Prakash Adhikari December 20, 2017

म्याड्रिड(स्पेन), ५ पौष (बीबीसी) । स्पेनको क्याटलोनिया क्षेत्रमा बिहीबार हुन लागेको क्षेत्रीय चुनावको संघारमा मतसर्वेक्षणहरुले परिणाम निकै प्रतिस्पर्धात्मक हुने देखाएका छन्।

स्वनिर्वासनमा बेल्जियम पुगेका स्वतन्त्र क्याटलोनियाका पक्षधर नेता तथा भंग गरिएको क्याटलान सरकारका प्रमुख कार्लस पुज्डमोनले भिडियो लिंकमार्फत आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका छन्।


स्पेनी एकता पक्षधर दल सिटिजन्स पार्टीकी नेतृले मत खसाल्नका लागि मतदाताहरुलाई आग्रह गरेकी छन्।

मत परिणाम 
अक्टोबरमा क्याटलोनियाको क्षेत्रीय सरकारले स्पेनबाट स्वतन्त्र हुने घोषणा गरेपछि यो विषय विश्वभर चर्चित रह्यो।

अब उक्त अर्धस्वायत्त क्षेत्रका मतदाताहरुले बिहीबार मतदानमा भाग लिंदैछन्।

उनीहरुले छुट्टै स्वतन्त्र देश बनाउन चाहने नेताहरुलाई वा स्पेनमै रहनुपर्छ भन्ने पक्षधरहरुलाई मत दिनेछन्।

मड्रिडस्थित केन्द्र सरकारले सो क्षेत्रका नेताहरुले स्वतन्त्रता घोषणा गरेपछिको स्थिति सम्हाल्ने एउटा कदमस्वरुप उक्त निर्वाचन घोषणा गरेका थिए।

निर्वाचनको परिणामले आगामी कैयौं वर्षका निम्ति क्याटलोनियाको दिशानिर्देश गर्ने ठानिन्छ।

निर्वाचनअघि प्रचारप्रसारको अन्तिम दिन दुवै पक्षका नेताहरुले मतदातालाई आकर्षित पार्ने प्रयास तीव्र पारे।

तर मतसर्वेक्षणहरुले दुवै पक्षको एकदमै बराबरी प्रतिस्पर्धा भइरहेको देखाएका छन्।

यसको अर्थ क्याटलान राजनीतिक संकट समाधान भई नहाल्न सक्छ।

अभियान
यसअघिको क्याटलान संसदमा बहुमतमा रहेका पृथकतावादीहरुले २७ अक्टोबरमा एउटा विवादास्पद जनमत संग्रहपश्चात् स्वतन्त्रताको घोषणा गरेका थिए।

उक्त कदमलाई मड्रिडले गैरकानूनी भनेको थियो।

स्पेनी प्रधानमन्त्री मारियानो राखोयले त्यसपछि क्याटलान सरकारलाई बर्खास्त गरिदिए अनि संसद भंग गरिदिए।

पृथकतावादी अभियानलाई निस्तेज पार्न उनैले नयाँ निर्वाचनको मिति तोकेका हुन्।

स्पेनी अभियोजनकर्ताहरुले १३ जना पृथकतावादी क्याटलान नेताहरुमाथि विद्रोह तथा देशद्रोहको आरोप लगाए।

त्यसकै कारण क्याटलान सरकारका तत्कालीन नेता कार्लस पुज्डमोन तथा चारजना अन्य नेता भागेर बेल्जियम पुगे।

स्थानीय रेडियोसंग बोल्दै पुज्डमोनले प्रधानमन्त्री राखोयको उपायलाई क्याटलान जनताले आफ्ना भोटमार्फत खारेज गरिदिने बताएका छन्।

यदि बिहीबारको निर्वाचनमा पृथकतावादीहरुले जितेपछि पनि ती नेताहरुविरुद्ध लगाइएको मुद्दा स्पेनले फिर्ता नलिए त्यसले प्रजातन्त्रको अपमान हुने उनले बताए।

Share Now

Leave a comment.