विराटनगर(मोरड.),२९ फागुन । साफ महिला च्याम्पियनसिपको साविक विजेता भारतले विराटनगरमा भैरहेको साफ महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा माल्दिभ्सविरुद्ध शानदार जित हात पारेको छ ।
बिराटनगरस्थित शहिद रंगशालामा बुधबार भएको समूह बी तर्फको पहिलो खेलमा भारतले माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको हो ।
भारतकी ग्रेसी दाङमीले खेल शुरु भएको आठौं मिनटमै पहिलो गोल गरिन् । लगतै १३ औं मिनटमा स्विटी देवीले त्यो अग्रता दोब्बर पारिन । त्यस्तै २३ औं मिनटमा इन्दुमतीले भारतका लागि तेस्रो गोल गरिन भने २७ औं मिनटमा सन्जुले भारतका लागि चौथो गोल गरिन ।
पहिलो हाफ मै चार गोल गरेको भारतका लागि रतन बाला देवीले इन्जुरी समयको ४९ औं मिनटमा पाँचौं गोल गरिन । त्यस्तै खेलको अन्तिमतिर ८९ औं मिनेटमा सन्जुले नै व्यक्तिगत दोस्रो र भारतका लागि छैठौं गोल गरिन ।
यो शानदार जितसँगै भारत सेमिफाइनल नकिज समेत पुगेको छ । भारतले आफ्नो दोस्रो तथा अन्तिम खेल श्रीलंकासँग खेल्नेछ ।
प्रतियोगितामा सहभागी सार्क राष्ट्रका ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।


















