जोहान्सवर्ग(दक्षिण अफ्रिका), ४ पौष । दक्षिण अफ्रिकाको सत्ताधारी अफ्रिकी नेशनल कंग्रेस पार्टीको नयाँ नेतामा ६५ बर्षिय सिरिल रामाफोसा निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धामा उत्रेकी एनकोसाजाना द्लामीनी जुमालाई पराजित गरेका थिए । कडा प्रतिस्पर्धामा रामाफोसाले २ हजार ४ सय ४० मत पाएका थिए भने प्रतिस्पर्धी जुमाले २ हजार २ सय ६१ मत पाएकी थिइन् ।(बीबीसीको सहयोगमा)
रातभर चलेको निर्वाचन प्रक्रियामा ४ हजार ७ सय ११ प्रतिनिधिले मतदान गरेका थिए।
एएनसी पार्टीको नेतृत्वमा हाल राष्ट्रपति जेकब जुमा रहेका छन्।
उपराष्ट्रपति सिरिल रामाफोसा र पूर्वमन्त्री एनकोसाजाना द्लामिनी जुमाबीचको प्रतिस्पर्धाले पार्टीलाई दुई धारमा पुर्याएको छ।
शासनभार
अफ्रिकी न्यासनल कंग्रेसले २३ वर्षअघि दक्षिण अफ्रिकाले प्रजातन्त्र प्राप्त गरेयता देखि नै देशको शासनभार सम्हाल्दै आएको छ।
यो निर्वाचनबाट विजयी भएर निस्कने नेता नै सन् २०१९ मा हुने आम निर्वाचनमा राष्ट्रपति बन्न सक्ने बलियो अवस्थामा हुनेछन्।
तर पार्टी नेतृत्वको संघर्षका क्रममा चरम आन्तरिक द्वन्द्व देखा परेको छ र उक्त निर्वाचनअघि नै पार्टी विभाजित हुने त होइन भन्ने आशंका समेत व्यक्त भइरहेको छ।
यो निर्वाचनको परिणामले एएनसी पार्टीको भविष्य पनि निर्धारण गर्नेछ।
दोबाटो
सन् २००९ देखि पार्टी नेतृत्वमा रहेका जेकब जुमाले नै पार्टी ठूलो संकटमा परेको र एउटा दोबाटोमा उभिएको अवस्थामा रहेको बताइसकेका छन्।
पार्टी नेताका रुपमा दिएको आफ्नो अन्तिम भाषणमा शनिबार बोल्दै उनले पार्टीभित्र देखा परेको उनकै शब्दमा सानातिना झगडाहरुको निन्दा गरेका थिए।
बीबीसीका एन्ड्रयू हार्डिङ भन्छन्, एएनसी पार्टी अवसानै हुने गरी पतनको बाटोमा लागेका त होइन भन्ने प्रश्न पनि उठेको छ।
सँगसँगै दक्षिण अफ्रिकाको स्थायित्व र त्यसको भविष्यका लागि यो चुनावको नतिजाको अर्थ के होला भन्नेमा पनि चर्चा भइरहेको छ।