कीर्तिपुर(काठमाडौं), १२ पौष । भैरहवा ग्लाडीएटर्सलाई ८ विकेटले पराजित गर्दै बिराटनगर वारियर्सले टि।भि।एस। एभरेस्ट प्रिमियर लिगको फाईनलमा स्थान सुरक्षित गरेको छ।
कीर्तिपुर खेल मैदानमा सम्पन्न आजको पहिलो क्वालिफायर खेलमा बिराटनगरले भैरहवालाई सहज रुपमा पराजित गर्यो।
भैरहवाले दिएको १२८ रनको लक्ष्यलाई बिराटनगर वारियर्सले १७ ओभरमा २ विकेट गुमाउंदै हासिल गर्यो।
बिराटनगर वारियर्सलाई जितको रेखा सम्म पुर्याउन बाबर हयातले बिष्फोटक ब्याटिंग गरे।
भैरहवाका बलरलाई मैदानको सबै कुनामा प्रहार गरेका हयातले मात्र ४४ बलमा ६२ रन जोडे। खेलको म्यान अफ द म्याच समेत बनेका हयातले पुनित मिश्रको बलमा बोल्ड हुनअघि ४ चौका र ५ छक्का प्रहार गरे। प्रतियोगितामै उत्कृस्ट लयमा रहेका हयातले अन्शुमान राथसंग दोस्रो विकेटको लागि ७४ रनको साझेदारी गर्दै बिराटनगरलाई सहज जित सम्म पुर्याए ।
एकछेउ बाट कसिलो ब्याटिंग गरेका अन्शुमन राथले नट आउट २६ रन जोडे। ३२ बल खेलेका राथले २ चौका प्रहार गरे। यस्तै पारस खड्काले पनि बिराटनगरको जितमा नट आउट ४२ रनको योगदान गरे। मात्र २४ बल खेलेका खड्काले २ चौका र ४ छक्का प्रहार गरे।
फिक्का देखिएको भैरहवाको बलिंगमा पुनित मिश्र र हरिशंकर साहले समान १(१ विकेट लिए। ४ ओभरमा २३ खर्चेका हरिशंकर साहले आशिफ शेखको विकेट लिंदै बिराटनगरलाई सुरुवाती झड्का दिएपनि अन्य बलरले राम्रो साथ दिन सकेनन्।
यसअघि टस जित्दै बिराटनगर वारियर्सका कप्तान पारस खड्काले पहिले बलिंग गर्ने निर्णय लिएपछि ब्याटिंगमा उत्रिएको भैरहवाले निर्धारित २० ओभरमा १२८ रन बनाएको थियो । भैरहवाका लागि आरिफ शेख र पुनीत मिश्र बाहेक अन्य ब्याट्समेन चल्न सकेनन् । शरद भेष्वाकरको टीम विराटनगरका सामु फिका देखियो ।
टोलीको स्कोर ३ रन हुँदा पहिलो विकेट संगै भूपेन्द्र थापा गुमाएको भैरहवाले थप १५ रन जोड्दा दोस्रो विकेटका साथमा बिदेशी खेलाडी राहुल यादवलाई गुमाएको थियो। टिमको स्कोर १८ रन हुँदा नै कप्तान शरद भेष्वाकरपनि पभेलीयन फर्किएपछि भैरहवा थप संकटमा परेको थियो। युवा खेलाडी रोहित पौडेलले पनि खेलमा प्रभाव जमाउन सकेनन्। मात्र ९ बल खेल्दै ६ रन जोडेर उनी आउट भए।
रोहित पौडेलको विकेट पछि ब्याटिंग गर्न आएका आरिफ शेखले पुनित मिश्रसंग ८२ रनको साझेदारी गर्दै भैरहवाको इनिंगलाई उकास्ने प्रयास गरे। ३५ बल खेलेका शेखले १ चौका र ३ छक्का प्रहार गर्दै ४६ रन जोडे। सुरुवातमा सम्हालिएर ब्याटिंग गरेका उनले इनिंगको अन्त्यमा तर्फ ठुला सट खेल्नबाट पछि हटेनन्।
यस्तै भैरहवाको इनिंगमा शिर्ष योगदान गर्ने क्रममा पुनित मिश्रले ४९ रन जोडे। आरिफसंग उत्कृस्ट साझेदारी गरेका मिश्रले ३४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। भैरहवाका लागि यी दुई ब्याट्समेन बाहेक अन्य ब्याट्समेनले दोहोरो अंकमा रन जोड्न सकेनन्।
कसिलो बलिंग गर्ने क्रममा बिराटनगरका कारण केसी र साहन अदिशाले समान २(२ विकेट लिए। ४ ओभर बलिंग गरेका कारणले ३६ रन खर्चंदा अदिशाले भने २९ रन मात्र खर्चिए। बसन्त रेग्मीले मात्र १८ रन खर्चेर १ विकेट लिंदा पारस खड्का र अभिनास कर्णले भने क्रमश १५ रन र २८ रन खर्चेर समान १(१ विकेट लिएका थिए।
यो संगै बिराटनगर वारियर्सले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम नै राखेको छ। बिराटनगरले अब शनिवार हुने फाईनल खेलमा दोस्रो क्वालीफायर खेलको बिजेता र भैरहवा ग्लाडीएटर्स बिचको खेलको बिजेतासंग खेल्ने छ।