Prakash Adhikari December 20, 2017

कीर्तिपुर(काठमाडौं), ५ पौष । एभरेस्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा भैरहवा ग्लाडीएटर्सले काठमाण्डौ किंग्स ११ लाई ७ विकेटले पराजित गरेको छ ।

काठमाडौंले दिएको ११९ रनको सामान्य लक्ष्य भैरहवाले १६दशमलव २ ओभरमा मात्र ३ विकेट गुमाउंदै हासिल गरेको थियो । खेलमा पुनित बिष्टले नट(आउट ४२ रन बनाए। २८ बलको सामना गरेका पुनितले ६ चौका प्रहार गरे। यस्तै भैरहवाको लागि कप्तान शरद भेसवाकरले ३२ तथा आरिफ सेखले नट आउट २३ रनको योगदान गरेका थिए।

काठमाडौंका लागि सोमपाल कामी, अमरसिंह रौटेला र सुशील कँडेलले एकएक विकेट लिएका थिए।

यसअघि टस जित्दै पहिले ब्याटिंग गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउंदै १ सय १८ रन मात्र बनाएको थियो। काठमाडौंका लागि अमित श्रेष्ठले २९, सौरभ कुमारले २८ तथा राजु रिजालले २२ रन बनाउन बाहेक अन्य ब्याट्समेनले राम्रो प्रदर्शन गर्न सकेनन्। काठमाडौंले ११ रन पारितोषिकका रुपमा पाएको थियो।
भैरहवाका लागि दिपेश श्रेष्ठले ३ तथा शरद भेसवाकरले २ विकेट लिए।

जितसंगै भैरहवाले प्रतियोगितामा महत्वपूर्ण २ अंक समेत बटुलेको छ।
एभेरस्ट प्रिमियर लिगमा भोलि पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले भैरहवा ग्लाडिएटर्सको सामना गर्नेछ भने दोस्रो खेलमा चितवन टाईगर्सले काठमाडौं किंग्स ११ को सामना गर्नेछ।

अलराउन्ड प्रदर्शन गर्ने क्रममा ३० रन तथा २ विकेट हात पार्दै उत्कृष्ट कप्तानी गरेका शरद भेसवाकर म्यान अफ द म्याच घोषित भए ।

पोखरामाथि बिराटनगर हावी

बिराटनगर वारियर्स र पोखरा राइनोज बिचको रोमान्चक खेलमा पोखरा राइनोजलाई ३ विकेटले पराजित गर्दै बिराटनगर वारियर्सले लगातार दोश्रो जित दर्ता गरेको छ ।

टस हारेर पहिले ब्याटिंग गरेको पोखरा राइनोजले २० ओभरमा ६ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो । उसका ओपनर इन्स्राउल्लाह र सुनिल धमलाले राम्रो सुरुवात दिलाएपनि मध्यक्रमले राम्रो साझेदारी गर्न सकेन । इन्स्राउल्लाहले १६ बलमा १ छक्का र २ चौका सहित २१ रन बनाए भने धमलाले १ चौका र १ छक्काले १८ रन बनाए ।

बिनोद भण्डारी र आसिफ अलि क्रमश ४ र १ रनमा आउट हुदाँ राजेश पुलामीले ३५ बलमा २ चौका र १ छक्का सहित ३० रन बनाए भने कप्तान शक्ति गौचन ५ रन बनाएर आउट भए । सौरव खनाल र ताज अलिले क्रमशः १६ र १८ रन बनाउदै अविजित रहे ।

बिराटनगरका लागि राम्रो बलिंग परिवर्तनको नमुना प्रस्तुत गरेका कप्तान पारस खड्काले ३ विकेट लिन ४ ओभरमा २८ रन खर्चे । बसन्त रेग्मी र अविनाश कर्णले समान १ विकेट लिन १६र१६ रन खर्चे भने रामनरेश गिरीको नाममा १ विकेट रह्यो ।

करण केसीले गरेको पहिलो इनिंगको अन्तिम बलमा पोखराका ब्याट्सम्यानहरु रन लिने क्रममा पिचमा दौड़ेपछि अम्पाएरले पेनाल्टी स्वरूप बिराटनगरलाई ५ बोनस रन दिएका थिए ।

जवाफमा बिराटनगरले ७ विकेट गुमाउदै २ बल बाँकी छँदा लक्ष्य पूरा गर्यो । उसका लागि ओपनर अन्स्युमन राथले ६० रन बनाए भने बाबर हायातले २२ रनको योगदान दिए । अन्य ब्याट्सम्यान चल्न नसकेको खेलमा प्रनित थापाले अन्तिम ३ बलमा चौका सहित ७ रन बनाएपछि बिराटनगरले जित दर्ता गरेको हो ।

पोखराका लागि पाकिस्तानी खेलाडी इन्स्राउल्लाहले २ विकेट लिने क्रममा ४ ओभरमा १० रन मात्र खर्चेपनि जितका लागि पर्याप्त हुन सकेन ।

लगातार विकेट झरिरहेको अवस्थामा सम्हाल्लिएर अर्धसतक बनाएका हंगकंगका अन्स्युमन राथ खेलको उत्कृष्ट खेलाडी घोषित भए ।

Share Now

Leave a comment.