजबहादुर शाही लगायत केही वरिष्ठ प्रहरीहरुको उपस्थितिमा राती २ बजेसम्म बयान लिइएको थियो ।

उनले अपराध स्वीकार गरेकोले उनको डीएनए परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाइएको छ।

रावलको प्रारम्भिक बयानका आधारमा कञ्चनपुरमा पनि केही व्यक्तिलाई पक्राउ भएको दावी गरिएको छ ।

प्रहरी सूत्रले बताए अनुसार कञ्चनपुरबाट पक्राउ परेकामा लागूऔषध सेवनमा संलग्न व्यक्तिहरु छन् । उनीहरुलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ। निर्मलाका छिमेकी रावलका बुबाआमा भारतमा बस्दै आएका छन्। निर्मलाको शव भेटिएको दिनदेखि बेपत्ता भएका रावल चार महिनासम्म भारतमै बसेको र केही दिनअघि मात्र काठमाडौं आएको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको थियो।

प्रहरी सूत्रले निर्मलाको हत्या भएको क्षेत्र लागूपदार्थका दुब्यसनी जम्मा हुने क्षेत्र भएको दावी गरेको छ ।

निर्मलाको शवको मुचुल्का गर्नु पहिलै प्रहरीको इशारा, उपस्थिति र संलग्नतामा नै लाश धोइपोखाली गरिनुले संदेहको घेरामा परेको प्रहरीलाई अहिले पक्राउ परेका संदिग्धहरुको बयान, पृष्ठभूमि र अन्य सत्य तथ्यले कति साथ दिन्छ भन्न सकिने स्थिति छैन् । यसपूर्व प्रहरीले अपराध कबुल गर्न लगाएर दीलिप विष्टलाई सार्वजनिक गराउदा नेपाल प्रहरी नराम्रोसंग विवादमा परेको थियो ।

कञ्चनपुरमा मानव साड.लो

यता निर्मलालाई बलात्कार पछि हत्या गर्ने अपराधीलाई पक्राउ गरी कारबाही गरेर उनको दिवंगत आत्मालाई शान्ति र मरणोपरान्त न्याय दिलाउन अग्रसर नागरिक संघर्ष समितिले बिहिबार कञ्चनपुरको भीमदत्त नगरपालिकामा विशाल मानव साड.लो कार्यक्रम प्रदर्शन गरेको छ । प्रशासनलाई घेर्ने गरेर मानव साँङलो बनाइएको थियो । विद्यार्थी,शिक्षक,सामाजिक अभियान्ता,अभियान कर्मी, मानवअधिकारवादी र सचेत नागरिकहरुको सहभागिता भएको सो कार्यक्रम पछि समितिले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको छ ।

नागरिक संघर्ष समितिका सदस्य एव अधिकारकर्मी शारदा चन्दले निर्मलाले न्याय नपाएका कारण पुनः आन्दोलित भएको बताए । उनका अनुसार शुक्रबार मुखमा सेतोपट्टी बाँधेर प्रशासनको मुल गेटमा धर्ना दिने, शनिबार सार्वजनिक यातायातका सवारी साधनमा निर्मलाका पोष्टर टाँस्ने, आइतबार आँखामा पट्टी बाँधेर प्रशासन अगाडी उभिने, सोमबार परालको निर्मलाको शव बनाएर प्रशासनमा प्रर्दशन गर्ने निर्णय भएको छ ।

यस्तै मंगलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको कार्यालय गेटमा शव प्रर्दशन गर्ने, बुधबार बिहानै शुभप्रभात फेरी गरि होम गर्ने र बिहीबार नागरिक संघर्ष समितिको बैठक आब्हान गरेर अर्को चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने निर्णय भएको छ ।

शीतलनिवास गेटमा प्रदर्शन

निर्मला पन्तको न्यायका लागि राष्ट्रपतिको ध्यानकर्षण गराउन शीतलनिवासको गेट अगाडि धर्ना दिन पुगेका १२ जना युवा युवतिलाई प्रहरीले पक्राउ गरेको छ।

महाराजगञ्जस्थित राष्ट्रपति निवास अगाडि पुगेका जस्टिस फर निर्मलाका अभियन्ताहरूलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ।

Share Now

Leave a comment.