Prakash Adhikari February 21, 2019

 

सानेपा(ललितपुर), ९ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टीको केन्द्रीय कार्यालय बी.पी. नगर सानेपा ललितपुरमा १ बजेबाट प्रारम्भ हुँदै छ ।

बैठकमा नेपाल विद्यार्थी संघको गठनको विषय शीर्षमा रहेको छ ।

यस अगाडि फागुन १ गते बसेको केन्द्रीय समितिको बैठकले नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समिति पार्टी सभापति श्री शेरबहादुर देउवाद्वारा आवश्यक परामर्श गरी गठन गर्न अधिकार दिएको थियो ।

तर नेपाली कांग्रेसको विद्यार्थी मोर्चाको सशक्त संगठन माएिको सो संगठनको अध्यक्ष लगायत पदाधिकारी सभापतिले चयन गर्न सक्नुभएको छैन् ।

पार्टी प्रतिपक्षमा रहेको बेलामा सडकका कार्यक्रमहरु सञ्चालन गर्न र पार्टीलाई देशव्यापी परिचालन गर्न महत्वपूर्ण मानिएको नेपाल विद्यार्थी संघको गठन किन पनि महत्वपूर्ण मानिएको छ भने शिक्षा मन्त्री सहित सत्तारुढ दल र तिनको विद्यार्थी संगठनहरुले विश्वविद्यालय अन्तरगतका स्वतन्त्र विद्यार्थी यूनियनमा निर्वाचन गर्न प्रस्ताव गरेका छन् आफ्नो संगठन नभएकोले नेपाल विद्यार्थी संघलाई मैदानमा उत्रिन अप्ठ््यारो भैरहेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत बर्ष सम्पन्न प्रदेश सभा र संघीय संसदको प्रतिनिधिसभाको समयमा कम्युनिष्टले जितेमा देशमा अधिनायकवाद आउछ भन्नुभएको र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको संयुक्त सरकारको एक बर्षे कार्यकालमा सरकार अधिनायकवादतर्फ नै उन्मुख देखिएकोले सो कुरा आम जनताबीचमा उजागर गर्न पनि कांग्रेसलाई नेपाल विद्यार्थी संघ जस्तो जझारु संगठनमा बलियो नेतृत्व दिनुपर्ने खाँचो आईपरेको छ ।

पार्टी प्रतिपक्षमा रहेको र संख्याका आधारमा संघीय संसददेखि प्रदेशसभा र स्थानीय निकायमा कमजोर अवस्थामा रहेकोले उच्चशिक्षा अध्ययन गरिरहेका सचेत र शिक्षित वर्ग प्रतिनिधि बन्ने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन जित्नका लागि पनि कांग्रेसले नेपाल विद्यार्थीसंगलाई आँटिलो,साहसी, दूरदृष्टि राख्ने,बौद्धिक क्षमता पनि भएको र सांगठानिक कुशलता पनि भएको व्यक्तिको नेतृत्वमा नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन गर्नुपर्ने देखिएको छ ।

पार्टीको बैठकमा नेपाल विद्यार्थी संघको अलवा पार्टीको संगठनको सुदृढीकरणको विषय पनि चर्को रुपमा उठने भएको छ । वर्तमान पार्टी सभापतिले शेरबहादुर देउवाले पार्टीको नेतृत्व लिनुभएको ३ बर्ष पुग्न लागेको छ तर यी ३ बर्षमा उहाँले केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरुको मनोनयन र एक महासमितिको बैठक आयोजना गर्नु बाहेक संगठनलाई गति र दिशा दिन सक्नुभएको छैन् ।

कांग्रेस सभापतिलाई सामान्य कार्यकर्ताले पनि जिस्क्याउन थालेका छन् । सरकारलाई अधिनायकवादी भन्ने सभापतिले पार्टीमा त आफैले अधिनायकवादी प्रवृत्ति देखाउनु भएको छ । हुँदा हुँदा उहाँको अनुमति वेगर कार्यकर्ताहरु संगठनमा पनि खटिन नपाउने अवस्था आयो । संसदीय निर्वाचन हार्दा पनि कतिपनि विचलित नभइकन मेचीदेखि महाकालीसम्मका कार्यकर्ताको मनोबल उठाउन आफ्नै खर्चमा संगठनको काममा हिड्नुभएका केन्द्रीय सदस्य डा. शेखर कोइरालालाई उहाँले विरगञ्जको सार्वजनिक कार्यक्रममा अनुशासनको कारबाही गर्ने धम्की दिनुभयो । यो उहाँको संकीर्ण सोंचको परिणाम हो वा उहाँको वरिपरि झुम्मिएर कांग्रेसलाई अझ रसातलमा पुर्याउन कसैले खटाएका भक्तहरुको उक्साहटको परिणाम हो भन्न सकिने अवस्था छैन् ।

अन्यथा प्रतिपक्षी दलसहित आफ्नै कार्यकर्ताले पनि सभापति देउवामाथि खिसिट्रयूरी गर्न अवस्था आइसकेको छ । पार्टीको सभापति पनि शेरबहादर देउवा, संगठन विभागको अध्यक्ष पनि उहाँ नै, अनुशासन समितिको अध्यक्ष पनि उहाँ नै, बुद्धिजीवी विभागको पनि उहाँ नै, महिला विभागको अध्यक्ष पनि उहाँ नै,नेपाल विद्यार्थी संघको अध्यक्ष पनि उहाँ नै पार्टीका भएभरको भातृसंस्था र शुभेच्छुक संस्थाको प्रमुख पनि उहाँ नै । अनि उहाँले देशका कम्युनिष्ट पार्टीहरु मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीलाई चाहि अधिनायकवादी भन्ने हैसियत राख्नुहुन्छ ?

केन्द्रीय समितिमा पार्टीले नेपाल कम्युनिष्ट पार्टीको दुई तिहाईको सरकारले गरेका देश र जनताकोहित विरोधी क्रियाकलाप,संसद,न्यायापालिका,कर्मचारीतन्त्रमाथिको ठाडो हस्तक्षेप, दुई तिहाईको बलमा राज्यको स्रोतसाधनमाथि गरिएको संस्थागत भ्रष्टाचार, हिंसा,हत्या,बलात्कार र शान्ति सुरक्षाका विषयलाई संघीय संसद र प्रदेश सभामा सशक्त ढंगले उठाउन नसकेको विषयमा पनि छलफल हुने विश्वास गरिएको छ ।

Share Now

Leave a comment.