Prakash Adhikari February 27, 2019

सन्तोष पुर्कुटी/रासस
ताप्लेजुङ, १५ फागुन । पाथीभरा मन्दिरमा दिउँसोदेखि हिमपातसहित ठूलो बतास चलिरहेको थियो । यतिकैमा मन्दिरका पुजारीलाई मन्दिरको दर्शन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी आउने भन्ने जानकारी भयो ।

सोही अनुसार मन्दिरमा तयारी भयो । मन्दिरका पुजारी डिल्ली आचार्यले भन्नुभयो, “मन्दिर क्षेत्रको मौसम बिहानै प्रतिकुल थियो, प्रतिकुल मौसमबीच हेलिकप्टर आयो र मन्त्रीज्यू लगायतले भगवतीको पूजाआजा गर्नुभयो ।”

Pathibhara Temple and Goddessको लागि तस्बिर परिणाम

झण्डै १ बजेको समयमा हेलिकप्टर मन्दिरमा पुगेको थियो । सो बेला सामान्य मौसम खुलेको थियो । हेलिकप्टर पुगेको केही समयदेखि नै पुनहिउँसहित ठूलो हावाहुरी चल्यो । यतिकैमा पूजाआजा सकेर मन्त्री अधिकारीसहितको टोली हेलिकप्टरमा नै बस्यो । “हेलिकप्टरभित्रै केही न्यानो होला भन्दै उहाँहरु हेलिकप्टरमा चढ्नुभयो र करीब १५ मिनेट भित्रै बसेर चियासमेत पिउनुभयो,” आचार्यले भन्नुभयो ।

छिनछिनमा बादल लाग्ने र मौसम खुल्ने क्रम चलिरहेको थियो । बेलाबेला बतास चल्दै थियो । यतिकैमा पाथीभरादेखि सदरमुकामतर्फको भागमा मौसम खुलेको भन्ने जानकारी पुगेपछि हेलिकप्टर उड्ने तरखरमा पुग्यो । आचार्यले भन्नुभयो, “हेलिकप्टरमा रहेका युवराज दहालले अब उडे फरक पर्दैन, फेरि उताको मौसम ठिकै छ भने समस्या आउँदैन होला भनेपछि पाइलटले नजीकै रहेकालाई हावाले असर गर्छ, धेरै पर गएर बस्नुहोस् भनेर अनुरोध गर्नुभयो र हामी पनि केही टाढा गएर बस्यौँ, त्यसपछि हेलिकप्टर उड्यो ।”

केही समयमा नै हेलिकप्टर दुर्घटनामा प¥यो भन्ने समाचार सुन्दा आचार्यले विश्वास गर्न सक्नुभएन । हेलिकप्टर भित्रैबाट १० मिनेटअघि मुस्कुराउँदै चिया मीठो खुवाउनुभयो, तपाईंहरुलाई धन्यवाद भन्नुभएका मन्त्रीअधिकारीको निधनभन्दा आचार्यलाई सपना झैँ लागिरहेको छ ।

उड्दाउड्दै आगो लाग्यो

पाथीभराबाट हेलिकप्टर उडेको केही समयमा नै एक्कासि आगोको मुस्लोसहित झरेको प्रत्यक्षदर्शीले बताएका छन् । “एक्कासि आकासमै आगोको मुस्लोसहित हेलिकप्टर उडेर झरेको देखियो,” अलैँची व्यवसायी तेज भट्टराईले भन्नुभयो । भट्टराईले मन्दिर क्षेत्रभन्दा निकै टाढाबाट यस्तो देख्नुभएको हो ।

यता घटनापछि फेदीबाट पुगेका स्थानीयवासी भुपेन गुरुङले भने हेलिकप्टरको पुच्छरको भागबाहेक अरू सबै जल्दै गरेको अवस्थामा देख्नुभयो । “अरू भाग टुक्रा टुक्रा भएर जलिरहेको थियो, शवहरु आगोसँगै यत्रतत्र थिए, हेर्नबाहेक कुनै विकल्प थिएन,” गुरुङले भन्नुभयो ।

 

अलिअलि वर्षा र हिउँ झरिरहेको तथा बताससमेत चल्दै गरेको अवस्थामा मुस्किलले स्थानीयवासी घटनास्थलमा पुगेका थिए । पाथीभराको फेदीबाट प्रहरी र त्यहाँका स्थानीय सबैभन्दा पहिला पुगेका थिए । घटनाको जानकारीलगत्तै सदरमुकामबाट घटनास्थलमा जानुभएका प्रजिअसहितको टोलीलाई समेत भौगोलिक विकटता र प्रतिकुल मौसमका कारण पुग्न निकै कठिन भएको थियो ।

ताप्लेजुङमा यसअघि भएको हेलिकप्टर दुर्घटनामा समेत उच्चपदस्थ व्यक्तित्वहरुको ज्यान गएको थियो । २०६३ साल असोज ७ गते भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ जना संरक्षणविद्ले ज्यान गुमाएकाथिए ।

यद्यपि उहाँहरु पुगेपछि शवलाई सुकेटार विमानस्थलमा ओसार्ने कार्य भयो । नेपाली सेनाको हेलिकप्टरमार्फत डोरीबाट शवलाई उठाएर उद्धार गर्ने कार्य भएको हो । दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, यती एयरलाइन्सका प्रवन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, प्राधिकरणका निर्देशक धुव्रदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसीको ज्यान गएको थियो ।

ताप्लेजुङमा यसअघि भएको हेलिकप्टर दुर्घटनामा समेत उच्चपदस्थ व्यक्तित्वहरुको ज्यान गएको थियो । २०६३ साल असोज ७ गते भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ जना संरक्षणविद्ले ज्यान गुमाएकाथिए ।

स्थानीय समुदायलाई वनको संरक्षण तथा व्यवस्थापनको जिम्मा हस्तान्तरण गरी फर्कने क्रममा घुन्सास्थित फले पहाडमा हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा मन्त्री गोपाल राई, राईकी पत्नी मीना राई, भूगोल तथा योजनाविद् डा हर्क गुरुङ, संरक्षणविद् डा तीर्थमान मास्के, वन तथा भू–संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा दामोदारप्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल लगायतले ज्यान गुमाएका थिए ।

पाथीभरा मन्दिर पुग्ने कुरा थिएन

तेह्रथुमको आठराईस्थित चुहानडाँडामा विमानस्थल निर्माणका लागि अध्ययन तथा अवलोकनका क्रममा आउनुभएका मन्त्री अधिकारीसहितको टोली त्यहाँको कार्यक्रम सकेर काठमाडौँतिरै फर्कने भन्दै हेलिकप्टरमा चढेको थियो । “बिहान १० बजे उहाँहरु आइपुग्नुभयो, त्यसपछि कार्यक्रम सकेर उहाँहरुले खाना खानुभयो, खाना खाँदै गर्दा पाथीभरामा जाने कि भनेर एकापसमा कुरा गर्नुभयो, कसैले मौसम ठीक छैन नजाऊँ भन्दै हुनुहुन्थ्यो, कसैले पर्खेर भए पनि जाने भनेर कुरा गर्नुभयो, यतिकैमा उड्नेबेला हामीले सोध्यौँ के गर्ने तपाईहरु पाथीभरा जाने कि काठमाडा‌ै फर्किने भनेर सोध्दा वीरेन्द्र श्रेष्ठले, “हैन अब काठमाडाै नै फर्किन्छौँ भनेर जवाफ दिनुभयो,” इलाका प्रहरी कार्यालय आठराईका प्रहरी निरीक्षक राकेश पोडारले भन्नुभयो ।

काठमाडाै जाने भनेर उडेको हेलिकप्टर निकै माथि पुगेपछि ताप्लेजुङतर्फ उडेको देखिएको उहाँले बताउनुभयो । पोडारका अनुसार करीब ११ः३० बजे चुहानडाँडाबाट हेलिकप्टर उडेको थियो । यसरी यहाँबाट उडेको समय र पाथीभरा मन्दिरमा पुगेको समयलाई हेर्दा छोटो दूरीमा नै झण्डै डेढ घण्टाको समय लागेको देखिन्छ । यो बीचमा कहाँ के भयो भन्ने कुनै अत्तोपत्तो नभएको बताइएको छ ।

Share Now

Leave a comment.