काठमाडौं, २१ पुस । नेपालको क्रिकेटको प्रतिष्ठित घरेलु लिग धनगढी प्रिमियर लिग (डीपीएल)को अक्सन आज(शनिवार) राजधानीको अन्नपूर्ण होटलमा हुँदैछ।
धनगढी प्रिमियर लिगतेश्रो संस्करणको प्रतियोगिता यही माघ २६ गते देखि फाल्गुन ११ गतेसम्म धनगढीमा आयोजना हुँदैछ।

प्रतियोगितामा ६ सहरको प्रतिनिधित्व गर्ने टोलीहरु सहभागी हुँदैछन्। गत सिजनमा टिम चौराहा धनगढी, सीवाईसी अत्तरिया, बिराटनगर किङ्ग्स, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड र काठमाडौँ गोल्डेन्स ६ वटा टिम थिए । यसपटक पनि टिमको नाम उही हुने तर दुई टीमका मालिक भने परिवर्तन हुन सक्ने बताइएको छ ।
आज बिहान ११ बजे सुरु हुने अक्सनमा टिमका रणनीतिक खेलाडी र खेलाडीहरुको घोषणा हुने हुनेछ
गत सिजन खेलेका राष्टिय खेलाडी मध्ये पारस खड्का र शक्ति गौचन यसपटक डीपीएलमा खेल्ने छैनन् । सबै खालको क्रिकेटबाट सन्यास लिएका शक्ति गौचनले २ सिजन रुपन्देही च्यालेन्जर्सको कप्तानी गरेका थिए भने उनी टिमको रणनीतिक खेलाडी पनि रहेका थिए। शक्ति गौचनको सन्यास पछि उनको सट्टा रुपन्देहीले बसन्त रेग्मीलाई रणनीतिक खेलाडीको रुपमा घोषणा गरिसकेको छ र उनले नै टिमको कप्तानी गर्ने सम्भावना रहेको छ।

यस्तै टिमले आफ्नो प्रशिक्षकको रुपमा पूर्व राष्ट्रिय क्रिकेटर तथा यु-१६ राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक रहेका बसन्त शाही ठकुरीलाई नियुक्त गरेको छ। गत सिजन रुपन्देही प्रतियोगिताकै कमजोर टिमको रुपमा रहेको थियो र खेलेको ५ वटै खेलमा हार बेहोरेको थियो।
हाल अस्ट्रेलियामा रहेका नेपाली राष्टिय टिमका कप्तान पारस खड्काले उता जानु पहिले यसपटक डीपीएल नखेल्ने बताएका थिए । पारस पछिल्लो सिजन बिराटनगर किंग्स टिमको कप्तान तथा रणनीतिक खेलाडी रहेका थिए। पारस नखेल्ने भएपछि बिराटनगर टिमको रणनीतिक खेलाडीको रुपमा को खेलाडी रहन्छन् थाहा हुन सकेको छैन्।
राष्ट्रिय टिमका खेलाडी मध्ये चर्चित खेलाडी रणनीतिक खेलाडी रहने हुँदा शरद भेसावकर, करण केसी जस्ता खेलाडीहरु आउने सम्भावना प्रबल रहेको छ। शरद पछिल्लो सिजन डीपीएल खेलेका थिएनन् भने डीपीएल पहिलो सिजन बिराटनगर किंग्सकै रणनीतिक खेलाडी र कप्तान रहेका थिए।
टिम मालिकका हकमा पनि बिराटनगर किंग्स टिमका मालिक पारस लुनियाले यो पटक टिमको स्वामित्व लिने छैनन्। टिमको स्वामित्व प्रफुल्ल बैद्यले लिनेछन् । लुनियाले पोखरा प्रिमियर लिगमा बिराटनगर टाईटन्स टिमको स्वामित्व लिएका थिए जसको कप्तानी सन्दिप लामिछानेले गरेका थिए। यस्तै टिम चौराहा धनगढीको मालिक पनि परिवर्तन हुनेछ जसको मालिक गत वर्ष स्थानीय ब्यापारी राजकुमार श्रेष्ठ रहेका थिए। त्यस बाहेक अन्य टिमको मालिकहरुमा परिवर्तन हुने छैन ।
पछिल्लो वर्ष काठमाडौँ गोल्डेन्स टिमको रणनीतिक खेलाडी ज्ञानेन्द्र मल्ल, टिम चौराहा धनगढीको सोमपाल कामी, रुपन्देही च्यालेन्जर्सको शक्ति गौचन, सीवाईसी अत्तरियाको दिपेन्द्र सिंह ऐरी, महेन्द्रनगर युनाइटेडको बिनोद भण्डारी तथा बिराटनगर किंग्सको पारस खड्का रहेका थिए।
डीपीएल अक्सनमा नामांकन गरेका २ सय ५ जना खेलाडीहरुहरु मध्येबाट एउटा टिमले १५ जना खेलाडीहरुलाई अनुबन्धित गर्नुपर्ने नियम रहेको छ। त्यसमध्ये २ जना ट्यालेन्ट हन्टबाट तथा २ जना बिदेशी खेलाडीहरु अनिवार्य समाबेश गर्नुपर्नेछ।
अस्कनको लागि नाम दर्ता गराएका खेलाडीहरुले आफ्नो न्युनतम मूल्य आफैले तोकेका छन् जुन रु। ३० हजार रुपैयाँबाट सुरु हुनेछ। खेलाडीको लागि बोलि न्युनतम ३० हजार देखि २ लाख ५० हजार रुपैयाँसम्म लाग्नेछ।
डीपीएलको पहिलो र दोस्रो संस्करणको विजेता टिम चौराह धनगढी हो । पहिलो संस्करणमा उसले विराटनगर किंग्स र दोस्रो संस्करणमा काठमाडौं गोल्डन्सलाई पराजित गर्दै उपाधि उचालेको थियो। पहिलो संस्करणको डीपीएलको बजेट १ करोड ८२ लाख थियो र कुल पुरस्कार २८ लाख ५० रुपैयाँ थियो । यस्तै दोस्रो संस्करण तीन करोडको लागतमा प्रतियोगिता सम्पन्न भएको थियो, जसमा विजेतालाई २५ लाखसहित कुल ५० लाख पुस्कार प्रदान गरिएको थियो। रुस्लान मुख्य प्रायोजक डिपिएलको तेश्रो संस्करण धनगढीको फाप्ला मैदानमा पहिलो पटक आयोजना गरिंदैछ। आयोजकले तेस्रो संस्करणको डिपिएलको अनुमानित लागत ५ करोड रुपैयाँ रहने बताएको छ।
डीपीएलको मुख्य प्रायोजकका रुपमा विजय डिस्टिलरीको रुस्लान क्रिकेट रहने छ। यस अघिको सिजनमा समेत रुस्लान डिपिएलको मुख्य प्रायोजक रहेको थियो। प्रायोजन बापत विजय डिस्टिलरीले आयोजकलाई १ करोड १० लाख बराबरको रकम बुझाउने छ। नेपाली घरेलु क्रिकेटमा यो सर्वाधिक प्रायोजन रकम समेत रहेको छ।




















