काठमाडौं, ८ फागुन । नेपालको राजनीति र मामलामा यूरोपेली मुलुकहरुको पनि चासो बढ्दै गएको छ । यसै क्रममा आज बेलायती रक्षा राज्यमन्त्री मार्क लाड.कास्टर आज नेपाल आउदै हुनुहुन्छ भने भोलि अष्ट्यिाका विदेश मन्त्री आउदै हुनुहुन्छ
मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिन तथा नेपाल र संयुक्त अधिराज्यबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकेष्टर नेपालको चार दिवसीय भ्रमण हुन लागको हो।
उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त अधिराज्यका रक्षा राज्यमन्त्रीबीच भेटवार्ता हुने कार्यक्रमसमेत रहेको यहाँस्थित बेलायती राजदूतवासले जनाएको छ।
अष्ट्रियाका विदेशमन्त्री भोलि आउने
यसैबीच अष्ट्रियाका विदेशमन्त्री करिन किनाइसल १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको तीन दिवसीय भ्रमणमा बिहीबार काठमाडौँ आइपुग्ने हुनुभएको छ ।
अष्ट्रियाबाट विदेशमन्त्रीस्तरमा यो भ्रमण ३० वर्षपछि हुन लागेको हो । भ्रमणका क्रममा नेपाल र अष्ट्रियाबीच प्रतिनिधिमण्डलस्तरीय बैठक हुनेछ । दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा हुने उक्त बैठकमा द्विपक्षीय हित र चासोका सबै विषयका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वका अन्य विषयमा पनि विचारविमर्श हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग विदेशमन्त्री किनाइसलले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै उहाँ परराष्ट्र अध्ययन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा पनि सहभागी हुनुहुनेछ ।
उक्त प्रतिनिधिमण्डलमा पाँच पत्रकारसमेत छन् । नेपाल भ्रमण वर्ष सन् २०२० का सन्दर्भमा नेपालको प्रचारप्रसार गर्न अष्ट्रियाका सञ्चारकर्मीबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ ।