Prakash Adhikari December 21, 2017

काठमाडौं, ५ पौष । नेपालको गौरव संसारको सर्वोच्च शिखर सगरमाथाको उचाई नेपालले पहिलो पटक आफ्नै स्रोत साधन र विश्व मान्य प्रविधिले मापन गरिेने भएको छ ।

नापी विभागले बुधबार एक पत्रकार सम्मेलनमार्फत यसको जानकारी दिएको हो ।

विभागका महानिर्दशक गणेशप्रसाद भट्टका अनुसार छिमेकी राष्ट््र भारतको समुद्री भूमि र चीनतर्फ ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस), ग्राभिटीलाई आधार मानेर मापन सुरु गरिदैंछ ।

समुद्रको सतहबाट उचाई मापन गर्दा विश्वको सबैभन्दा अग्लो शिखरको रुपमा पहिचान पाएको १ सय ७० वर्षपछि नेपालले सगरमाथाको मापन थालेको हो।

दुई पटक उचाइ मापनमा प्रत्यक्ष संलग्न भएका इटालीका प्रोफेसर जीओरजीओ पोरेट्टी र अमेरिकाका प्रोफेसर रोजर विल्हाम सहित अमेरिका, जापान, भारत, चीन, स्विजरल्यान्ड, इटाली र न्युजिल्यान्डका विज्ञसँग मंसिर २५ र २६भा गरिएको परामर्श पछि उचाइ मापन कार्य अघि बढाइएको हो ।

मापनमा ५० किलोमिटर टाढाको भारतीय भूमिबाट समुद्री सतहको आधार लिइनेछ। ८० प्राविधिक प्रत्यक्ष खट्ने भए पनि विश्वव्यापी मान्यता दिलाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ र अनुभवी सगरमाथा आरोहीको सहभागिता जुटाइनेछ।

मापनका लागि करिब २५ करोड बजेट खर्च लाग्ने अनुमान गरिएको छ। भौगोलिक संरचना, भूकम्प र जलवायु परिवर्तनले हिउँ पग्लँदा उचाइ तल–माथि भएको हुन सक्ने अनुमान गरिएको छ।

सगरमाथाको उचाई मापन कार्य दुई बर्षमा सक्ने विभागको लक्ष्य छ ।

उचाइ मापन मात्र नभएर सगरमाथामुनि समुद्रको स्वरूप कस्तो छ भन्ने वैज्ञानिक अध्ययनसमेत गरिनेछ।उचाइ मापनका लागि सिरहाको मिर्चैया र नजिकको भारतको सीमाबाट उचाइ मापन गर्दै ल्याउने र त्यहाँबाट सोलुखुम्बुको टाक्सिन्दु, पिके, सोलुङ र छुल्यामुसम्मका १२ वटा विन्दुलाई जिपिएस सर्भे गरिनेछ।
भारतले सगरमाथालाई सुरुमा पिक १५ को नाम दिएको थियो। सन् १८४७ मा पहिचान भएपछि सर्भे अफ इन्डियाले मापन गरेपछि यसको उचाइ ८७७८ मिटर रहँदा विश्वकै अग्लो शिखरका रूपमा कायम भएर यसको नाम एभरेष्ट राखिएको थियो।

सगरमाथालाई सन् १९४९र५० मा सर्भे अफ इन्डियाले नै मापन गर्दा ८८४० मिटर निर्धारण भएको थियो। सन् १९५४ मा एसओआईका विएल गुलाटीले मापन गर्दा ८८४८ मिटर र सन् १९७५ मा तिब्बततर्फबाट चाइनिज ब्युरो अफ सर्भे एन्ड म्यापिङले मापन गर्दा ८८४८.४३ मिटर कायम भएको दाबी गरेको थियो।

सन् १९९९ मा बुस्टोन म्युजिएम अफ साइन्स युनाइटेड स्टेटका प्रोफेसर व्रड बास्र्बनले पहिलो पटक जिपिएस प्रविधिको प्रयोग गरी मापन गर्दा ८८५० मिटर रहेको तथ्य सार्वजनिक भएको थियो। तर, नेपाल सरकारले भने आईएसओले मापन गरेको ८८४८ मिटरलाई हालसम्म आधिकारिक उचाइ मान्दै आएको छ।

Share Now

Leave a comment.