Prakash Adhikari January 5, 2019

काठमाडौं,२१पुस(बीबीसी) ।गत मार्चमा विश्व क्रिकेट लिग छनोट खेलमा पपुवा न्युगिनीलाई हराएसँगै पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) राष्ट्रको मान्यता पाएको नेपालले त्यसपछि एकदिवसीय वरीयतामा सूचीकृत हुन संघर्ष गरिरहेको छ।

ओडिआई राष्ट्रको वरीयतामा पुग्न कम्तीमा ८ वटा एकदिवसीय खेल अनिवार्य खेल्नुपर्ने प्रावधान छ।

ओडिआई मान्यता पाएपछि नेदरल्याण्ड्ससँग उनीहरुकै देशमा खेलेको दुइवटा ओडिआई र गत अगस्टमा मलेसियामा सम्पन्न एशिया कप छनोटको दौरान युएईसँग खेलेको खेलले नेपालको ओडिआई खेल सङ्ख्या तीन मात्र पुगेको छ।

अबको युएई भ्रमणपछि नेपालको ओडिआई खेल सङ्ख्या ६ पुग्नेछ।

एकदिवसीय खेल अर्को एकदिवसीय मान्यता प्राप्त राष्ट्रसँग नै खेल्नुपर्ने प्रावधान छ।

प्राथमिकता

नेपाल र युएईबीच तीनवटा एकदिवसीय र तीनवटा २० ओभरको खेल तय भएको छ। यही जनवरी २५ देखि फेब्रुअरी ३ सम्म ती खेलहरू दुबईमा सञ्चालन हुने बताइएको छ। रङ्गशाला भने निश्चित भइसकेको छैन।

त्यसको सम्पूर्ण खर्च आइसीसीले बेहोर्ने छ।

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाका अनुसार आइसीसीसँग गरेको अनुरोध स्वीकारिएपछि भ्रमण तालिका सम्भव भएको हो।

हाम्रो लक्ष्य एकदिवसीय वरीयतामा सूचीकृत हुने हो। यसले हामीलाई लक्ष्य नजिक पुर्‍याउनेछ।
जगत टमाटा, प्रशिक्षक, राष्ट्रिय टोली

६ वटा खेलका निम्ति १७ सदस्यीय टोली बनाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीसँग अनुरोध गरिसकिएको छ।

सामान्यत: १४ सदस्यीय खेलाडी टोली हुने प्रावधान छ। तर दुई फरक खेलका लागि त्यस्तो अनुरोध गरिएको बताइएको छ।

प्रशिक्षक टमाटाले युएई भ्रमण नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा सूचीकृत हुने यात्रामा महत्त्वपूर्ण हुने बताएका छन्।

उनले भने,”हाम्रो लक्ष्य एकदिवसीय वरीयतामा सूचीकृत हुने हो। यसले त्यो लक्ष्य नजिक पुर्‍याउनेछ।”

 

नेपालमै खेल

नेपाल क्रिकेट संघ क्यान आइसीसीको प्रतिबन्धमा छ। त्यसैले ओडिआई राष्ट्रको मान्यताको सदुपयोग हुन नसक्ने चिन्तामा थुप्रै खेलाडीहरू छन्।

त्यसैले राष्ट्रिय खेलाडीहरूकै पहलमा अन्तर्राष्ट्रिय खेल आयोजनाका लागि प्रयास भइरहेको बताइएको छ।

आइसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरेले त्यसपछि आवश्यक पर्ने दुईवटा खेल यसैवर्ष भित्र नेपालमै आयोजना गर्ने पहल भइरहेको बताइन्।

त्यसनिम्ति खेल मैदान भने मुख्य चुनौतीको रूपमा रहेको उनको भनाइ छ।

भनिन्,”यसै वर्ष खेल सङ्ख्या ८ पुर्‍याउने हाम्रो योजना छ। तर त्यस निम्ति कीर्तिपुर मैदानलाई एकदिवसीय स्तरको बनाउने चुनौती छ।”

पारस
युएई र नेपालका कप्तान

नेपाल आउन आयरल्याण्ड वा नामिवियालाई निम्तो दिइएको बताइएको छ।

युएई संयोग

आइसीसी विश्वकप छनोटका लागि गतवर्ष जनवरीमा नेपाली क्रिकेट टोली युएई भ्रमणमा जाँदा खेलाडीहरू असन्तुष्ट थिए।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउन सक्ने अवसर सामुन्ने हुँदा डिभिजन २ मा सङ्घर्ष गरिरहेको टोलीले युएईमा दोस्रो दर्जाको क्लबसँग अभ्यास खेल खेल्नुपरेको थियो।

त्यो व्यवस्थापनले खेलाडीहरू रुष्ट देखिएका थिए। जबकि युएई टोली भने दक्षिण अफ्रिकामा गएर अभ्यास गरिरहेको थियो।

तर सोही भूमि नेपालको लागि ‘लक्की’ साबित हुन पुग्यो।

युएईमा अभ्यास गरिरहेकै बेला युवा खेलाडी सन्दीप लामिछाने भारतीय व्यावसायिक क्रिकेट लिग आइपीएलमा अनुबन्धित भए।

युएईबाट नामिविया पुगेको नेपाली टोलीले पनि ऐतिहासिक ओडिआई राष्ट्रको मान्यता पायो।

अहिले एकदिवसीय खेलको खाँचो परिरहेको बेला नेपालले फेरि युएईबाटै ओडिआई शृङ्खला खेल्दैछ।

गत अगस्टमा एसिया कप छनोटमा युएईसँग भएको भेटले पनि नेपालको ओडिआई खेल सङ्ख्या बढाउन मद्दत पुगेको थियो।

टिम नेपाल
भिन्नता
युएई भने एकदिवसीय वरीयतामा प्रवेश गरिसकेको छ। २९८ अङ्क पाएको युएई एकदिवसीयको १४ औँ वरीयतामा छ। यो एकदिवसीय राष्ट्रको अन्तिम सूचीको टोली पनि हो।

एकदिवसीयसँगै नेपालले २० ओभरको वरीयतामा प्रवेश पाउन पनि प्रयास गर्नेछ।

हालसम्म १७ वटा राष्ट्र टी २० वरीयतामा सूचीकृत हुँदा युएई १३ औँ स्थानमा छ।

नेपालले यसअघि सन् २०१४ मा टी २० वरीयता पाए पनि आवश्यक आठवटा खेल खेल्न नसक्दा उक्त मान्यता गुम्न पुगेको थियो।

एकदिवसीय खेलको अर्को महत्त्व खेलाडीहरूको व्यक्तिगत रेकर्ड पनि हो।

खेलाडी बसन्त रेग्मी भन्छन्, “एकदिवसीय खेलको सङ्ख्या निकै कम छ। यो दुःखद छ। तर अर्को खुशीको पाटो भनेको के हो भने एकदिवसीय खेलेर हाम्रो रेकर्ड बढ्छ। हाम्रो लागि यो महत्त्वपूर्ण छ।”

Share Now

Leave a comment.