Prakash Adhikari March 11, 2019

 

काठमाडौं, २७ फागुन । सरकार र सी.के. राउत सहमतिले सत्तारुढ दलमा मात्र हैन, प्रमुख प्रतिपक्षी दलमा पनि नयाँ भाँडभैलो उत्पन्न भएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले मुक्तकण्ठले स्वागत गरेको सो सहमतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले झिनो असहमतिको स्वर उठाउदै आउनुभएको छ । युवा नेता गगन थापा लगायतले यसमा अन्तरनिहित शब्दाबली र तिनको आशयलाई लिएर चर्कै विरोध गरिरहेको सरकार र सी के सहमतिमा अहिले कांग्रेसको संसदीय दलका पदाधिकारीहरु पनि थपिएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा आफैले मनोनित गर्नुभएका प्रतिनिधिसभामा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, सचेतक पुष्पा भूसाल, राष्ट्र्यि सभामा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डे र प्रमुख सचेतक सरिता प्रसाईले सी के राउतको स्वतन्त्र मधेश गठबन्धनसंग गरिएको सहमतिलाई राष्ट्रिय एकता तथा भौगोलिक अखण्डता माथि आँच आउन प्रश्रय दिने सहमति भन्दै घोर विरोध गरेका छन् ।

नेपाली कांग्रेसका संसदीय दलका चार पदाधिकारीहरुद्धारा जारी गरिएको वक्तव्यमा हालेै नेपाल सरकार र सि.के राउत बीच भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधि प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै सहमतिमा दुवै पक्षले गरेको अलग–अलग व्याख्याले अन्यौल श्रृजना भएको उल्लेख गरिएको छ ।

नेपाली कांग्रेसको संसदीय दलका पदाधिकारीले जारी गरेको वक्तव्यमा भनिएको छ , नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई कमजोर पार्ने गरी कसैले पनि कुनै सम्झौता, सहमति गर्ने छुट पाउन सक्दैनन् ।

सहमतिमा प्रयोग गरिएको जनअभिमतको आशय सि.के. राउत पक्षले स्वतन्त्र मधेस राष्ट्रको लागि जनमत संग्रह हो भन्नु र सहमति पश्चात राउतको जनकपुर भ्रमणमा प्रदर्शन गरिएका व्यानर, प्लेकार्ड तथा लगाइएका नाराले नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई गम्भीर प्रतिकूल प्रभाव पार्ने अवस्था श्रृजना भएको विज्ञप्तिमा उल्लेख गरिको छ ।

कांग्रेस संसदीय दलका पदाधिकारीहरुले भनेका छन्, सहमतिका प्रति दुवै पक्ष इमान्दार रहँदै समान धारणाका साथ कार्यान्वयनमा गम्भीर हुनुपर्नेमा त्यस्तो नदेखिएकोले आशंका उत्पन्न भएको छ ।

उनीहरुले भनेका छन् , राष्ट्रिय एकता तथा भौगोलिक अखण्डता माथि आँच आउन प्रश्रय दिने सहमति तथा कृयाकलाप प्रति हामी घोर आपत्ति प्रकट गर्दछौं ।

Share Now

Leave a comment.