काठमाडौं, १० पौष । इशाई धर्माबलम्बीहरुको महान चाड क्रिशमसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण इसाई धर्मावम्बी नेपाली र विश्वभर छरिएर रहेका यस धर्मका अनुयायीहरुमा सुस्वास्थ्य,दीर्घायु, सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतीको शुभकामना दिएका छन्।
सोमबार एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक नेपालमा मनाइने हरेक पर्वले विभिन्न जातिय,भाषिक,सांस्कृतिक र धार्मिक समुदायका बीचमा सुहार्द सम्बन्ध विकसित गरी सामाजिक सद्भाव अभिबृद्धि गर्र्र्दै राष्ट्र्यि एकतालाई सबल बनाउने विश्वास व्यक्त गरेकी छन् ।
शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालीहरुबीच मनाइने यस्ता चाड पर्व, भाषा, धर्म र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने कार्यमा हामी सबै केन्द्रित हुनुपर्छ भन्ने मलाइ लागेको छ।’
राष्ट्रपति भण्डारीले संविधानको ठोस कार्यान्वयन र देशमा राजनीतिक स्थायित्वको कामना पनि गरेकी छन्। ‘भर्खरै सम्पन्न पहिलो प्रदेश तथा प्रतिनिधिसभाको ऐतिहासिक चुनावमा आमनेपाली मतदाताहरुबाट भएको अभूतपूर्व सहभागिताले संविधान कार्यान्वयनमा ठोस योगदान पुग्ने र यसबाट देशलाई राजनैतिक स्थायित्व प्राप्त हुने विश्वास मैले लिएको छु’, शुभकामना सन्देशमा भनिएको छ। उनले विसका र समृद्धिमा आ(आफ्नो स्थानबाट सक्दो योगदान पनि अपिल गरेकी छन्।
येशु ख्रिष्टसबैका प्रेरणाको स्रोत:प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिस्चियन धर्मका संस्थापक येशु ख्रिष्टको त्याग र बलिदानी सबैका लागि प्रेरणाको स्रोत हुने विश्वास व्यक्त गरेका छन् ।
क्रिसमस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली ख्रिष्टीयनमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले भनेका छन्’ येशु ख्रीष्टका उपदेश सबैका लागि उपयोगी छन्, उहाँले देखाउनुभएको त्याग र बलिदानीको उदाहरण हामी सबैका लागि प्रेरणाको स्रोतका रुपमा रहनेछ भन्ने मेरो विश्वास छ ।’
प्रधानमन्त्री देउवाले नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल भएको उल्लेख गर्दै नेपालको संविधानले सबै धर्म र संस्कृतिको सम्मान र धार्मिक सांस्कृतिक स्वतन्त्रतालाई अंगीकार गरेको पनि बताएका छन् ।
नेपालमा सबै धर्म र संस्कृतिलाई उत्तिकै महत्व र सम्मान प्रकट गरिँदै आएको उनले बताएका छन् ।